प्रधानमन्त्रीज्यू, ‘पहिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बचाऔं’

Police doctor
सी चीनफिङ घरमै बसेर सरकार चलाएको भए अहिले चीनको हालत के हुन्थ्यो ? यतातिर सोच्नुभएको छ प्रधानमन्त्रीज्यू ? नसोचेको भए सोच्नुस्। भोलि चाहिँ ढिलो भइसक्नेछ।
  • 110.6K
    Shares

मनहरि तिमिल्सिना। बुधबार दिउँसो सामाजिक सञ्जालमा एउटा सन्देश भाइरस भयो। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित सन्देशमा लेखिएको थियो, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईहरु पनि घरमै बस्नुहोस्।’ यो सन्देश प्रधानमन्त्रीले आफ्नै विवेकले बनाए कि सचिवालयले ? तर, जसले बनाए पनि सन्देशमा सरकारको गैरजिम्मेवारी झल्किन्छ।

गत सोमबारदेखि देशभरि लकडाउन छ। सरकार भन्छ, ‘साबुनपानीले हात धुनुस्।’ तर, धारामा पानी छैन।’ सरकार भन्छ, ‘गुणस्तरीय सेनिटाइजर प्रयोग गर्नुस्।’ तर, बजारमा सेनिटाइजर पाइँदैन। सरकार भन्छ, ‘सर्जिकल मास्क लगाउनुस्।’ तर, बजारमा मास्क भेटिँदैन। सरकार भन्छ, ‘ग्याँस सकिए यी नम्वरमा फोन गर्नुस्।’ फोन गर्‍यो, फोन उठ्दैन। सरकार भन्छ, ‘समस्या परे स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुस्।’ तर, स्वास्थ्यकर्मीकहाँ पुग्दा उनीहरु नै त्रसित छन्। अनि सरकार भन्छ, ‘म घरबाट देश चलाउँछु। तपाईहरु घरमै बस्नुस्।’

छिमेकी मित्रराष्ट्र चीनले चैत्र ३ गते नै नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको थियो। चिनियाँ दूतावासमार्फत् चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको थियो। ‘नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तत्पर छौं’ चीनले भनेको थियो।

चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको थियो। त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ। तर, सरकार जिम्मेवार नहुँदा मास्कबाहेक चीनबाट आउने अत्यावश्यक सामान, मेडिकल टीमसहितको जहाज आजसम्म नेपाल आइपुगेको छैन र यही हालतले छिटै आउला भन्न पनि सकिँदैन।

उता इराकले भने चीनले भन्नेवित्तिकै आफ्नो प्रक्रिया पूरा गरी चीनबाट मेडिकल उपकरण मगायो। इराकी राजधानी बग्दादमा चिनियाँ दूतावासमा एक समारोहबीच चिनियाँ टोलीका प्रमुख ताओ झोंगक्वानले चीनबाट पठाएको प्रयोगशालाका उपकरण र चिकित्सा सामग्री बग्दादको मेडिकल सिटी सुविधाका महानिर्देशक हसन अल तामिमीलाई हस्तान्तरण गरेका थिए।

इराकले ३ सय शय्याको उपचार केन्द्र पनि निर्माण गर्ने जनाएको छ। त्यहाँ रहेको चिनियाँ टोलीले इराकी स्वास्थ्यकर्मीलाई भाइरसको उपचार तथा रोकथामका सम्बन्धमा तालिम प्रदान गर्नेसमेत बताइएको छ। चीनले मार्च ७ मा मेडिकल विशेषज्ञको टिम इराक पठाएको थियो। सो टोली एक महिनासम्म इराकमा रहने बताइएको छ। त्यही काम इराकले तुरुन्त गर्ने तर नेपालले नगर्ने किन ? के ईच्छाशक्ति भएमा नेपालले चीनबाट २४ घण्टामा सामान ल्याउन सक्दैन ?

सम्भावित जोखिमबाट नागरिक बचाउन स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन्। तर, उनीहरुको पीडा सरकारले सुन्दैन। अहोरात्र नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सक, नर्स र स्वास्थ्य प्राविधिकसँग मुखमा लगाउने सामान्य मास्क छैन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई आवश्यक जाँचपछि अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो। त्यसपछि उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। तर, संयोगवश उनमा कोरोना पोजिटिभ देखिएन। देखिएको भए के हुन्थ्यो ? सरकारले यसबारे सोच्न जरुरी छैन ?

विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मीसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले सुरक्षा कवच पिपिई उपलब्ध गराउन माग गरेका छन्। व्यक्तिगत सुरक्षात्मक उपकरण अर्थात् पिपिई, संक्रमित तथा आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिन्छ। संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई पिपिईको खाँचो पर्छ। मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ।

स्वास्थ्यकर्मी नै हुन्, जो बिरामीको सिधा सम्पर्कमा आउँछन्। बिरामी निको नभएसम्म चिकित्सक तथा स्वास्थ्यकर्मी उनीहरुको लामो सम्पर्कमा रहनुपर्छ। जसलाई कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी जोखिम र खतरा छ, ती चिकित्सक नै हुन्। त्यसैले कोरोनाको संक्रमणबाट बच्न पिपिई स्वास्थ्यकर्मीका लागि सुरक्षा कवज नै हो। तर, नेपालमा अहिले पिपिईको अभाव छ।

