‘गाउँ आएकाहरु शहर नफर्किने प्रण गरौं’

  • 744
    Shares
0

निरु आचार्य ‘नवरश्मी’

पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ। यसै सन्दर्भमा शहरी क्षेत्रबाट ‘गाउँ फर्क अभियान’ सुरु भएको छ। स्कुल कलेजहरु लामो समयका लागि बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु, आर्थिक मन्दीको अवस्था सिर्जना हुनुले मानिसलाई ‘गाउँ फर्क अभियान’ सिर्जना गरेको छ।

कोरोना भाइरसको प्रभाव देखिनु आफैमा खराब भए पनि दुखद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभूमि सम्झेर फर्किनु केही हदसम्म सकारात्मक लिन सकिन्छ। मानिसहरुले व्यवस्थापन गर्न नसकेको अवस्थामा प्रकृतिले व्यवस्थापन गर्न बाध्य हुने प्राकृतिक नियमलाई कोही कसैले चाहेर पनि रोक्न र छेक्न सकिँदैन। समय समयमा हुने प्राकृतिक विपत्तिहरु जस्तैः भूकम्प, बाढी, डेङ्गु जस्ता महामारीले बस्नका लागि योग्य ठाउँ पहाड र हिमाल हुन् भन्ने सन्देश प्रवाह गरेको छ।

उपत्यका र तराई क्षेत्र कृषि उत्पादनका हिसाबले उपर्युक्त तथा हिमाल र पहाड मानव बसोबासको हिसाबले उपर्युक्त ठाउँ हो भन्ने सन्देश नेपाल एकीकरणको समयमै पृथ्वीनारायण शाहले बताइसकेका थिए। भुइँचालो आए गाउँ, कुनै मन्दी लागे गाउँ, माहामारी लागे गाउँ, चाडपर्व आए गाउँ, फेरि किन घमण्ड गर्छन् मानिसहरु ? शहरमा यति तले घर यति आना जग्गा छ भन्दै किन फूर्ति लगाउँछौं ? खुशी अनि आपतविपतमा सम्झिने त गाउँ नै रहेछ।

मनमोहन अधिकारीले सञ्चालन गरेको ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने अभियान आजको दिनमा पनि समय सान्दर्भिक बनेको छ। हामी बाल्य जीवन बिताइरहेको बेला तराई, मधेश खेतीपातीका लागि योग्य ठाउँ हो, त्यसैले आवासीय हिसाबले पहाड नै उपर्युक्त छ भन्ने प्रचलन आज ठिक विपरीत दिशातर्फ लम्किरकेको छ। तर आज मानिसहरु क्षणिक भौतिक सेवा तथा सुविधाका लागि हिमाल र पहाडलाई खाली बनाएर खेतीयोग्य जमिन बाँझो बनाएर तराई र उपत्यकामा बसाई सरिरहेका छन्। यो आफैमा प्राकृतिक नियम विपरीतको कार्य हो। त्यसैले जति पनि दाजुभाइ तथा दिदीबहिनीहरु गाउँ फर्किसक्नुभएको छ र फर्किने शुरमा हुनुहुन्छ भने गाउँमै स्वरोजगार कसरी बन्ने ? हाम्रा बाँझिएका जमिनहरुको कसरी ब्यवस्थापन गर्ने ? भन्ने विषयमा बहस चलाउनु आवश्यक छ।

स्यालको खेदाइमा चल्लाहरुले माउको पखेटामा घुस्रिएर आफूलाई सुरक्षित महशुस गरेजस्तै पुर्खाले जोडेको, हाल बाँझिएको जग्गा र जन्मघरलाई सम्झिएर गाउँघर फर्कनु, सुबिधासम्पन्न अस्पताल भएको राजधानी र ठूला ठूला शहर छोडेर मातापिताको काख र जन्मघर सुरक्षित लाग्दो रहेछ। अनि हामी सबैमा महशुस भएको छ, व्यवहारमा सबैको परिवर्तन आएको छ।

हात खुट्टा धुने, सफा हुने, भीडभाडमा नजाने, धेरै मानिस जम्मा नहुने, मास्क लगाउने जस्ता राम्रा बानीहरु पनि यही महामारीले सिकाएको छ। यसले गर्दा दिनहुँ जम्मा भई गफ गर्ने, एक जनाले कुनै काम गर्दा मानिसहरु जम्मा भई हेरेरै दिन बिताउने हामी नेपालीहरुको बानी सुधार्न यो एक अवसर पनि हो। साथै कमाइको केही हिस्साले जन्मस्थान सिगार्ने प्रण गरौं, भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं भन्ने सन्देश पनि यही महामारीले दिएको छ।

Comments
Loading...
You might also like