माओवादबिना मार्क्सवाद पूर्ण हुन सक्दैन

  • 1.6K
    Shares
0

माओवाद माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको संश्लेषण हो। मार्क्सवाद–लेनिनवादलाई नयाँ विकास र मूल्यप्रदान गर्ने काममा माओले भित्र र बाहिर दुवै क्षेत्रमा निर्मम लडाई लड्नुपर्‍यो। यथार्थतः माओवाद, मार्क्सवाद–लेनिनवादको विकास र समृद्धिको पक्षमा निरन्तर लडिएको लडाइको उपज हो। यस लडाइमा माओले प्रतिक्रयावादी, साम्राज्यवादी शक्तिसित मात्र नभई ’मार्क्सवादी’हरू सित पनि लड्नुपर्‍यो।

साहित्य तथा कला वर्गसंघर्षको महत्त्वपूर्ण हतियार हुन भन्ने कुरालाई माओले कुशलता र सशक्तताका साथ प्रयोग मात्र गरेनन्, अझ समृद्ध पनि पारे। कसरी साहित्य तथा कलाका रूपहरू संघर्षका हतियारहरू हुन सक्छन्, सांस्कृतिक आन्दोलन समाज रूपान्तरणको सशक्त मोर्चा कसरी हुनसक्छ भन्ने कुरालाई माओले व्यवहारद्वारा नै प्रमाणित गरे। त्यसैले सांस्कृतिक मोर्चा र माओले लडेको लडाइको लेखाजोखा गर्नु भनेको माओले लडेको लडाइको मूल्यपरक अभिरेखाङ्कन गर्नु हो।

अधिरचनाको महत्त्वपूर्ण अङ्ग रहेको साहित्य तथा कलालाई समग्रमा भन्दा सांस्कृतिक आन्दोलनलाई माओले वर्गसंघर्षमा कसरी प्रयोग गरेर यसक्रममा उनले के–कस्तो लडाई लडे भन्ने कुराको सङ्क्षिप्तावलोकन यस लेखको उद्देश्य रहेको छ।

सांस्कृतिक सङ्घर्ष

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्म अझ प्रस्टभन्दा १९७३ सम्मको समग्र राजनीतिक र सांस्कृतिक नीति, योजना, संघर्ष र आन्दोलनको चरित्र र दिशालाई हेर्दा र बुझ्न खोज्दा माओले मूलतः पाँचवटा कुरामा जोड दिएको देखिन्छ। १. चिनियाँ समाजको विशिष्टता र मौलिकतामा मार्क्सवाद–लेनिनवादको प्रयोग, २.अन्धनक्कलवादबाट मुक्त राष्ट्रिय चरित्रको क्रान्तिकारी सांस्कृतिक आन्दोलनको विकास, ३. आधार र अधिरचनाका सम्बन्धमा वैज्ञानिक र व्यावहारिक नीति र योजनाको सम्पादन, ४. सांस्कृतिक आन्दोलनलाई जनमत सिर्जनाको महत्त्वपूर्ण माध्यम बनाउन जोड र ५. राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनलाई एक अर्काका सहयोगी र पूरक आन्दोलनका रूपमा विकास र विस्तार गर्नमा जोड, अर्थात् सङ्गठित सांस्कृतिक शक्तिको निर्माण।

यी सबै कुराहरू पूरा गर्नका लागि माओले मूलतः तीन किसिमका लडाइँ लड्नुपरेको देखिन्छ। क) प्रतिक्रियावादी सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध, ख) ट्राटस्कीवादी, अराजकतावादी र विर्सजवादीहरू विरुद्ध र ग) दक्षिणपन्थी पलायनवादका विरुद्ध।

सांस्कृतिक आन्दोलनमार्फत् लक्ष्य प्राप्त गर्ने कुरामा माओले हरेक मञ्च र रूपको प्रयोग गरेका छन्। आवश्यकताअनुसार दार्शनिक र राजनीतिक प्रवचन र प्रशिक्षणहरू, सम्पादकीय टिप्पणी र लेख रचनाहरू, कृतिहरूको भूमिका, गीत सङ्गीत, कविता र उपन्यास आदिबारे व्यक्त धारणामार्फत् माओले वैचारिक पक्षधरता, प्रतिबद्धता र प्रतिरोध सम्बन्धी चिन्तनलाई अघि बढाएका छन्। सांस्कृतिक क्षेत्रको संघर्षको विशिष्टता र चरित्र पनि राजनीतिक संघर्षको चरित्र र विशिष्टता अनुरूप विकसित र विस्तारित भएको छ। चुनाई सम्मेलन (१९३५) सम्मको एउटा चरित्र रहेको देखिन्छ भने त्यसपछि मूलतः १९४० देखि १९४९ सम्मको लडाइको चरित्र बेग्लै छ।