स्वास्थ्यकर्मी मात्र होइन, सुरक्षाकर्मी पनि कोरोनाको उच्च जोखिममा छन्। उनीहरु रातदिन ड्युटीमा खटिएका मात्र छैनन्, यात्रुहरुको भीडभाड रोक्न र लकडाउन लागू गराउन पनि उनीहरु उत्तिकै सक्रिय छन्। तर, तिनै सुरक्षाकर्मीको मुखमा मास्क छैन, हातमा पञ्जा छैन। सुरक्षाकर्मीले पिपिई पाउन सकेका छैनन्। सरकारले यसबारे खासै गम्भीर चासो देखाएको देखिँदैन। कसैले लकडाउन उल्लंघन गरे पनि सुरक्षाकर्मीले छुनेसम्म हिम्मत गर्दैनन्। गरुन् पनि कसरी ? आफ्नै ज्यान सबैभन्दा जोखिममा राखेर कसैले पनि उच्च मनोबलका साथ काम गर्न सक्दैन।

कालोबजारीले नेटो काटेको छ। १५०० मा चाहिने चामल ६००० सम्म बेच्न थालिएको छ। बजारमा मास्क पाइँदैन। पाइहाले ५ रुपैंयाँको मास्क २०० देखि ३०० सम्म पर्छ। ग्यासको आपूर्ति सहज भनिएको छ। तर, बजारमा ग्याँसको अभाव छ। आपूर्तिमन्त्री लेखराज भट्ट एक्लै खटेका छन्। तर, उनलाई साथ दिने दोस्रो मन्त्री कोही छैन। स्वास्थ्यमन्त्रीको त मनोबल नै गिरिसक्यो। उनीबाट स्वास्थ्यकर्मी र नागरिकले कुनै आशा गर्न छोडिसकेका छन्। उच्चस्तरीय समन्वय संयन्त्रका संयोजक उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्देशन दिएर घर फर्किन्छन्। अरु मन्त्री कता छन्, कुनै पत्तो छैन। प्रधानमन्त्री चाहिँ घरमै बसेर फेसबुके सन्देश पठाउँछन्।

चीनले कोरोना महामारीविरुद्ध लगभग विजय हासिल गरिसकेको छ। तर, त्यो सफलता घरमै बसेर सरकारले चलाएका कारण प्राप्त भएको हो। कोरोना भाइरसको त्रासदीपूर्ण संकटपछि राष्ट्रपति सी चीनफिङ आफै बुहानमा पुगे। उनले प्रत्येक स्वास्थ्यकर्मी र नागरिकको बलियो अभिभावक भएर आफ्नो कठोर अग्निपरीक्षा पूरा गरे। संकटमा नागरिकको साथ छु भन्ने कथनी होइन, करनीको सन्देश दिए। त्यसकारण चीनले कोरोनालाई जित्यो।

चीनले स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी पठाउँछौं भनिरहेको छ। तर, नेपाललाई ल्याउन के कारणले रोक्यो, कि कमिसनको सेटिङ मिलेन ? नेपालको कर्मचारीतन्त्रको कागजी प्रक्रिया पूरा गरिसक्दा संक्रमण भइहाले भयानक क्षति हुनसक्छ। यस्तो बेला ‘फास्ट ट्रयाक’को माध्यमबाट सामान ल्याउन कसले रोक्यो ? के यसबारे सरकारले नागरिकलाई जवाफ दिनु पर्दैन ? लकडाउनका बेला सरकार यसरी नै निदाउने हो भने पशुपतिनाथले मात्रै हामीलाई बचाउन सक्ने छैनन्।

विदेशमा लाखौं नेपाली अलपत्र परेका छन्। संघीय र प्रदेश सरकारका मन्त्रीहरु क्वारेन्टाइन घोषणा गर्न व्यस्त छन्। तर, तीन क्वारेन्टाइन सीमा नाकामा बनिरहेका छैनन्, जंगल जंगलमा लगेर क्वारेन्टाइन राखिएको छ। सीमा नाकामा विदेशबाट आएका नेपालीहरु चित्कार गरिरहेका छन्। तर, सरकारसँग ज्वरो नाप्ने उपकरणसमेत छैन। उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरिँदा संक्रमण गाउँ–गाउँसम्म पुगेको छ। सरकार कहाँ छ ? जनताले सरकार खोजिरहेका छन्।

देशभरि लकडाउन छ। ज्यालादारी मजदूरहरु छाक टार्ने सन्त्रासमा छन्। तर, केन्द्र, प्रदेश र स्थानीय तहसम्मका सरकार निदाएका छन्। लकडाउनको अर्थ प्रधानमन्त्री चुकुल लगाएर घरमा बस्नु होइन, मन्त्रीहरु फोन अफ गरेर टाप ठोक्ने होइन। यो बेला उनीहरु अस्पतालमा कार्यरत डाक्टर, सुरक्षामा खटिएका सुरक्षाकर्मी र विपदमा परेका नागरिकको उद्दारमा लाग्नुपर्छ। सी चीनफिङ घरमै बसेर सरकार चलाएको भए अहिले चीनको हालत के हुन्थ्यो ? यतातिर सोच्नुभएको छ प्रधानमन्त्रीज्यू ? नसोचेको भए सोच्नुस्। भोलि चाहिँ ढिलो भइसक्नेछ।