विप्लवको शैक्षिक हडतालले पढाइमा अवरोध

  • 11
    Shares
0

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले शैक्षिक हडतालले पढाइमा अवरोध आएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन आह्वान गरेको शैक्षिक हड्तालका कारण बुधबार मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाको पढाइ ठप्प भएको हो ।

बन्द हड्तालबाट केही समयदेखि मुक्ति पाएका विद्यालय सञ्चालक, विद्यार्थी तथा अभिभावकले बुधबारको बन्दबाट सास्ती पाएका छन् । स्कुल तथा कलेजमा पढिरहेका ८० लाख विद्यार्थी हड्तालबाट प्रभावित भएका छन् । शैक्षिक सत्रको अन्तिम भएकाले विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विक तथा अन्य कार्यकर्तालाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल गरिएको क्रान्तिकारीले बताएको छ ।

संविधानको धारा ३१ मा शिक्षालाई नागरिकको मौलिक हकको रूपमा समावेश गरेको छ । ग्रामीण भेगका विद्यालयमा पढाइ भए पनि सहरी क्षेत्रमा भने पूर्णरूपमा पढाइ अवरुद्ध भएको छ । क्रान्तिकारीले शैक्षिक हड्ताल भन्दै मंगलबार विज्ञप्ति सार्वजनिक गरेकै भरमा विद्यालय बन्द भएका हुन् । विगतमा सरकारको विरोध गर्नुपर्‍यो भने नेपाल बन्दको कार्यक्रम गर्दै आएका संगठनले प्रभाव बजारमा देखाउन नसकेपछि बन्द निस्प्रभावी बन्ने गरेको थियो । तर बन्दको अवज्ञा गर्दै स्कुल तथा कलेज खोलेमा जुनसुकै बेला पनि आक्रमणको निशानामा गर्न सकिने भएका कारण पढाइ बन्द भएको हो ।

बन्दलाई प्रभावकारी बनाउन सजिलो माध्यम भएकाले पछिल्लो समय आन्दोलनकारीले शैक्षिक हड्ताललाई आन्दोलनको मुख्य अस्त्र बनाउने गरेका छन् । बुधबार अधिकांश शैक्षिक संस्थाले फेसबुक पेजमा प्राविधिक समस्याका कारण पठनपाठन बन्द गरिएको सूचना अभिभावक तथा विद्यार्थीलाई दिएका थिए । कतिपय स्कुल तथा कलेजले फोन र सन्देशमार्फत पनि बुधबार पढाइ नहुने जानकारी गराएका थिए । केही विद्यालयमा कक्षा ११ र १२ को प्रिबोर्ड परीक्षा सञ्चालन भइरहे पनि बन्दका कारण रोकिएको छ ।

पटक पटक संविधानले नै दिएको अधिकार हनन् हुँदा पनि राज्य गम्भीर नबनेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल बार एसोसिएसनको मानवअधिकार तथा जनसरोकार समितिले संविधानमै व्यवस्था भएको अधिकारको सम्मान गर्न आन्दोलनरत सबैलाई अनुरोध गरेको छ । समितिका अध्यक्ष सुनिल पोखरेलले जारी गरेको विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र मानी आगामी दिनमा कुनै पनि प्रकारको बन्द हड्ताल नगर्न अनुरोध गरिएको छ ।

Comments
Loading...
You might also like