किन कहिल्यै बुढो हुँदैन कम्युनिष्ट घोषणापत्र ?

  • 1.5K
    Shares
0
  • सुरेन्द्रराज गोसाईं

आधुनिक पूँजीवादी स्वामित्वको अनिवार्य र आसन्न विनाशको घोषणा गर्नु नै कम्युनिष्ट घोषणापत्रको उद्देश्य थियो। यी शब्द सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट घोषणापत्रको दोस्रो रुसी संस्करणको भूमिका (सन् १८८२ जनवरी २१) मा लेख्नुभएको हो।

पहिलोपटक सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र विश्वमा सर्वाधिक अध्ययन तथा बहस गरिने अन्तर्राष्ट्रिय महत्त्वको दस्तावेज भएकोमा दुईमत नहोला। विश्वमा हलचल ल्याइदिएका साहित्यमध्ये यो अग्रपङ्क्तिमा आउँछ। विश्व आर्थिक, सामाजिक तथा राजनीतिक समस्या या सङ्कटमा पर्दा सर्वाधिक अध्ययन गरिने साहित्यमा कम्युनिष्ट घोषणापत्र र कार्ल मार्क्सकृत पूँजी पर्ने गरेको विभिन्न सर्वेक्षणले देखाएको पाइन्छ। मार्क्स र कम्युनिष्टहरूलाई जतिसुकै गाली गरिए तापनि संसारभर मार्क्स र समाजवाद तथा साम्यवादको पक्षमा जनता आन्दोलनरत रहेको कसैबाट छिपेको छैन। साथै यो आन्दोलन थप उर्जा हासिल गर्दै विभिन्न रुपमा फैलिरहेको यथार्थ हो।

सन् १८८८ को ३० जनवरीमा प्रकाशित कम्युनिष्ट घोषणापत्रको अङ्ग्रेजी संस्करणमा एङ्गेल्सले लेख्नुभएको छ – ‘मानवजातिको सम्पूर्ण इतिहास नै शोषक र शोषित, शासक र उत्पीडित वर्गहरूबीचको वर्गसङ्घर्षको इतिहास हो। आज यो वर्गसङ्घर्ष आफ्नो विकासको यस्तो स्तरमा पुगेको छ जहाँ शोषित र उत्पीडित वर्ग अर्थात् सर्वहारा वर्गले सारा समाजलाई नै सधैका लागि सबै प्रकारका शोषण र उत्पीडन, वर्गविभेद र वर्गसङ्घर्षबाट मुक्ति नदिलाइकन स्वयं आफू पनि शोषक एवं शासक वर्ग अर्थात पूँजीपति वर्गको पञ्जाबाट मुक्त हुन सक्दैन।’

एङ्गेल्स अगाडि भन्नुहुन्छ – ‘मेरो विचारमा इतिहासको निम्ति यो सिद्धान्त त्यतिकै महत्वपूर्ण हुनेछ, जति जीवशास्त्रमा डार्विनको सिद्धान्त छ।’

‘कम्युनिष्ट घोषणापत्र कार्ल मार्क्स र एङ्गेल्सको संयुक्त कृति भए तापनि त्यसको आधारभूत र केन्द्रीय सिद्धान्तको रचना कार्ल मार्क्सले गर्नुभएको तथ्य यही संस्करणमा एङ्गेल्सले प्रष्ट्याउनुभएको छ। कार्ल मार्क्स जीवित हुँदै र त्यसपछि प्रकाशित यस घोषणापत्रका विभिन्न संस्करणमा लेखिएका भूमिका खण्डले कम्युनिष्ट घोषणापत्रलाई थप प्रष्ट एवं ओझिलो बनाएको छ।

