सरकार हराएको सूचना !

  • 259
    Shares
0

नवराज ढुंगाना

के यो हो मेरो सरकार, यो हो मेरो सरकार म भन्दैछु। किन यो मेरो सरकार हो भन्ने आभास मलाई हुन न सकेको। म आफै पनि कम्युनिस्ट हु। म मेरो सरकार खोज्दै हिडिरहेको छु। मेरो ३ तहको सरकार छ, स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रीय सरकार। म स्थानीय तहको मेरो सरकारको आभास पाइन्छ कि भनेर त्यहाँ पुग्छु। तर मेरो सरकारको आभास पाउँदिन। पाउँछन् होला उहाँको ईष्ट मित्रहरु, सालासाली, भाइभतिजाहरूले। उनीहरुका लागि त सरकार छ नि। तर, मेरा लागि सरकारको आभास हुँदैन। मैले भन्ने गर्छु, सरकार मेरो हो। तर, सरकारले मलाई चाहिँ आफ्नो भन्दैन, बरु बिरानो देख्छ।

म भन्छु मेरो सरकार हो। तर पनि म आफै आभास पाउँदिन किन ? हामी सर्वसाधारण नागरिकले पाउने बोलीको आश्वासनका महलहरू, जो सुन्दाखेरि ओहो र आहा मात्रै हुन्छ। तर, वास्तविकता काम हेर्दा ०.५ हुन्छ। कारण धेरै छन्। एक एक गर्दै हेर्दै जाउ। जहाँ कर चाहिँ अण्डादेखि अण्डा पार्ने माउ, बाउसम्म र जन्मेको बच्चादेखि श्वास जान लागेका बा र आमासम्मले तिर्नुपर्ने। कर चाहिँ लिने तर नागरिकहरू सेवा सुविधा खोज्न जाँदा कर्मचारीले हकार्ने, गाली गर्नेसम्मको नतिजा आउँछ।

कर्मचारी भन्छन्, हामी समाजसेवा गर्ने व्यक्ति होइन। हाम्रो काम १० बजे आउने अनि ५ बजेसम्म मात्र हो। यो मिलेन, त्यो मिलेन भनेर दुख र सास्ती दिने हो। समाजसेवाको काम त तपाईंले भोट दिएर पठाएकाहरूले गर्ने हो। हुन पनि हो, चुनेर पठाएको त हामीले नै हो। अनि म फेरि खोज्दै जान्छु, पुग्छु, भन्छु र कुराहरू राख्छु। नाई भन्नु हुन्न टाउको हल्लाउँदै हुन्छ भन्दै अघिकै कर्मचारी बोलाएर जिम्मा लगाइन्छ। ‘गर्दिनु है उहाँको काम।’ वाह कति जिम्मेवारी छ है मेरो निद्रामा परिरहेको स्थानीय सरकार।

टन्न खाएर अरमठ्ठ भएर बसेको अरमठ्ठे किरा जसरी हलचल नगरीकन बसेका छन्। यो मेरो सरकार, अनि फेरि सोच्छु अनि हेर्छु। म के देख्छु भने बिचौलियाहरू बिभिन्न खोल ओडेर आउँछन्। कोही ब्यापारी, कोही सालासाली, भतिजा भतिजीहरू अनि कोहि चाहिँ पार्टीको मै हुँ भन्नेहरूको विचारधारा र तर्क लादिरहेको देख्छु। म मेरो यो सरकार देखेर आँखाभरि आँशुको ढिका लिएर पिरोलिँदै निस्कन्छु। र, मनमनै भन्छु, ‘कठै ती मेरा सहिद दाजुभाइ दिदीबहिनीहरू, कठै ती निष्ठावान् कार्यकर्ताहरु। अनि मदन भण्डारीका ती सफलता र आदर्शका महावाणि र माओका ती क्रान्तिकारी सिद्धान्तहरू। अनि म फेरि सोच्छु, ‘मैले हार खान्नँ, म एक कम्युनिष्ट हुँ, स्थानीय सरकार मेरो नभए पनि प्रदेश सरकार त छ नि।’