यसका पछाडि तत्कालीन राष्ट्रिय, अन्तराष्ट्रिय अन्तर्विरोध र वर्गसघर्षको स्थितिले काम गरेको छ। १९५० यता भनौं समाजवादी निर्माण कालको पहिलो चरण, यसलाई उपचरणमा विभाजन गर्दा लुसान सम्मेलनसम्मको अवधि पनि भन्न सकिन्छ, यसको प्रवृत्ति अलि भिन्नै छ। त्यस्तै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति कालको लडाइको चरित्र झन् फरक किसिमको छ। लडाइको प्रकृति र चरित्रका जे–जस्ता विशिष्टता र मौलिकता रहे पनि माओले हरहमेसा क्रान्तिकारी विचार, क्रान्तिकारी राजनीति र जनसम्बन्ध र जनदिशालाई अगाडि राखेर अर्थात् पोलिटिक्स इन कमाण्डका आधारमा नै सांस्कृतिक समस्या र अन्तर्विरोधहरूको हल खोजेका छन्। यही नै माओको लडाइँको प्रमुख विशेषता हो।

माओ र सांस्कृतिक क्रान्ति

कम्युनिस्ट अन्तराष्ट्रियको सहयोगमा चीनको शांघाइमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय भेला भएको थियो। ५७ जना पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दै सो भेलामा माओत्सेतुङ, छन–तुस्यू लगायत १२ जनाको उपस्थिति थियो। यसै भेलाबाट विधिवत रूपमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रको स्थापना भएको थियो।

१९२१ देखि चुनाई सम्मेलनसम्म चिनियाँ कम्युनिस्ट आन्दोलनमा माओले खेलेको भूमिका महत्त्वपूर्ण भएपनि पार्टी र नेतृत्वका सन्दर्भमा भने उनलाई खासै भूमिका दिएको देखिँदैन। यस बीच माओले ‘चिनियाँ समाजमा वर्ग विश्लेषण (१९२६), ‘पार्टी गठनको प्रश्न ‘(१९२८), ‘पार्टीभित्रका गलत विचारहरूको सुधार गर्ने सम्बन्धमा’ (१९२९) जस्ता महत्त्वपूर्ण राजनीतिक र सङ्गठनात्मक रचनाहरू लेखे पनि साहित्य कलाका विषयमा भने खासै चर्चा परिचर्चा गरेको पाइँदैन।

यसबीचको चिनियाँ सांस्कृतिक आन्दोलन मूल रूपमा लुसुनको वरिपरि केन्द्रित रहेको देखिन्छ। १९३० पछि वैचारिक पक्षधरता र कार्यदिशाका सन्दर्भमा लुसुन र माओलाई जोडेर हेर्न सकिन्छ, तापनि चुनाई सम्मेलन अझ भन्दा ‘नौलो जनवादको संस्कृति’भन्दा अघिको चिनियाँ सांस्कृतिक आन्दोलन लुसुनको वरिपरि केन्द्रित रहेको देखिन्छ। प्रतिक्रयावादी धारका साथै आफूलाई जनपक्षीय धारका भन्नेहरू पनि तीन किसिमका प्रवृत्तिहरूमा विभाजित रहेका थिए, रूसी सांस्कृतिक आन्दोलनमा चर्चाको विषय बनेको प्रोलेत्कुल्तद्वारा प्रभावित समूह, ट्रटस्कीको प्रभावमा रहेको समूह र चिनियाँ विशिष्टताको प्रगतिशील समूह। यी तीन समूहबीच तीव्र द्वन्द्व थियो, यी एकले अर्कालाई निषेध गर्न चाहन्थे। तर बौद्धिकता, प्रतिभा र प्रभावका कारण सबै लुसुनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न चाहन्थे।

रूसमा राजनीतिक गुटबाट प्रभावित कला क्षेत्रका गुट उपगुटहरू बीच विवाद तीव्र थियो र यता चीनमा पनि मारामारको स्थिति थियो। १८ जुन, १९२५ मा बसेको रूसी बोल्सेभिक पार्टी कमटीको बैठकले सांस्कृतिक क्षेत्रको विवादका विषयमा एउटा विशेष निर्णय गर्‍यो। ‘साहित्यका बारेमा पार्टी नीतिबारे’ सो प्रस्तावको एउटा अंश यस्तो रहेको छ, जसरी यहाँ वर्गसघर्ष सामान्यतया समाप्त भएको छैन, त्यसैगरी साहित्यिक मोर्चामा पनि वर्गसंघर्ष समाप्त भएको छैन। वर्ग समाजमा कुनै तटस्थ कला हुँदैन र हुन पनि सक्तैन, जबकि कला क्षेत्र त्यसमा पनि खास गरेर साहित्यको वर्ग स्वरूपले आफूलाई यस्तो रूपमा व्यक्त गर्दछ, जुन चाहिँ उदाहरणका रूपमा राजनीतिको वर्गस्वरूप भन्दा असीम रूपमा विविधता पूर्ण हुन्छ।

