कोभिड १९ का विरूद्ध आ-आफ्नै स्थानबाट लागौं 

  • 333
    Shares
0
  • प्रेमराज रिमाल

कोरोनो भाइरसको महामारीबाट संसार आतङ्कित छ। यो समस्या चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरू भएर आजसम्म आइपुग्दा संसारका १ सय ९६ जति देशमा यो भाइरसको सङ्क्रमण देखिएको छ। आर्थिक दृष्टिले वा सामरिक दृष्टिले जतिसुकै शक्तिशाली हुँदा पनि कोरोनाको आक्रमणको सामना ती मुलुकहरूले समेत सजिलै गर्न सकेका छैनन्।

त्यसैले हाम्रो जस्तो मुलुकमा यो महामारीको प्रवेश अरू मुलुकमा जसरी भयो भने हामीले स्तरीय अनि पर्याप्त उपचार सेवा दिन सक्ने संभावना पनि कम नै छ। यो हाम्रो वाध्यतालाई बुझेर सङ्क्रमणबाट बच्नका लागि आवश्यक विश्वस्वास्थ्य संघले तय गरेको मापदण्डअनुसारको परहेज वा सावधानी अपनाउनु नै सर्वा्धिक सजिलो र उपयुक्त विधि हो। त्यसैले नेपाल सरकारले आजबाट लागू हुनेगरी राष्ट्रव्यापि लकडाउनको घोषणा गरेको हो। यो संघीय सरकारको घोषणा र प्रान्तीय तथा स्थानीय सरकारका तर्फबाट ल्याइएका र आउन सक्ने जनसुरक्षासँग सम्बन्धित सबै खालका कार्यक्रमलाई पालना गरी सहयोग गर्न एक सचेत नागरिक र बुद्धिजीवी संङ्गठनमा लामो समयदेखि सम्बन्धित एक जना अगुवा हुनाको नाताले यो देशका सबै बुद्धिजीवीसाथीहरूसँग हार्दिक अपिल गर्दछु।

अहिले चिकित्सकहरू, नर्सहरू,स्वास्थ्य प्राविधिक र अस्पतालमा कार्यरत प्रशासनका कर्मचारी, सफाइ मजदुर र सुरक्षाकर्मीको भूमिका विशेष छ। प्रथमतः कोरोना सङ्क्रमणसँग सम्बन्धित स्वास्थ्य चौकी, अस्पताल र अस्थायी किसिमका हेल्थ डेस्कमा काम गर्ने सबै कर्मचारी, विरामी र स्वयम्सेवकहरूको सुरक्षामा सरकारले विशेष ध्यान दिन आवश्यक छ। सङ्कास्पद विरामीका लागि प्रयोग हुने एम्बुलेन्सको सुरक्षित सफाइ र एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षाका विषयमा पनि संवेदनशील बन्न जरूरी छ। स्थानीय र प्रान्तीय सरकारले पनि कोरोना महामारीबाट जनता बचाउ अभियानका लागि मात्र भनेर ५ देखि ७ सदस्य रहेको अधिकार सम्पन्न विशेष समिति बनाउनु राम्रो होला।

यसरी बनेको समितिले फाष्ट ट्रयाकबाट सेवा र वस्तुको प्रबन्ध मिलाउन पर्ने देखिन्छ। देश, विश्व र सिङ्गो मानवजाति नै सङ्कटमा परेको समयमा राष्ट्रलाई सम्पूर्ण रूपले एक ढिक्का बनाएर महामारीको प्रतिकारमा लाग्नु हामी सबैको दायित्व हो। त्यसमाथि पनि देशलाई समस्या परेको बेलामा बुद्धिजीवीहरूको स्वयम्सेवी भूमिका अपरिहार्य हुन्छ। त्यसैले जो जो हामी जहाँ छौं आफै भएको ठाउँबाट सरकार र विश्व स्वास्थ्य संगठनले आग्रह गरेअनुसार महामारीबाट आफू बाच्ने र अरूलाई पनि बचाउने महा अभियानमा जुट्न सबै बुद्धिजीवी,  व्यापारी, उद्योगी, किसान, मजदुर, राजनैतिक दल र तिनका भातृसंगठनहरूसँग हार्दिक अपिल गर्दछु।

Comments
Loading...
You might also like