के हो मार्क्सवादी साहित्यकाे समाजशास्त्र ?

  • 54
    Shares
0

मार्क्सवाद तथा समाजशास्त्रीय समालोचना दुवै समालोचनाका पद्धतिहरू हुुन्। साहित्यको समाजशात्रीय समालोचनात्मक पद्धतिको विकासको पृष्ठभूमि प्लेटोदेखि तयार भए पनि १९ औं शताब्दीका हिप्पोलाइट एडल्फ तेनबाट यसको सैद्धान्तिक र मनोवैज्ञानिक अध्ययन थालनी भएको पाइन्छ। उनको अङ्ग्रेजी साहित्यको इतिहासबाट साहित्यको समाजशास्त्रीय समालोचनाको सुरुवात भएको हो। यसले मानिसको समाजसितको साहचार्य, समाज विकासमा मानिसको सम्बन्धले सिर्जना गरेको परिणति एवं त्यसबाट विकास भएको समाज विकास प्रक्रियाका सम्पूर्ण शाखाहरूको समन्वय गरी त्यसको अध्ययन अनुसन्धान गर्दछ। समाजशास्त्रका यिनै विषयहरूको अन्वयद्वारा गरिने वैज्ञानिक अध्ययन पद्घति नै साहित्यको समाजशास्त्र हो।

मार्क्सवाद पनि एउटा महत्त्वपूर्ण समालोचना सिद्घान्त हो। काल मार्क्स मार्क्सवादका प्रारम्भकर्ता मानिन्छन्। यिनका सिद्घान्तको विशिष्ट व्याख्या गरी व्यवहारमा उतार्ने काम भ्यादिमिर एलिच लेनिन ९१८७०–१९२४० ले गरेको पाइन्छ । साहित्य र कला समाजको आर्थिक, भौतिक जीवनबाट उत्पन्न हुन्छ र त्यसैमा अवस्थित अनि आधारित हुन्छ भन्ने धारणा रहेको पाइन्छ। सामाजिक क्रान्ति र समाजको पुनर्निमाणमा पनि साहित्य र कलाको महत्त्वपूर्ण भूमिका हुन्छ। श्रमद्वारा नै साहित्य र कलाको निर्माण गर्ने हातहरूमा शक्ति र क्षमता आउँछ साथै श्रमबाट नै जीवनमा अनुभव प्राप्त हुन्छ र त्यसै अनुभवबाट साहित्य सिर्जना हुन्छ।

साहित्य र कला सम्बन्धी मार्क्सवादी चिन्तन मूलतः मार्क्सवादी दर्शनबाट प्रभावित छ। मार्क्सवादी दर्शन अन्तर्गत द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको विशेष भूमिका रहेको हुन्छ। मार्क्सवादले समाजको मापदण्ड अर्थलाई मान्ने हुनाले आर्थिक धरातलमा परिवर्तन आउनासाथ साहित्य तथा कलाका विचारधारामा पनि धेरै थोरै परिवर्तन आउँछ भन्ने मान्यता राख्दछ। समग्रमा मार्क्सवाद र साहित्यको समाजशास्त्रीय चिन्तनका बीच साम्य तथा वैषम्यहरू यस प्रकार रहेका छन्।

(१) साम्य

मार्क्सवादी तथा समाजशास्त्रीय समालोचनाले साहित्य तथा कलालाई समालोचना गर्दा समाजलाई केन्द्रमा राख्दछन्। कृतिकेन्द्रित समालोचनासँग समाजशास्त्र र मार्क्सवादको व्यतिरेकी सम्बन्ध रहेको हुन्छ। मार्क्सवादले समाजको मापदण्ड अर्थलाई मान्ने हुनाले आर्थिक धरातलमा परिवर्तन आउनासाथ साहित्य तथा कलामा परिवर्तन आउँछ भन्ने मान्यता राख्दछ भने साहित्यको समाजशास्त्रले पनि साहित्य सामाजिक युग तथा पर्यावरण जस्ता भौतिक पक्षहरूबाट प्रभावित हुने हुँदा समाजको गतिसँगै साहित्य पनि बद्लिन्छ भन्ने मान्यता राख्दछ।

समाजशास्त्रीय समालोकहरूले मार्क्सवादी सिद्धान्तले प्रयोग गर्ने वर्ग, वर्गीयजस्ता शब्दहरूझैँ समूह, समुदायजस्ता शब्दहरू प्रयोग गरेर साहित्यको मीमांसा गरेका छन् भने मार्क्सवाद पनि समाजशास्त्रदेखि प्रभावित छ। समाजशास्त्रीय समालोचनाले साहित्यलाई केवल तथ्यको सङ्कलन र दस्तावेज मात्र मान्दैन। यसले साहित्यको भूमिकमलाई समाजमा के छ भनी खोज्ने काम गर्दछ भने मार्क्सवादले पनि वर्ग, सङ्घर्ष र सामाजिक परिवर्तन को छानविन गर्दछ। त्यसैले यी दुई निकट छन्।

