रोल्पामा लगानी सम्मेलन : कुन-कुन विषयमा भयो सहमति ?

  • 60
    Shares
0

काठमाडौं, १६ फागुन । रोल्पामा भएको लगानी सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीका लागि छुट्टाछुट्टै सहमति भएको छ। कृषि, उद्योग, पर्यटन तथा जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि छुट्टाछुट्टै सहमति भएको हो।

अब रोल्पाका खेतबारीमै पुगेर गोल्यान समूहले जडिबुटी, बिउबिजन, आलुलगायतका कृषि उपज बजरसम्म पुर्‍याउने भएको छ। त्यस्ता वस्तु उत्पादन गरिरहेका किसानलाई आर्थिक लगानी गर्ने तथा रेशम र अल्लोजस्ता बस्तुको बजार पहुँच वृद्धि हुने भएको छ। त्यस्तै नेपाल बैंक लिमिटेडले उक्त सम्मेलनमा कृषि, जडिबुटी तथा पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल बैंक र रोल्पा नगरपालिका तथा माडी गाउँपालिकाबीच छुट्टाछुट्टै सहमति पत्रमा हस्ताक्षर भएको छ।

बैंकले स्थानीय तहसँगको समन्वयमा कृषि, जडिबुटी र पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने छ। लगानी सम्मेलनकै क्रममा दुई मेगावाटको धाङसीखोला जलविद्युत आयोजना निर्माण गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ। उक्त जलविद्युत आयोजना रोल्पा नगरपालिका र उद्योग बाणिज्य संघ रोल्पाले मिलेर बनाउने भएका हुन्। रोल्पाको घर्ती गाउँमा रहेको रोल्पा सिमेन्ट प्रा.लि.ले पनि आफ्नो उत्पादनमा वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ। सम्मेलनमा रोल्पा सिमेन्टका अध्यक्ष अरुण कर्णले दैनिक उत्पादन ४० हजार बोरा पुर्‍याउने घोषणा गरे।

हाल रोल्पा सिमेन्टले दैनिक ८ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उनले जानकारी दिए। यस्तै सिमेन्टले रोल्पालीलाई रोजगारीमा प्राथमिकता दिने तथा जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ। रोल्पा नगरपालिका, उद्योग बाणिज्य संघ रोल्पा र हरियाली कृषि अभियान म्याग्दीबीच सदरमुकाम लिवाङमा एकीकृत कृषि फर्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

त्यस्तै १५६ मेगावाटको माडीखोला जलासययुक्त आयोजनाले जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ। कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले रोल्पालीका लागि न्यूनतम शुल्कमा सेयरको घोषणा गर्ने जानकारी दिए। मन्त्री पुनले रोल्पा विगतमा १० वर्षे जनयुद्धको केन्द्र रहेको चर्चा गर्दै पछिल्लो १२ वर्ष शान्तिको केन्द्र बनेको र अब उत्पादन र व्यवसायको केन्द्र बनाइने घोषणा गरे।

‘हिजो रोल्पा जनयुद्धको केन्द्र थियो। बीचमा १२ वर्षजति शान्तिको केन्द्र बन्यो’, मन्त्री पुनले भने, ‘अब हामी रोल्पालाई उत्पादन र व्यवसायको केन्द्र बनाउँछौं।’ उनले लगानीको सुरक्षा र व्यवसाय प्रवर्द्धनमा राजनीतिक नेतृत्वको तर्फबाट सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।

सम्मेलनमा पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश ५ का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन, जिल्लाका सबै स्थानीय तहका प्रमूख र उपप्रमूखलगायतको सहभागिता थियो।जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’को अग्रसरतामा भएको सो सम्मेलनमा यस्तो प्रतिबद्धता भएका हुन्।

Comments
Loading...
You might also like