अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण सम्भव होला ?

  • 35
    Shares
0

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर भारतको राजधानी दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको अहिलेसम्म किन भ्रमण हुन नसकेको होला ?

अमेरिकाका लागि नेपालका पूर्वराजदूत शङ्कर शर्मा अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुका तीनवटा कारण देख्छन्। शर्माका अनुसार पहिलो, ‘नेपालको मुद्दा बलियो छैन। अरू ठूला देशमा जस्तो हाम्रो अमेरिकासँग व्यापार लगानीको सम्बन्ध पनि छैन। हामी केवल आर्थिक सहायता मात्रै लिने मुलुक हौँ।’

दोश्रो, ‘भ्रमणको व्यवस्थापन। उनीहरूको व्यवस्थापन चिनियाँ राष्ट्रपतिका लागि भन्दापनि फरक र विशेषखालको छ।’ तेस्रो, ‘उनीहरूका लागि नेपालको महत्त्व नै कम छ।’

पूर्व परराष्ट्रसचिव मधुरमण आचार्य पनि नेपालको महत्त्व कम आँकिएकाले नै अमेरिकी राष्ट्रपति नेपाल नआएको ठान्छन्। ‘हाम्रो प्राथमिकतामा उनीहरू परेर मात्रै भएन, हामी उनीहरूको प्राथमिकतामा परेका छैनौँ। छिमेकी चीनका राष्ट्रपतिलाई नेपाल ल्याउने विषय त त्यतिका समय लाग्यो। यो पनि हुनसक्छ तर समय लाग्छ,’ आचार्यले भने।

अमेरिकी राष्ट्रपति ल्याउने चाहना भए त्यसको पहल गर्नु अगाडि भ्रमणमा आउने राष्ट्रपतिको चासोको विषयलाई रणनीतिक रूपमा अध्ययन गर्नुपर्ने पूर्व राजदूत शर्माले बताए। नेपालमा यसअघि अमेरिकाका उपराष्ट्रपति स्पाइरो एग्न्यू (सन् १९७०) र विदेशमन्त्री कोलीन पावेल (सन् २००२)ले भ्रमण गरेका भए पनि राष्ट्रपति स्तरको भ्रमण हुन सकेको छैन।

सन् १९९५ मा प्रथम महिला हिलरी क्लिन्टनले आफ्नी छोरीसहित नेपालको भ्रमण गरेकी थिइन्। यसअघि आफू अमेरिकाका लागि राजदूत भएका बेला तत्कालीन राष्ट्रपति बराक ओबामालाई ल्याउनका लागि पहल गर्ने प्रयत्न गरेको पूर्व राजदूत शङ्कर शर्माले बताए।

‘त्यतिबेला मैले पहल गरेको थिएँ तर हाम्रो त्यो तहको क्षमता नपुगेकोले फलिभूत हुन सकेन,’ शर्माले भने। -बीबीसी

Comments
Loading...
You might also like