अनौठो पाण्डुकेश्वर गुफा जानको लागि पर्यटन पदमार्ग निर्माण

  • 85
    Shares
0

थम्मन थापा/ बागलुङ, १५ चैत। गलकोट नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र हो। गलकोट नगरपालिकामा धेरै यस्ता महत्वपूर्ण स्थलहरु छन्। विस्तारै पूर्वाधार विकाससँग सँगै प्रचार प्रसार हुन थालेपछि अहिले आन्तरिक पर्यटकहरुको समेत यी स्थानहरु रोजाइमा परेका छन्।

यसै मध्यको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो गलकोट नगरपालिका ७ र ९ को सीमाना न्याय खोलामा अवस्थित पाण्डुकेश्वर गुफा। पाण्डुकेश्वर गुफा आफैमा विचित्र खालको गुफा रहेके छ। यसको आफनै धार्मिक एवं ऐतिहासिक महत्व छ। परापूर्वकालमा यस गुफामा बालाचतुर्दशीमा श्रदालु भक्तजनहरुको घुँइचो समेत हुने गर्दछ। यस गुफा भित्र विभिन्न प्रकारका कलात्मक आकारहरु देख्न पाइन्छ।

यहाँ मानिस जादा जति मानिस जान्छन त्यति नै पानीका लहराहरु झर्ने गर्दछन्। गाईका थुन, सर्पको जस्तो आकारहरु गुफा भित्र देख्न पाइन्छ भनें गुफामा पूजा आजा पनि गर्ने प्रचलन छ। पाण्डुकेश्वर गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले गलकोट नगरपालिकाले पहल थालेको छ। गलकोट नगरपालिका वडा नम्बर ९ ले बाँसखोला विशारे बुटादेखि गुफासम्म पदमार्ग निर्माण गरेको छ।

झण्डै साढे २ किलोमिटर पदमार्ग निर्माणको लागि वडा नम्बर ९ ले ५ लाख खर्च गरेको वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दिए। वडा अध्यक्ष थापाका अनुसार पहिले साँघुरो र निकै अफ्ठ्यारो गोरेटो बाटोमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता पदमार्गको निर्माणसँगै हटेको छ। मध्यपहाडी लोकमार्गसँग जोडिएको बाँसखोलादेखि माथि गाउँसम्म कच्ची सडक पुगेको छ।

अब गुफा नजिकसम्म सडक पुराउन वडाले आवश्यक तयारी समेत गरिरहेको वडा कार्यालयले जनाएको छ। यता, पाण्डुकेश्वर गुफासम्म पुग्न गलकोट नगरपालिका वडा नम्बर ७ मल्मले समेत पदमार्ग निर्माण गरेको छ। आर्थिक वर्ष २०७५/०७६ को २ लाखमा पाण्डुकेश्वर गुफादेखि टिमले चौर र ०७६/०७७ को २ लाख रकमबाट टिमलेचौर देखि सिद्वेश्वर शिवालय मन्दिर सम्म झण्डै २ किलोमिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए।

गुफासम्म पुग्न बाटो अफ्ठ्यारो र जोखिमपूर्ण भएकोले जान आउन समेत कठिन रहेकोमा अब भने सहजता भएको अध्यक्ष थापाको भनाइ छ। गुफा नजिक झण्डै ५० मिटर बाटो अहिले पनि निकै अफ्ठ्यारो छ । त्यसलाई आगामी आर्थिक वर्षमा गलकोट नगरपालिकासँगको सहकार्यमा रेलिङ सहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए। गुफाको नजिक झरना समेत रहेको हुँदा त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई रमाउन थप सुविधा प्रदान गरेको छ। मल्म पाण्डवखानी सडकको यात्रा पछि नाँच्ने डाँडामा पुगेपछि पाण्डुकेश्वर गुफा पुग्न करिव १० मिनेटको पैदल यात्रा गर्नुपर्दछ।

Comments
Loading...
You might also like