सन् १८९० को १ मईमा प्रकाशित कम्युनिष्ट घोषणापत्रको भूमिकामा एङ्गेल्स नयाँ उत्साहका साथ लेख्नुहुन्छ – ‘आज जुन वेला म यी पङ्तिहरू लेखिरहेको छु, युरोप र अमेरिकाका सर्वहारा वर्ग पहिलोपल्ट एकबद्ध भई एउटै झण्डामुनि, एउटै तात्कालिक उद्देश्यका निम्ति, एउटा संयुक्त सेना जस्तै मैदानमा उत्रिएको छ र आफ्नो शक्तिको लेखाजोखा गर्दैछ। आठ घण्टाको कार्य–दिनलाई कानुनी मान्यता दिइयोस् भन्ने उसको माग छ। इन्टरनेशनलको जेनेभा काङ्ग्रेसद्वारा सन् १८६६ मा र पेरिसको मजदुर काङ्ग्रेसद्वारा सन् १८८९ मा नै यसको घोषणा गरिएको थियो। अनि आजको प्रदर्शनले सारा देशका पूँजीपतिहरू र भूमिपतिहरूको आँखा खोलिदिनेछ र सारा देशका सर्वहाराहरू आज साँच्चै नै एकजुट छन् भन्ने उनीहरूले देख्नेछन्।’

आफ्नो अधुरो सपना र उत्कट अभिलाषा एंगेल्स यसरी व्यक्त गर्नुहुन्छ –‘आज मार्क्स पनि मेरो साथमा आफ्नै आँखाले यो दृश्य हेर्न जीवित हुँदा हुन् त।

कम्युनिष्ट घोषणापत्रको प्रकाशन सँगसँगै सिङ्गो युरोपमा खैलाबैला मच्चियो। साम्यवादको भूतले युरोप आक्रान्त बन्यो र त्यसलाई धपाउन सारा प्रतिक्रियावादी तथा पूँजीपति वर्ग लागि परे र एक ढिक्का भए। हरेक प्रगतिशील दल तथा विरोधी दल सत्ताधारीहरूबाट कम्युनिष्ट भनी घृणा गरिए तथा हमलाको शिकार बने। यसै ऐतिहासिक तथ्यबाट कम्युनिष्ट घोषणापत्रको प्रभाव एवं तागतबारे अनुमान लगाउन सकिन्छ।

महान् गुरु एंगेल्सले साम्यवादका सिद्धान्तबारे ब्यक्त गर्नुभएका केही भनाइबारे यहाँ चर्चा गर्ने प्रयत्न गरिन्छ। प्रश्नोत्तरको शैलीमा एङ्गेल्सले आफ्ना ओजश्वी विचार व्यक्त गर्नुभएको छ। आफ्ना अभिव्यक्तिहरू प्रभावकारी ढङ्गमा सम्प्रेषण गर्न एंगेल्सले प्रश्नोत्तर शैली अपनाउनुभएको देखिन्छ।

सर्वहारा वर्गबारे स्पष्ट चित्रण गर्दै एङ्गेल्स भन्नुहुन्छ – ‘सर्वहारा वर्ग भनेको यस्तो सामाजिक वर्ग हो, जो कुनै प्रकारको पूँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन। आफ्नो श्रम बेचेरमात्र उसले जीवन यापनका साधनहरू प्राप्त गर्दछ।’

सर्वहारा वर्गको अस्तित्व श्रमको मागमा निर्भर रहने विचार एंगेल्सले व्यक्त गर्नुभएको छ। सर्वहारा वर्ग इतिहासमा सदैव अस्तित्वमा नरहेको, त्यसको प्रादुर्भाव औद्योगिक क्रान्तिको परिणामस्वरुप भएको र त्यस्तो क्रान्ति सुरुमा बेलायतमा र त्यसपछि विश्वका विभिन्न सभ्य देशमा भएको एंगेल्स बताउनुहुन्छ।

औद्योगिक क्रान्ति र त्यसका तत्कालीन परिणामबारे एंगेल्सका विचार यहाँनिर उद्धृत गर्नु सान्दर्भिक देखिन्छ – ‘औद्योगिक क्रान्तिले जताततै सर्वहारावर्गको विकासमा त्यत्तिकै योगदान पुर्याएको थियो। पूँजीपति वर्ग जति सम्पन्न हुँदै जान्छ, त्यसैको अनुपातमा सर्वहाराहरूको सङ्ख्या पनि बढ्दै जान्छ। सर्वहाराहरूलाई केवल पूँजीले मात्र काम दिलाउन सक्दछ र पूँजीको वृद्धि पनि केवल त्यसबेलामात्र हुन्छ जब त्यसले श्रमलाई उपयोगमा ल्याउँछ। त्यसैले गर्दा ठीक पूँजीको वृद्धिकै अनुरुप नै सर्वहारा वर्गको पनि वृद्धि हुन्छ।’ यसरी एंगेल्सले सर्वहारावर्गको अपराजेय शक्ति र पूँजीपति वर्गको अवश्यम्भावी पराजयबारे ठोस विश्लेषण गर्नुभएको छ।