अनि फेरि उही जनताका समस्याका पोको बोकी डिडियो प्रदेश सरकारको कार्यालयतिर। मन फुरुङ्ग बनाई आशाका किरणहरु लिएर अब कुरा सुनुवाई हुनेछ। छलफल गर्नेछौं, मेरा छरछिमेकी, टोलबासी बा र आमा सबैको चाहना र मागहरू पूरा हुनेछन्। मनमा यी कुरा खेलाउँदै पुगें। मन्त्रीज्यू र सचिवज्यूसामु सबै कुराहरू राख्यौँ। कुरा त जटिल र राम्रो रहेछ, राम्रो कुरा उठाउनुभएको छ। तपाईंहरूका यी मागलाई हामी सम्बोधन गर्छौं। वाह, सुन्दा कति आनन्द आउँछ। अनि फेरि सोध्छु, ‘कहिले आउँ होला हामी ?’ जवाफ आउँछ, ‘पर्दैन आउन। हामी सानो मिटिङ राखेर अगाडि बढाउँछौं।’ ३–४ महिना हुँदासम्म अहँ कुराको केही टुंगो लागेको छैन।

स्मरण गराउन फेरि जान्छु। प्रदेश सरकार पनि स्थानीय सरकारजस्तै देख्छु। पार्टीका विशिष्ट व्यक्तिहरू, सांसदहरूका काम पो भटाभट भइरहेका छन्। अनि म र मेरा सहकर्मी फर्कियौं, हामीले थाहा पायौं कि साधारण मानिसका काम सजिलै हुँदैनन्। राजनीतिक परिस्थिति फेरिए पनि प्रणाली उस्तै छ, सोंच उस्तै छ, कार्यशैली र अभ्यास उस्तै छ। जनताले स्थानीय र प्रदेश तहमा कम्युनिष्ट र कांग्रेसबीच फरक देख्दैनन्, आखिर देख्ने परिस्थिति पनि त छैन।

प्रदेशमा पनि सरकार नभेटेपछि म केन्द्रीय सरकार खोज्ने तरखरमा लागें। म काठमाडौंतिर हानिएँ। त्यहाँ मेरो सरकारलाई भेट्न झण्डै १७-१८ लाग्दो रहेछ। मेरो सरकारका मन्त्रीलाई भन्ने अवसर मिल्यो। तर समय अवधि चाहिँ जम्मा ५ मिनेट मात्र। समस्याका पोका थुप्रै थिए। तर, मन्त्रीसँग समय थिएन। सामान्य परिचयमै समय सकियो। स्थानीय तह, जिल्ला र प्रदेशका सबै पोका केन्द्रमै आउँदा मन्त्रीलाई पनि फुर्सद थिएन। अनि मैले सोचें, ‘यही हो त कम्युनिष्ट सरकार, यही हो त मेरो र हाम्रो सरकार ?’

म मदन भण्डारी सम्झन्छु, ‘हिम्मत छ भने राजा श्रीपेच खोलेर प्रतिस्पर्धामा आउ।’ तर, यहाँ त परिस्थिति बदलियो। श्रीपेच नभएकाहरुले नयाँ श्रीपेच लगाए र गद्दीमा बसें। हिजोका मार्क्सवादी चिन्तन र सिद्धान्त आज ज्युँदा छैनन्। उनीहरुको आदर्शले गिज्याइरहेको अनुभूति हुन्छ। कम्युनिष्टले चुनाव त जिते। तर, सिद्धान्तमा हारे। आफ्नो वर्ग भुले। आज उनीहरु दलालको घेरामा छन्। श्रमजीवी वर्ग उनीहरुसम्म पुग्नै सक्दैन। जनताले आफ्ना कुरा राख्नै पाउँदैन। त्यसको तालाचाँबी बोकेर बसेको छ, दलाल नोकरशाही वर्ग।

अवसर इतिहासमा पटकपटक आउँदैन। अनि, बिपत्ति बाजा बजाएर पनि आउँदैन। अहिले नेकपाका लागि राम्रो अवसर थियो, ‘आफ्ना बाचा पूरा गर्ने, जनताका समस्या सम्वोधन गर्ने, भ्रष्टाचार निवारण गर्ने, विकास र समृद्धिको जग बसाल्ने। तर, काम सुस्त, कुरा चुस्तको रोग उस्तै छ। दलालका लागि वाहीवाही बटुलेको सरकारलाई जनताले आफ्नो भन्ने दिन कहिले आउँला ? सरकारले गरीब र कन्दराका दुख कहिले सुन्ला ? म मेरो सरकार खोजिरहेछु। सरकार हराएको सूचना जारी गरिरहेछु।

Comments
Loading...
You might also like