त्रासदीपूर्ण ती दिनहरूको सम्झनामा !

Pratha-2
काँचको बयाम फुटेझैँ फुट्यो, छिनभरमै ! र दलिनमा बसेर एकाविहानै चिरविर–चिरविर चिरविराउने गौँथलीका गीतहरू मेटिएझैँ थाहै नपाई मेटिए इतिहासका जुनकिरी अक्षरहरू समयको अन्तिम अनुच्छेदका हरफहरूबाट !
  • 36
    Shares
  • प्रथा

जिउँदा तस्विरहरू
***********
चाँपका फूलहरू टिपेर
विश्वासको घागोले,
जिन्दगीको मसिनो माला गाँस्न नभ्याउँदै
पैतालामुनिको धर्तीसँगै
थरथरि काँपिरहेको सिङ्गो युग
आज फेरि गर्ल्याम्म ढल्यो – चिसो जमिनमा !
र एउटा अँध्यारो सुरुङभित्र
अकस्मात्
चुर्लुम्म डुब्यो – भरोसाको घाम !
……………….

घर्तीनी आमैका आँखाजस्तै
एउटा धमिलो संसार
हेर्दा–हेर्दै,
काँचको बयाम फुटेझैँ फुट्यो, छिनभरमै !
र दलिनमा बसेर
एकाविहानै चिरविर–चिरविर चिरविराउने
गौँथलीका गीतहरू मेटिएझैँ
थाहै नपाई मेटिए
इतिहासका जुनकिरी अक्षरहरू
समयको अन्तिम अनुच्छेदका हरफहरूबाट !
……………….

किन बिसाउँदैनन्
घँसिनीहरूले आफूजस्तै घाँसको भारी
र बारपाकको चौतारी छेऊ
एक्लै–एक्लै टोलाइरहेछ – ऐँसेलु झाङ ?
कसरी गुमनाम भए
ढोडियाजस्तै मार्चुलाल माझी
र तामाकोशीका माछाहरू
कुरभित्र कुर्दा–कुर्दै हाई काडिरहेछन् ?
कहाँ हराए होलान्
इर्खूका चुलबुले केटाकेटीहरू
र माथि धोविनी वनमा
सुँक्कसुँक्क रोईरहेछ – काफलको बुढो रुख ?
………………….

वसन्त मुस्कुराउनु अगावै
वनफूलका डालीबाट
जीवनका कोपीलाहरू झरेपछि
हरेक साँझ,
मनको सलेदो सल्काएर
उर्गेनको तरबार खोजी हिँड्ने
निमा नोर्बूको आप्पा
किन देखिँदैन
आजकाल यो पहिरोको धुलोमाथि
र माङ्खाको शीरमुनि
चुपचाप–चुपचाप बगिरहेछ – भोटेकोशी ?
………………..

भरखरै फक्रिएको
चिमालको थुँगाजस्ती मेरी पोक्ची
यी यही छाप्रोको भग्नावशेषभित्र पुरिएकी छे !
तरबारको दापझैँ ठडिएको
टोटलाको चापटजस्तो मेरो थेवा
उ त्यही ढलेको घरभित्र ढुक्कले निदाएको छ !
साँझमा सल्काएको,
गुम्बाको छ्योमेजस्ती मेरी रूम्बिनी
नुन किन्दा–किन्दै
आफै जून भएर अस्ताएकी छे !
छिनभरमै,
टुटेर गए आशाका मसिना तारहरू
र म धुन बेगरको बुढो सारङ्गी बाँचिरहेको छु !
…………………

शहरबाट आउनुभएको छ !
अब झिक्नुस् क्यामेरा
र कैद गर्नुस् – यी कस्मेटिक दृष्यहरू
पानोरोमिक सेटिङ मिलाउनुस्
र खिच्नुस् सपनाशुन्य निर्जीव फोटाहरू !
ताकि,
नाफाको लिस्नो चढेर आऊन्
एक हुल सट्टेवाजहरू
र बिक्री गरुन् नवाफहरूलाई
असीमित पीडाका यी अदृष्य रोमान्सहरू !
यो संवेदनाहीन माइक्रोचिप्सभित्र
सायद,
अरू पनि बिक्रीयोग्य वस्तुहरू हुन सक्छन् !
………………..

आफ्नै आँखाका लेन्सहरूमा
आँसुको पर्दा हालेर
उहिल्यैदेखि,
हामी पनि त खिचिरहेछौँ
फ्ल्यास अफ साइवर फोटाहरू – चुपचाप !
र प्रर्दशन गरिरहेछौँ
यो आर्ट–ग्यालरीजस्तै देशका भित्ताहरूमा !
बस !
हेर्नेहरूले हेरिरहेछन्
तिमीजस्तै हजारौँ जिउँदा तस्विरहरू !

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्