स्थायी समिति बैठक नबाेलाए कठाेर कदम चाल्छौं : वेदुराम भुसाल (अन्तर्वार्ता)

  • 373
    Shares
0

काठमाडौं, १४ वैशाख। नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. बेदुराम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा बैठक बोलाउनुपर्ने बताउँछन्। बैठकमै ओलीले आफूमाथि लागेको आरोपको सामना गर्नुपर्ने उनको भनाई छ। डा. भुसालसँग नेकपाको आन्तरिक विवादको विषयमा गरिएकाे कुराकानी।

प्रधानमन्त्रीले त स्थायी समितिको बैठक नबोलाउने संकेत गर्नुभएको तपाईंहरु के गर्नुहुन्छ ?

विधानअनुसार हुने बैठक नबोलाउने कुरै आउँदैन नि।

उहाँले त अहिले नै बैठक नबोलाउँ पहिला प्रधानमन्त्रीमा म सुनिश्चित हुनुपर्छ भन्नुभएको छ नि ?

त्यो उहाँको कुरा होला तर हाम्रो स्थायी कमिटि बैठक बस्नुपर्छ भन्ने हो।

स्थायी समिति बैठकमा तपाईंहरुको एजेन्डाहरु के के छन् ?

त्यो बैठकमा यो सरकार बनिसकेपछि यताका सबै कामको समीक्षा हुन्छ । त्यसपछि हामी कसरी अगाडि बढ्छौं भन्ने विषयहरुमा छलफल हुन्छ।

तपाईंंहरु चाहीं कसरी अगाडि बढ्नु हुन्छ ?

यो त बैठकमा छलफल भइसकेपछि मात्रै थाहा हुन्छ।

यदि प्रधानमन्त्रीले बैठक बोलाउनुभएन भने तपाईहरुसँग विकल्प के छ ?

अर्का अध्यक्ष हुनुहुन्छ नि। हामीसँग दुईवटा अध्यक्ष हुनुहुन्छ।

केपी शर्माले मान्नु भएन भनेपनि उहाँले बैठक बोलाउनुहुन्छ ?

बोलाउनु पर्यो नि। त्यो नहुने भए दुईवटा अध्यक्ष किन बनाएको त ? एउटा अध्यक्षले काम नगर्दा अर्का अध्यक्षले पनि नगर्ने हो भने दुईवटा अध्यक्ष रहेको औचित्य भएन नि।

केपी ओलीले त अन्तिम अवस्थासम्म पनि सामना गर्छु भन्नुभएको छ नि ?

उहाँले सामना गर्ने बैठकमै हो नि बाहिर हो र ? बैठक बसालेर कुरा गर्नुपर्यो। साथीहरुको चित्त बुझाउनुपर्यो।

हिजो वामदेव गौतमले राजीनामा दिनुपर्छ भन्नुभयो नि ?

वामदेव गौतमले भन्नेबित्तिकै सबै कुरा हुने होइन नि। बैठक बसेर छलफल गर्नुपर्यो। त्यो बैठकले जुन निर्णय गर्छ त्यसको आधारमा अगाडि बढ्ने हो।

वामदेवले त राजीनामा दिनुस् पार्टीले निर्णय गर्छ भन्नुभयो नि ?

त्यो त वामदेवले न भन्नुभयो। त्यो वामदेवको मत अरुको मत के हुन्छ के थाहा। त्यसैले बैठक बसेर छलफल गरिसकेपछि थाहा हुन्छ।

त्यसो भए पार्टी अध्यक्ष र सरकारबाट केपीलाई अटाउने सम्भावना छैन ?

त्यसै हटाउने नहटाउने कुरा नगरौं न। बैठक बसेर छलफल गरेर जे निर्णयमा पुगिन्छ त्यही अनुसार अगाडि बढ्ने हो। हटाउन, नहटाउने, राख्ने नराख्ने सबै कुरा बैठकको छलफलमा हुन्छ। बाहिर सडकमा हुने कुरा होइन।

प्रधानमन्त्रीले त मलाई हटाएर कसलाई बनाउनुहुन्छ ? त्यो सम्भवै छैन भन्नुभयो नि ?

त्यस्ता कुरा बैठकमा आएर भन्नुपर्यो उहाँले । बाहिर सडकमा गएर गर्ने होइन।

हिजो उहाँले नेताहरुलाई बालुवाटारमा बोलाएर भन्नुभयो नि ?

त्यो कुरा बालुवाटारमा बसेर पनि भन्ने होइन। धुम्बाराही पार्टी कार्यालयमा आएर भन्नुपर्छ।

प्रधानमन्त्री धुम्बाराई आउनुभएन भने के गर्नु हुन्छ ?

पार्टीका बारेमा कुरा गर्दा पार्टी कार्यालयमा गर्नुपर्छ। त्यो धुम्बाराहीमा छ। त्यसैले उहाँ धुम्बाराही आउनुपर्छ। सरकार पनि पार्टीको निर्देशन अनुसार चल्नुपर्यो नि।

सरकार पार्टीको निर्देशन अनुसार चलेको छैन ?

अहिले चलेको छैन। त्यसैले हामीले पार्टी कार्यालयमा बैठक बसौ, छलफल गरौं। पार्टीहो नीति र निर्देशन अनुसार चल्नुपर्यो भनेर बैठक बस्ने माग गरेका हौं।

प्रधानमन्त्रीले पार्टीको भनाइअनुसार काम गरेको छु भन्नुभएको छ नि ?

उहाँले के के मान्नुभएको छ, के के मान्नुभएको छैन त्यो हामी बैठकमै कुरा गर्छौं। उहाँले भनेर अस्ति अध्यादेश ल्याउँदा कहाँ पार्टीबाट निर्णय भएर आएको हो र ? अध्यादेशको बारेमा सचिवालयका साथीहरुसँग बैठक चल्दाचल्दै राष्ट्रपति कार्यालयबाट पारित गरिहाल्नुभयो उहाँले त्यो कहाँ पार्टीको निर्णय हो। अहिले पार्टीको निर्णय अनुसार केही काम भएको छैन, त्यही हुनुपर्छ भनेर हामीले बैठक बोलाएको हो।

कहिलेसम्म बैठक बोलाउनुहुन्छ ?

नियम अनुसार १५ दिनभित्र बैठक बोलाउनुपर्छ। त्यो मितिभित्र बोलाउनुभएन भने त्यसपछि हामी कदम चलाउँछौं।

त्यो कदम के हुन सक्छ ?

त्यो पछि नै हुन्छ, तपाईंलाई अहिल्यै भन्दिँन। (रिपोर्टर्स नेपालबाट)

64
SHARES

Comments
Loading...
You might also like