फागुन १६ देखि राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव

  • 8
    Shares
0

काठमाडौं, १४ फागुन । डिएआर मुभिज एण्ड फिल्म इन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६’ को हुने भएको छ। बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन गरेर जानकारी दिएको हो।

‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए। पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, सञ्चार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो।

उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए। आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ। पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए।

उक्त महोत्सवको उद्घाटनमा नेपाल सरकारका उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ। उक्त प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन्।

उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ।

त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने नै रहेको छ। त्यस्तै, नेपाल सरकारको योजना नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्र्धन गर्ने, काँठे क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्यसहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष-भुषा, रहन-सहन, हस्तकाला, खानाको बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु-चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषण गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

उक्त महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायकलाई नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रु १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

प्रेस विज्ञप्तीको पूर्णपाठ

आदरणीय संचारकर्मीज्यू, नमस्कार
नेपाली मौलिक गीत संगीत, कला, संस्कृति एवं साहित्यको संरक्षण, सम्बद्र्धनका साथै यस क्षेत्रको बहुआयामिक विकासको निम्ति निजी क्षेत्रका समस्त संगीत उद्योगी तथा व्यवसायीहरु साथै सम्पूर्ण श्रष्टा सर्जकहरुको हक, हित र अधिकारका निम्ती उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको डि.ए.आर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.ली. ले लामो समयदेखि नेपाली संगीत उद्योगमा समर्पित श्रष्टा, सर्जक, कलाकारलाई यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्नु आजको आवश्यकता महसुस् गर्दै मेलापातमा झुन्डिएका व्यवसायीक रुपमा सफल, असफल मानिएका भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतक क्षेत्रले बिर्सिएको छ ।

त्यसलाई विश्व सामु उजागर गराउने उद्देश्य सहित राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गर्न लागेका हौं। ऐतिहाँसिक रुपमा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु अगाडि नारायणी नदी, भोटेकोशि नदी, तामाकोशी नदी, सुनकोशी नदी र बागमतीलाई बिच बनाई आसपास छरिएर रहेका नेवाः राज्यहरुलाई पृथ्वीनारयण शाहले काँठ क्षेत्र भनि सम्बोधन गरेका थिए भन्ने कथन छ। समय बित्दै जाँदा नेवाः पनि नेपालमा गाभिन गयो र काठमाडौं आसपासका तत्कालीन १८ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो।

त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, साँस्कृतिक विभिन्न धरोहर छन्। ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँव्रि मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको क्षेत्र हो काँठ क्षेत्र। राजसंस्थालाई मनोरञ्जन गराउने पहिलो साँगीतिक कोसेलीको रुपमा काँठ क्षेत्रका विभिध कोसेलीहरु दरबारमा प्रस्तुत गरिन्थ्यो। रेडियो नेपालको स्थापना पछि लोक गीतलाई दोहोरी मा परिणत गराउन काँठ क्षेत्रका सर्जकहरु सफल भए।

विस्तारै २०६४/६५ साल पछाडि काँठ क्षेत्र पछि पर्दै जानु र अन्य क्षेत्रका विविध साँस्कृतिक मौलिक गीतले अग्र स्थान पाउँदै गर्दा हाम्रा केही अग्रज सर्जकहरु पलायन भएसँगै हाम्रो क्षेत्रको गीत संगीत पछि पर्दै गयो। हरेक दिन न्युनतम ३ वटा काँठे लोक दोहोरी गीत बजारमा आउँछ, जसले मेलापात वा बस स्ट्याण्ड, आदि सार्वजनिक स्थलमा स्थान ओगट्छ तर डिजिटल मिडिया लगाएत व्यवसायीक रुपमा वा उचित स्थान बाट टाढै रहेको महसुस हुन्छ।

नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि यो महोत्सवले प्रर्वद्धनको लागि महत्पुर्ण योगदान पुर्‍याउने उद्देश्य सहित ‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान।’ भन्ने मुल नाराका साथ डि.ए.आर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.ली. द्वारा आयोजित काँठे लोक दोहोरी मोहत्सव २०७६ फाल्गुन १६ गते देखी २० गतेसम्म सम्पन्न गर्न गइरहेको व्यहोरा अवगत गराउन चाहन्छौं।

Comments
Loading...
You might also like