नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुदै आएका भारतिय पत्रकार अर्नब गोस्वामी विरुद्ध मुद्दा चल्ने

  • 161
    Shares
0

काठमाडौं ११ जेठ । केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ। मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो। अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

पत्रकार गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ। प्रहरीले आफूलाई समात्ने देखेपछि उनले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो।

न्यायाधीश डीआई चन्द्रचुड र एमआर साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ। पत्रकार गोस्वामीले केही समयअघि राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिएका थिए। उनीविरुद्ध अदालतले १४ स्थानबाट परेका उजुरी खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रिपब्लिक भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ। त्यसैले उनले कांग्रेस आई र मुसलमान समुदायविरुद्ध कटाक्ष गर्ने गरेको छन्।पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालको पनि चर्काचर्की भएको थियो। टिभी अन्तर्वार्ताका क्रममा उनी आक्रामक रुपमा प्रस्तुत भएपछि रिजालले कडा रुपमा प्रतिवाद गरेका थिए।

Comments
Loading...
You might also like