चैतदेखि गैँडा गणना गर्ने तयारीमा

0

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट चैतदेखि गैँडा गणना सुरु गरिने भएको छ । दुर्लभ एक सिङ्गे गैँडाको गणना आगमी चैत १ गतेदेखि सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइसकेको छ ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने विभागले जनाएको छ। नेपालका चार वटा निकुञ्जमा गैँडा रहेका छन् । फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना छ । विभागका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । वन मन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने तयारी रहेको विभागले जनाएको छ ।

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यस पटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गएको वर्ष नै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको थियो । तर, बजेट अभावमा गणना हुन सकेको थिएन ।

हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।

Comments
Loading...
You might also like