मार्क्सवादले साहित्यमा समाज परिवर्तनको भूमिका हुनुपर्छ भन्ने मान्दछ भने समाजशास्त्रीय समालोचनाले पनि साहित्यलाई विचार अभिव्यक्त गर्ने माध्यम मान्दछ। मार्क्सवाद र साहित्यको समाजशास्त्रीय समालोचना दुवै बहिःकेन्द्रित समालोचनात्मक सिद्धान्तहरू हुन्।

(२) वैषम्य

साहित्यको समाजशास्त्र समाज र सामाजिक मान्छेहरूको अध्ययन गर्ने शास्त्र हो। त्यस सामाजिक संरचनामा देखिने वर्गीय विभेद र वर्ग सङ्घर्षलाई भने महत्त्व दिँदैन। तर, मार्क्सवादले भने साहित्यलाई समाजमा परिवर्तनकारी भूमिका निर्वाह गर्न एक तत्वका रूपमा मानेको हुन्छ। साहित्यको समाजशास्त्रले साहित्यको प्रमुख आधार समाजलाई मानेको हुन्छ। तर, सृजन प्रक्रियामा यसले सौन्दर्यात्मक आदर्श, सांस्कृतिक अवस्था र सामाजिक अवस्थालाई महत्त्व दिँदैन।

यसको सामाजिक प्रतिबिम्बन इन्द्रीय बोधात्मक प्रतिबिम्बन मात्र हुन्छ। तर माक्र्सवादले भने ज्ञानको इन्द्रियजन्य पक्षबाट भावजन्य पक्षमा जानु आवश्यक ठान्दछ। प्रतिबिम्बनको कुरा गर्दा माक्र्सवाद सिर्जनात्मकताप्रति सधैँ चनाखो हुन्छ। समाजशास्त्रले वर्ग सङ्घर्षलाई महत्त्व दिँदैन भने माक्र्सवाद सर्वहरा वर्ग तथा शोषित वर्गको क्रान्तिकारी दर्शन हो। साहित्यको समाजशास्त्रमा लेखक एउटा फोटोग्राफर मात्रै हुन्छ उसको काम केवल यथार्थको प्रतिबिम्बन गर्नु हो। तर मार्क्सवादी समालोचनामा लेखक एउटा सिर्जनाकार हो। मार्क्सवादले साहित्यको प्रतिबिम्बन मात्रै होइन, यथार्थको पुनः सिर्जन गर्ने काम गर्दछ।

साहित्यको समाजशास्त्रले रचनालाई एक स्वतन्त्र एकाइ ठान्दछ। रचनामा निहित सौन्दर्य पक्ष र यसले पार्ने असरप्रति यो मौन रहन्छ। यसको विपरीत मार्क्सवादले साहित्य र कलालाई बजारको वस्तु वा व्यक्तिको इच्छापूर्तिको साधनभन्दा सामाजिक सम्पत्ति र सामूहिक शाक्तिको रूपमा लिन्छ। साहित्यलाई कर्मको रूपमा नभई शब्दको रूपमा स्विकार्ने साहित्यको समाजशास्त्रीय परिपाटीलाई मार्क्सवादले अस्वीकार गर्दछ। साहित्य सिर्जनाका क्रममा यसका आफ्नै सिर्जनात्मक र सौन्दर्यामक नियम सङगतिहरू हुन्छन् भन्ने तथ्यलाई मार्क्सवादले स्वीकार गर्दै साहित्य समाजको दर्पण हो भन्ने मान्यतालाई अस्वीकार गर्दछ।

साहित्यको समाजशास्त्रले साहित्यले समाजको यथार्थ चित्रणमा जोड दिन्छ भने माक्र्सवादले साहित्यले समाजलाई बदल्नुपर्छ भन्ने सचेत मान्यताका साथ साहित्यको समीक्षा गर्दछ। यसले साहित्य रचनाको हेतुलाई रसात्मकता र आनन्द प्राप्तिमा सीमित गर्न चाहँदैन।

समाज, सामाजिक संस्था, सामाजिक संरचनालाई व्यवस्थित बनाउने नाममा वर्तमान परिपाटीलाई स्थायित्व दिने काम साहित्यको समाजशास्त्रले गर्दछ। मार्क्सवादी चिन्तनले भने सामाजिक परिवर्तनलाई केन्द्रमा राख्ने हुनाले साहित्यले परिवर्तनकारी भूमिका निर्वाह गरेको छ कि छैन भनेर खोजी गर्ने काम गर्दछ। यसरी हेर्दा समाजशास्त्रीय समालोचना र मार्क्सवादी समालोचनामा केही साम्य गुणहरू र केही बैषम्य गुणहरू देखिन्छन्। कुनै एउटा पद्धतिमात्र साहित्यको अध्ययनमा पूर्ण हुन सक्दैन तसर्थ समालोचनाका मार्क्सवाद र समाजशास्त्रीय सिद्धान्त उत्तिकै महत्त्वपूर्ण छन्।

Comments
Loading...
You might also like