नरैनापुर गाउँपालिकामा स्कूल बस सञ्चालन

  • 319
    Shares
0

बाँके, १० माघ । बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कूल बस सञ्चालनमा ल्याएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कूल बस सञ्चालनमा ल्याइएको हो।

बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले शुक्रबार वडा नम्बर १ कट्कुइँयामा स्कूल बसको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले स्कूल बस सञ्चालनपछि सहज स्थितिको सुरुवात हुने बताए। उनले अभिभावकहरु अब आफ्ना बालबालिकालाई स्कूल पठाउने झन्झटबाट केहि मुक्त भएको बताए।

सांसद् अथकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे। नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गरिने बताए। 

उनले प्राविधिक धारको पढाई सुरु गर्ने प्रयास भइरहेको पनि जानकारी दिए। गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षा समग्र विकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताए।

विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कूल बस सञ्चालन गरेको उनले बताए। शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारको लागि आफूलाई साथ दिन आग्रह गरे। गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए।

Comments
Loading...
You might also like