संविधान संशोधनबाट कम्युनिष्ट व्यवस्था ल्याउन सकिन्छ

  • 294
    Shares
0

काठमाडौंं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुईतिहाइ बहुमतले संविधान संशोधनमार्फत् मुलुकमा कम्युनिष्ट व्यवस्था वा राजतन्त्र पनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ? भन्दै प्रश्न राखे।

रिपोर्टर्स् क्लबमा बोल्दै विडारीले विश्वका कयौं देशमा माथिल्लो सदन र तल्लो सदन दुवै सदनका सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था रहेको सुनाए। उनले भने, ‘अहिले भएको बहस हेर्दा मलाई अचम्म लाग्छ, ज्यान जाला हुँदै हुँदैन भन्नु पनि गलत हो, र यो गर्नैपर्छ भन्नु पनि बेठीक हो।’ उनले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थाका लागि संविधान संशोधन गर्नेबारे वादविवाद तथा छलफलको विषय भएको सुनाए।

उनले आवश्यकत्ताको औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने तर्क गरे। उनले भने, ‘संविधान संशोधन नै हुँदैन भन्नु पनि गलत हो। यो त परिवर्तनीय दस्तावेज हो। राष्ट्रिय स्वाधिनता र स्वाभिमान लगायतका केही संवेदनशील विषयमा संविधान संशोधन हुँदैन। नत्र दुईतिहाइ बहुमतले संविधान संशोधन गरेर कम्युनिष्ट व्यवस्थामा पनि जान सकिन्छ। राजतन्त्र पनि ल्याउन सकिन्छ। हाम्रो संविधानले यति फराकिलो व्यवस्था गरेको छ।’

उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको भनेर पत्रपत्रिकाले लेखेकै भरमा हल्ला गर्नु पनि गलत भएको टिप्पणी गरे। उनले भने, ‘संविधान संशोधन गर्न आवश्यक छ कि छैन ? भन्ने कुरा निर्वाचन व्यवस्था कति महँगो भयो ? भन्ने कुराले पनि देखाउँछ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने कुरा पनि अहिले विद्धानहरुले गर्न थालेका छन्।’ उनले आफूले त तीन वर्षअघि नै संसदमा यही निर्वाचन प्रणालीले त संसदमा ठेकेदार, दलाली र तस्करहरु मात्रै भरिने भए भनेर बोलेको पनि स्मरण गराए।

उनले उपयुक्तताको आधारमा संविधान संशोधन गर्न सकिने बताए। उनले भने, ‘अहिले नेकपाले गठन गरेको कार्यदलले संविधानको कुन कुन धारा संशोधन गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्छ। कार्यदल गठन भएकै हो नि। यसको संयोजक माधव नेपालजी हुनुहुन्छ।’

Comments
Loading...
You might also like