रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भेटिए यस्ता त्रुटि

  • 54
    Shares
0

काठमाडौं। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ।

‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो। यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो। सरकारले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो।

आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ। प्रतिवेदनमा पाइलटका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको समेत उल्लेख छ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो। मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ। हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ।

बिहानको ११:४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो। हेलिकप्टर १२:३४ मा दुर्घटनाग्रस्त भएको थियो। प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ। दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ।

‘त्यो समयमा धेरै टाढा जानुपर्ने हो तर हेलिकप्टरमा समस्या आएर फेरि हेलिप्याडमा फर्किने प्रयास गरेको जस्तो देखिन्छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ। दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ। समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए।

जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्। तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ।

‘यताबाट जाँदा इन्धनको कारणले तौल सन्तुलित भए पनि पछि फर्कदा भने अगाडिको तौल बढी भयो, जसले अगाडितिर हेलिकप्टर हुत्तिने हुन्छ, यसले सेन्ट्रल अफ ग्राभेटी मिलाउन निकै कठिन भयो’ समिति सदस्यले भने।

प्रतिवेदनका अनुसार तेह्रथुम पुग्दा २४० केजी इन्धन बाँकी र पाथिभराबाट हिड्दा १९५ केजी बाँकी रहेको हुनसक्ने देखिएको छ। यही कारणले दुर्घटना नटरे पनि मानवीय क्षति रोक्न सकिने उनको विश्वास छ। ‘त्यहाँको अवस्था हेर्दा पाइलटले हेलिकप्टर पुनस् हेलिप्याडमा फर्काउन खोजेका थिए तर सकेनन् किन भने त्यहाँ तौलको सन्तुलन नै मिलेन हेलिकप्टर फर्केर फेरि ल्यान्ड गर्न सकेको भए अवस्था अर्कै हुनेथियो उनले भने।

त्यस्तै हेलिकप्टर कम्पनीले गलत प्लान दिएर पाइलटले एक्कासी योजना परिवर्तन गरेको समितिले ठहर गरेको छ। समितिका अनुसार कम्पनीले काठमाडौंबाट पाँचथर जाने योजना बुझाएको थियो। तर एक्कासी तेह्रथुप गएर पाथिभर पुगेको देखिन्छ। त्यस्तै पाइलटले होस गुमाएको हुनसक्ने समितिले निष्कर्ष निकालेको छ। हाइपोक्सियाको प्रारम्भिक लक्षण देखिएर कठिन परिस्थितिमा पाइलटले होस गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

Comments
Loading...
You might also like