‘युवा साथीहरु, विपत्तिमा आँखाको नानी बनौं’

  • 344
    Shares
0

दलजीत श्रीपाली

युवा तथा खेलाडीहरु, यो देश हाम्रै हो। देश र जनताको बढी माया हामीलाई नै छ। प्राकृतिक प्रकोप र महामारी रोगले आफन्त र पराई, बालक–बृद्ध, गरीब–धनी भनेर छुट्याउँदैन। ‘मेरो देशमा आउँदैन, अरु देशमा आउँछ, म बाँच्छु, ऊ मात्र मार्छुु’ यसले भन्दैन। शक्तिशाली राष्ट्रदेखि अल्पविकसित राष्ट्रहरु सबैमा कोरोना भाइरस (कोभिड–१९) को आतंक छ, संकट छ, खतरा छ। कोरोना भाइरसविरुद्ध विश्वका सबै राष्ट्र, मानव समुदाय एकजुट भई लडनुपरेको छ र जित्नै पर्नेछ।

विश्वव्यापी महामारी कोरोना भाइरस विरुद्धको महाअभियानमा स्वदेश र विदेशमा रहनुभएका करीब एक करोड सात लाखभन्दा बढी युवाहरु र देशका गहना भनि पहिचान बनाएका खेलाडीहरुले साथ दिन आवश्यक छ। सामजिक दुरी कायम गर्ने, होम क्वारेन्टाइनमा रहने, विदेशबाट हवाइ तथा पैदल यात्राबाट नेपाल आउनेहरु सबैलाई क्वारेन्टाइनमा राख्ने, लकडाउन सफल पार्ने, बिरामीका लागि औषधी, सामग्रीहरु उपलब्ध गराउने, जनचेतनामूलक सुरक्षाका उपायहरु, मास्क लगाउने, सेनिटाइजर, साबुन पानीले हात धुने कुराहरु सिकाउने काममा युवा तथा खेलाडीहरुले सक्रियता देखाउनुपर्छ।

खाद्य, औषधी, आर्थिक समस्याहरु समाधान गर्न सहयोगी हातहरु फैलाउनुपर्छ। देशको संकट हटाउन र जनतालाई राहत दिने चुनौतीपूर्ण अवसर प्राप्त भएको छ। सरकारको मुख ताकेर मात्र पुग्दैन। सरकारका यससम्बन्धी योजनाहरुलाई सफल पार्न समर्थन र सहयोग गर्नुपर्छ।

रोग प्रकोप एक हप्तामै नियन्त्रण हुन्छ र लकडाउन खुल्छ भन्ने केही ग्यारेन्टी छैन। महामारी कोरोना एउटा राष्ट्रबाट समाप्त भएर हुँदैन। यो त विश्वव्यापी विषय हो। कोरोनाबाट विश्व नै मुक्त हुनुपर्छ। तब मात्रै विश्व मानव समुदाय नाफाको जीवनमा खुशी मनाउनेछन्। त्यसकारण युवा तथा खेलाडीहरुले तत्कालीन र दीर्घकालिन योजनाका साथ देश र जनतालाई बचाउनेतर्फ लाग्नुपर्छ।

मृत्युलाई जित्ने मनोविज्ञान युवा तथा खेलाडीहरुमा अलि बढी नै हुन्छ। उच्च सतर्कताका साथ आफू पनि बाँच्दै र अरुलाई बचाउने उपाय सर्वप्रथम क्वारेन्टाइन नै हो। यसका लागि देशैभरि रहेका रंगशाला, कवर्ड हल, अफिसहरुलाई क्वारेन्टाइन स्थल बनाउन सकिन्छ। प्रयोगमा नआएका उद्योग, कलकारखाना, सरकारी, प्राइभेट, पब्लिक योजनामा निर्मित भवनहरुलाई क्वारेन्टाइन बनाउन सकिन्छ। युवा तथा खेलाडीहरुको ध्यान जान आवश्यक छ। उद्दार र राहत कार्यमा युवा तथा खेलाडीहरुको सक्रियता प्राथमिकताको विषय हुनुपर्छ।

श्रमिक तथा आश्रितहरु सबैलाई कम्तीमा तीन महिनाको लागि खाद्यान्नको व्यवस्था र घरभाडा फ्रि गरिदिने, घर, उद्योग पसल भएकाहरुलाई बिजुली र पानीको शुल्क मिनाह गरिदिने, सरकारी कर नलिने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने, उद्दार र राहतमा अहोरात्र खटिने सबैलाई सरकारबाट प्रोत्साहन र प्रशंसा व्यक्त गर्ने, विदेशबाट आएका सहयोगहरु एकद्वार प्रणालीबाट लागू गर्ने सरकारको नीति हुनुपर्छ। किनकि यो राष्ट्रिय संकटको घडी हो। यो सरकारको यतिबेला गर्नुपर्ने काम नै हो।

जनताहरुलाई बचाउने राज्यको जिम्मा हो, जनताहरु आफै पनि सावधानी बन्नुपर्छ। साथ र सहयोग संकटकै बेला हो। सहयोग गर्ने, गडबडमा सचेत पार्ने, अनुगमनमा सक्रिय रहने, देश र जनताका निम्ति आँखाका नानी र मुटुका ढुकुढुकी हुन् युवा तथा खेलाडीहरु। जनतालाई संकट परेको बेला कान बुझेर, आँखा चिम्लेर, हातमा दही जमाएर, कोठाभित्र आफू मात्रै बाँच्ने सपना लिएर नबस्नुस् युवा तथा खेलाडीहरु। किनकि देश र जनताहरुले संकटको बेला तपाईलाई खोजिरहेका छन्, अन्ततः देश र जनताको जिम्मा तपाईहरुकै काँधमा छ।

(पूर्वमन्त्री दलजीत श्रीपालीको फेसबुक वालबाट।)

Comments
Loading...
You might also like