विदेशबाट आएका नेपाली देख्दा भाग्न थाले स्थानीय

  • 364
    Shares
0

थम्मन थापा/  बागलुङ, १२ चैत। विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरु अहिले गलकोट नगरपालिका भित्रका विभिन्न गाउँमा फर्किएपछि गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन्। जापान, युरोप, कतार, मलेसिया, दुबई, साउदी अरेबिया लगायत छिमेकी देश भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु गाउँमा फर्किएपछि हिजोआज गाउँ घरका मानिसहरु आतंकित भएका हुन्।

फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन। फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ। विदेशबाट फर्केका र नेपालका विभिन्न शहरबाट गलकोट आएका नागरिकहरुलाई गलकोट नगरपालिकाको कार्यालयले १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ।

यदि त्यसो नगरिएमा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने गलकोट नगरपालिकाका नगर प्रमूख भरत शर्मा गैरेले जानकारी दिए। अहिले गलकोट नगरपालिका, स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाको पहलमा गल्कोटमा क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमूख गैरेले बताए। विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले मंगलबारदेखि नेपाललाई लकडाउन गरेको छ। यो अवस्थामा घर बाहिर ननिस्कने, भीडभाड नगर्न, सवारी साधन नचलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आम नागरिकहरुलाई अनुरोध समेत गरेका छन्।

गलकोट नगरपालिकाको मुख्य बजार हटिया, हरिचौर लगायतका बजार क्षेत्र अहिले सुनसान देखिए पनि गाउँ घरतिर भने यसको प्रभाव अलि कम देखिएको छ। मानिसहरू निर्बाध रूपमा घर बाहिर हिड्ने, सवारी साधन चलाउने गरेको भन्दै केही स्थानीयहरू आतंकित समेत बनेको बताएका छन्।

जनप्रतिनिधि, सरोकारवाला निकायको यसप्रति बेलैमा ध्यान नजाने हो भने कोरोनाको प्रभाव पर्न सक्ने र माहामारी थप फैलिने भन्दै जनताहरू चिन्तित बनेका छन्। अहिले लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वय गर्न ईलाका प्रहरी कार्यालय हरिचौर, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाटीले गलकोट नगरपालिका भित्र गस्ती समेत सुरु गरेको छ। यो अभियानलाई पूर्ण रूपमा पालना गरी कोरोना भाइरस विरुद्धको लडाइँमा एकजुट भएर लड्न गलकोट नगरपालिकाले आम नगरबासीमा अपिल समेत गरेको छ।

Comments
Loading...
You might also like