त्यसैगरी एङ्गेल्सले औद्योगिक क्रान्तिको परिणामस्वरुप पूँजीपतिहरू र सर्वहाराहरू उद्योगको विकास गर्न प्रचुर सम्भावनाले युक्त सहरहरूमा केन्द्रिकृत हुने र त्यसो हँुदा सर्वहाराहरूको एकै ठाउँमा जमघटले तिनीहरूमा आफ्नो शक्तिको बोध हुने बताउनुभएको छ। शारीरिक श्रमको ठाउँ मेसिनले लिंदा सर्वहाराहरूको अवस्था झनझन् खराब हुँदै जाने हुनाले तिनीहरूमा असन्तोष बढ्ने र त्यही स्थितिमा शक्ति पनि बढिसक्ने हुनाले औद्योगिक क्रान्ति पूरा गर्ने अभिभारा सर्वहारा वर्गले बहन गर्ने विचार एंगेल्सले अघि सार्नुभएको छ।

मेसिनको प्रयोगकै कारण प्रचूर मात्रामा वस्तुहरूको उत्पादन हुने र नयाँ–नयाँ सङ्कट देखापर्ने घटना बारम्बार दोहोरिरहेको वास्तविकता उजागर गर्दै एङ्गेल्सले त्यसबाट क्रान्तिको लहर चल्ने प्रक्रिया थालनी हुनुका साथै मजदुरहरूबीच ठूलो आपत–विपत आउने तर्क अघि सार्नुभएको छ। व्यक्तिगत स्वामित्व सदासर्वदा अस्तित्वमा रहिनआएको उल्लेख गर्दै एंगेल्स कम्युनिष्टहरूले व्यक्तिगत स्वामित्वको उन्मुलनलाई नै आफ्नो मुख्य मागको रुपमा प्रस्तुत गर्नुपर्ने विचार राख्नुहुन्छ। उहाँले व्यक्तिगत सम्पत्ति तुरुन्तै निर्मूल पार्न नसकिने बताउनुहुँदै वर्तमान समाजलाई सर्वहारा वर्गको क्रान्तिले विस्तारै विस्तारै मात्र परिवर्तन गर्नसक्ने र व्यक्तिगत स्वामित्व निर्मूल पार्न त्यसको निम्ति चाहिने तमाम उत्पादनका साधनहरूको निर्माण गरिसक्नुपर्ने विचार राख्नुभएको पाइन्छ।

यस हिसाबले निजीकरण र सामुहिकीकरण दुई विपरित विचारधारा भएको र निजीकरणका पक्षधर पूँजीवादी र सामूहिकीकरणका पक्षपातीहरू समाजवादी हुने स्पष्ट बुझ्न सकिन्छ।

यसरी नेपाली युवा–विद्यार्थीहरूबीच मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन तथा माओत्सेतुङजस्ता सर्वहारावर्गका महान् गुरुहरूको योगदान र कृतित्वबारे छलफल चलाउनु र कम्युनिष्ट घोषणापत्र जस्तो युगान्तकारी दस्तावेजबारे विचार–विमर्श गर्ने कार्य निरन्तर अगाडि बढाउँदै क्रान्तिको विकासमा टेवा पुर्याउनु आजको आवश्यकता हो। कम्युनिष्टको नाउँमा अनगिन्ती भ्रम फैलाइरहेको र कम्युनिष्ट नामधारीबाट कम्युनिष्टकै बद्नाम हुने खालका गतिविधि भइरहेको आजको परिस्थितिमा कम्युनिष्ट घोषणापत्रको यथार्थ सन्देश जनता र विशेष गरी युवा पुस्तामाझ पुर्याउन गरिने हरेक प्रयास सराहनीय छन्।

Comments
Loading...
You might also like