स्ववियू चुनाव नहुनुमा विद्यार्थी संगठन जिम्मेवारः उपकुलपति

  • 13
    Shares
0

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ठूला विद्यार्थी संगठन एक ठाउँमा उभिन नसक्दा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को चुनाव हुन नसकेको बताएका छन्। रत्नराज्य लक्ष्मी क्याम्पस स्ववियुले बुधबार आयोजना गरेको कार्यक्रममा उनले त्रिवि जतिसक्दो छिटो चुनाव गराउने पक्षमा रहेको बताए।

उपकुलपति बाँस्कोटाले आगामी चैत अन्तिम साता चुनाव गर्दा विद्यार्थीको परीक्षामा पनि कम असर पर्ने भएकाले त्यसका लागि वातावरण बनाउने काम भइरहेको उल्लेख गरे। ‘चुनाव गराउन लागि परेका छौं। रेक्टर नियुक्त गरे लगत्तै विद्यार्थीसंग छलफल गर्ने योजनामा छु,’ उनले भने, ‘नेविसंघले रेक्टर नियुक्तिको माग गर्नु नाजायज होइन, तर त्यहि माग राखेर चुनावमा नजानुपर्ने कारण थिएन।’

एक महिना अघि कार्यतालिका सार्वजनिक गरेर चुनावको तयारी गर्ने उनले बताए। नेकपा निकट अनेरास्ववियूका अध्यक्ष ऐन महरले १४ फागुनका लागि घोषणा गरेको स्ववियू चुनाव नहुनुमा विश्वविद्यालय र ठूला दुई संगठन मुख्य जिम्मेवार रहेको बताए। उनले त्रिविलाई आगामी चैत मसान्तसम्म चुनाव हुने वातावरण गराउन आग्रह गरे।

चुनाव गराउने मुख्य जिम्मेवारी त्रिविको भएकाले कुनै बहानामा चुनावमा आउन नचाहने संगठनलाई सधैं पर्खिरहन नहुने बताए। महरले भने, ‘यो वर्षभित्र चुनाव नगराए त्रिविको पदाधिकारीमा रहिरहने नैतिकता रहँदैन, हामी पनि राजिनामा माग्न थाल्छौं।’

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले स्ववियू चुनावका लागि त्रिविले गम्भीर भएर प्रयास नगरेको बताए। उनले स्ववियु चुनावका लागि रेक्टर नियुक्ति र विश्वसनिय वातावरण बनाउन आग्रह गरे। उनले सबै विद्यार्थी सहभागि हुन सक्ने वातावरण र छिटो कार्यतालिका ल्याएर चुनाव गराउन आग्रह गरे। त्रिविले १४ फागुनका लागि घोषणा गरेको स्ववियू चुनाव नभएपछि अनिस्चित कालका लागि स्थगित गरेको छ।

Comments
Loading...
You might also like