रूसी साहित्यिक आन्दोलनमा त्यतिबेला देखापरेको समस्या हल गर्ने सम्बन्धमा मात्र नभई कृति मूल्याङ्कन र सौन्दर्य शास्त्रीय दृष्टिले पनि उपर्युक्त भनाइ निकै महत्त्वपूर्ण रहेको छ। यसैको निरन्तरतामा पछि १९३२ को पार्टी निर्णयले केही समूहहरूको विघटन गर्‍यो र एउटै छातामा ल्यायो। त्यसको प्रभाव यता चिनियाँ आन्दोलनमा पनि पर्‍यो। चाङकाइसेकले षड्यन्त्रपूर्वक सत्ता कब्जा गर्नु र जापानी आक्रमणको खतरा बढ्दै जानुले पनि चिनियाँ बौद्धिक–सांस्कृतिककर्मीहरू एकताबद्ध हुनु आवश्यक भएको थियो।

त्यतिखेर चिनियाँ कम्युनिस्ट पार्टी मूलतः दुई धार भएपनि स्टालिनकै वर्चश्व थियो र त्यहाँको नेता र नेतृत्व कसले लिने भन्ने कुरा रूसबाटै तय हुन्थ्यो। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टी लिलिसान, क्युक्युपाइ – छुछुपाइ र वाङमिङको वर्चश्व थियो र यी रूस प्रशिक्षित कमरेडहरू थिए। चिनियाँ सांस्कृतिक आन्दोलनको विवाद साम्य पार्न त्यतिबेलाका पार्टी सेक्रेटरी तथा प्रचार विभागका इञ्चार्ज लिलिसानले जिम्मा लिएर प्रचार विभागका सचिव पानहानियानको संयोजकत्वमा एउटा आयोग बनाए। यसैले दिएको प्रतिवेदनका आधारमा लुसुनका विरुद्धको अभियान बन्द गर्ने र सांस्कृतिक कर्मीहरू एकताबद्ध भएर जाने पार्टी निर्णयको घोषणा लिलिसानले गरे।त्यति बेलाका नाम चलेका र स्थापित लुसुन र माओतुन लगायतका लेखकहरूको एउटा टिम थियो।

चीनमा त्यतिबेर ट्रटस्कीको पनि राम्रै प्रभाव थियो। ट्राटस्की समूहमा केही समालोचक र रूसमा शिक्षा प्राप्त गरेका केही बुद्धिजीवीहरू थिए। पार्टीले शक्ति र सत्ताको प्रयोग गर्नेमा चाहिँ सौन्दर्यशास्त्रीय अध्ययन चिन्तनको कमी रहेका र पाठकहरूमा परिचित नभइसकेका तर, युवा जोस र जाँगरले भरिएका युवा साहित्यकारहरू थिए। पार्टी निर्णयले चिनियाँ सांस्कृतिक आन्दोलनमा रहेका केही समस्याहरूको हल गर्‍यो। यसमा साहित्य तथा कलामा विशेष रुचि रहेका छुछुपाइको भूमिका पनि महत्त्वपूर्ण रह्यो। यस निर्णयले लुसुनको बुझाइ र सोचाइलाई अगाडि ल्याउन निकै सघाउ पुर्‍यायो। १९३० मा गठित ‘वामपन्थी लेखक सङ्घ’ यसैको मूर्त रूप थियो।

चाङकाइसेक नयाँ साम्राज्यवादी योजनाका साथ आएको थियो। यता पार्टीको सांस्कृतिक मोर्चामा बढदो विभाजन खास गरेर ’वामपन्थी’ भडकाउ राष्ट्रिय एकता र प्रतिरोधी संस्कृतिको निर्माणमा बाधक बनेको थियो।यस्तो बेला सबै प्रततिशील र वामपन्थी सांस्कृतिक कर्मीहरूले व्यापक एकताका लागि आह्वान गरे। त्यति बेर बहसमा आएका दुई वटा नारा मध्ये लुसुनले ‘राष्ट्रिय क्रान्तिकारी युद्धमा जनताको साहित्य’को पक्ष्यमा आफूलाई उभ्याए। यस नाराले लुसुनलाई माओको पङ्क्तिमा उभ्यायो।

चीनको विशिष्टतामा जनताको साहित्यलाई अगाडि बढाउने कुरामा माओ र लुसुनबीच समानता रहेका कारण पनि प्रत्यक्ष रूपमा दुई जनालाई एउटै मोर्चामा उपस्थिति गराएको थियो। एक अर्थमा यो रूसी प्रभावमा रहेको चिनिया“ राजनीति र सांस्कृतिक आन्दोलनबाट चिनियाँ मौलिकता तर्फ चिनियाँ राजनीति र सांस्कृतिक आन्दोलनले दिशा लिन थालेको सङ्केत पनि थियो।यही दिशाले चुनाई सम्मेलनपछि मुर्तरूप लिने वातावरण बनेको थियो।

Comments
Loading...
You might also like