‘नागरिक मूर्ख भए सरकारको केही लाग्दैन’

  • 1.1K
    Shares
0

एकनारायण पाैडेल

चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी झन्डै विश्वका १८८ देशमा फैलिसकेको छ। हालसम्म ३,५३,३२० मा यो संक्रमण देखिएको छ भने १५,४०८ को मृत्यु भएको छ। त्यस्तैगरि १,००,६०५ जना निको भएका छन्। २,२६,००९ जना हाल मध्यम अवस्थामा छन्, ११२९८ जटिल अवस्थामा उपचाररत छन्।

यो संक्रमणले महामारीको रुप लिँदै विश्वका अति विकसित राष्ट्रहरुको समेत निदहराम गरिसकेको छ। अमेरिका, बेलायत, स्पेन, इटाली, अस्ट्रेलिया, जापान जस्ता विकसित देशहरु समेतको टाउको दुखाई भएको अवस्थामा हाम्रोजस्तो विकासशील देश नेपालमा समेत यसको संक्रमण देखिन थालेको छ। चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय नेपाली विद्यार्थीमा संक्रमण देखिएको पुष्टि भइसकेको छ।

यो पुष्टिसँगै सरकारले पनि नागरिक चहलपहल कम गर्न र जोखिम न्यूनीकरणका लागि केही कदमहरु लिएको छ। तर, महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनका लागि राखिएका साढे पाँच सयमध्ये आधाजति जवर्जस्ती पर्खाल नाघेर बहादुरी देखाएका छन्। यस्ता भेडा, मूर्ख र अनुशासनहिन जनता भएको देशमा कुन मानवीय हिसाबले नाकामा अझै सदासयता देखाउने ? यस्ता मान्छे चाहे आफ्नै दाजुभाइ किन नहुन्, चाहे ज्याला मजदुरी गर्ने किन नहुन्, चाहे आधा अर्थतन्त्र यिनैको रेमिटान्सले धानेको किन नहोस्, भारतीय नाकामा कफ्र्यु र सेना लगाएर भए पनि पूर्णतः बन्द गरिनुपर्छ।

१५–२० दिन अगाडि इटालीको अवस्था पनि झन्डै आजको नेपालको जस्तै थियो। सरकारले शुरूमा अली सामान्य ढङ्गले लिए पनि पछि आफ्ना नागरिकलाई अनावश्यक बाहिर ननिस्कन भनेको थियो। अनावश्यक सपिङ्ग मल, रेस्टुरेन्ट र भीडभाड नगर्न भनेको थियो। तर झन्डै हामी जस्तै उदण्ड, अनुशासनहिन र घमण्डी जनताले हेलचक्राई गरे। आ इटालीमा भयावह छ।

संक्रमण एकबाट दुई र दुईबाट तीनमा हुने हो। यदि लापर्वाही र हेलचक्राई गर्दै जाने हो भने एक जनामा देखिएको संक्रमण अन्यमा फैलन धेरै समय लाग्दैन। त्यसै पनि साधन, स्रोत, प्रविधि र जनशक्तिको हिसाबले हामी अत्यन्त पछाडि छौं भने भौगोलिक, सडक र सूचना पहुँचको हकमा अझै पनि कमजोर छौं। तसर्थ सरकारलाई मात्रै धारेहात र आलोचना गरेर हामी आफू चाहिँ गम्भीर नहुने, लापर्वाही, हेलचक्राई र मजाक गरिरहने हो भने पक्कै पनि हामीलाई पशुपतिनाथ, बुद्ध र सगरमाथाले बचाउन सक्ने छैन।

सरकारले हवाई उडान, सवारी साधन, मेला, महोत्सव, विभिन्न खेलकुद, जिम खाना, चलचित्र हल, उत्तरी र दक्षिणी नाकाहरु बन्द गरेर सकारात्मक थालनी गरेको छ। तसर्थ अब हामी आम नागरिक सचेत, गम्भीर र सावधानी हुन सकेनौं वा चाहेनौं भने निकट भविष्यमा स्थिति काबुबाहिर नजाला भन्न सकिन्न। तसर्थ नियमित साबुनपानीले हात सफा गरौं। सम्भव भएसम्म मास्क र पञ्जाको प्रयोग गरौं। भिटामीन सीयुक्त खानेकुराहरु सेवन गरौं।

भरतपुर–१३, चितवन (हाल साउदी)

Comments
Loading...
You might also like