नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

  • 72
    Shares
0

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन्।

नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ। सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ। त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ। सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन्। नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन्।

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन्। यी अधिकांश सम्पत्ति २०५० सालमा र केही २०५३ सालमा लिजमा दिइएका हुन्।

२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो। त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ।

ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ। ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ।

काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ। रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ।

Comments
Loading...
You might also like