कोभिड–१९ : शक्ति र सभ्यताकाे नयाँ केन्द्र एसिया !

  • 1.1K
    Shares
0

डा. भीमलाल गौतम

सन् २०१९ को अन्तसँगै छिमेकी राष्ट्र चीनको वुआनमा देखिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ ले आज संसारको तीन चौथाई मुलुकमा खैलाबैला मच्चाएको छ। सुरुमा चीनको मात्रै टाउको दुखाइ भएको यो महामारीलाई विश्व स्वास्थ्य संगठनले पनि त्यति गम्भीर रुपमा लिएन। रुस, उत्तर कोरिया जस्ता मुलुकले सुरुमै चीनसँगको आफ्नो सीमाना बन्देज लगाएर यसको नियन्त्रण गर्न सफल भए। चीनपछि इटालीमा यो भाइरस देखिँदा युरोपियन युनियनका राष्ट्रहरुले मतलब राखेनन्। स्वयं इटालीमा जनताहरुले पनि सरकारका नीति नियमहरुलाई नमानेर सडकमा खुल्ला रुपमा हिँडे, जसको परिणाम इटलीमा आज कोभिड–१९ ले सबैभन्दा बढि क्षतिग्रस्त मुलुक बन्न पुगेको छ।

अमेरिका र खासगरी ट्रम्प प्रशासनले सुरुमा यसलाई सुन्न पनि चाहेनन्। पछि ट्रम्पले रिसको झोकमा यसलाई ‘चाइनिज भाइरस’ भन्ने काम पनि गरे। तर अन्त्यमा यसले स्वयं अमेरिकालाई बिरामी बनाइछोड्यो। यो आलेख लेख्ने बेलासम्म १ लाखभन्दा बढी अमेरिकी नागरिकमा कोरोना पोजिटिभ देखिएको छ भने १ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। ट्रम्प प्रशासनलाई न्यूयोर्क राज्यका गर्भनर र अन्य अमेरिकन नेताहरुले मूर्खका रुपमा चित्रण गरेका छन्। भाइरसको मुख्य इपिसेन्टर युरोप हुन पुगेको छ। आज युरोपेली मुलुकहरु खासगरी स्पेन, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, स्वीजरल्याण्ड, बेल्जियम तथा बेलायतमा यो महामारी बुलेट ट्रेनको गतिमा कुदिरहेको छ। दैनिक रुपमा हजारौं नयाँ बिरामीहरु थपिइरहेका छन्। विगत २ सातादेखि विश्वको एक तिहाई भाग अघोषित कफ्र्यु (लकडाउन) जारी गरिएको छ।

सुरुमा व्यक्तिगत स्वतन्त्रता हनन भयो भनेर गिज्याउने विकसित र सभ्य पश्चिमी राष्ट्रहरु आज चीनको शरणमा पुगिसकेका छन। समग्रमा हेर्दा कोरोना भाइरसले विश्वका सबै महादेशका प्रायजसो मुलुकहरु छोएको देखिए तापनि विश्व अर्थतन्त्रमा बढी प्रभाव र दबदबा सिर्जना गर्ने राष्ट्रहरुको घमण्डलाई चूर्ण बनाउने काम भएजस्तो लाग्छ। खासगरी बर्तमान विश्व विकसित राष्ट्र, जसलाई ग्वोवल नोर्थ भनिन्छ, बाट बढी सञ्चालित थियो। त्यसलाई कोरोनाले राम्रो शिक्षा दिएजस्तो लागेको छ। रोग पहिचान भएको लगभग ४ महिनासम्म यसको उपचार पद्धतिमा ठोस निष्कर्ष निकाल्न नसक्नुले बर्तमान विज्ञान र प्रविधिलाई ठूलो चुनौती देखिएको हो। उपचार गर्न नसकेर मान्छेहरु रोक्नुले लगभग ४ सय वर्ष जतिको पश्चिमी सभ्यता क्षणभरमै चकनाचुर भएको आभाष हुन्छ।

अर्कोतर्फ विकासोन्मुख र अविकसित राष्ट्रहरु जसलाई ग्लोबल साउथका रुपमा चिनिन्छ, कोभिड–१९ ले प्रवेश गरे पनि त्यति धेरै प्रभावित भएका छैनन्। चीनको सीमाना जोडिएको छिमेकी मुलुकहरु नेपाल, भारत, पाकिस्तान, मात्रै नभएर अफ्रिकी मुलुकहरु यो महामारीबाट जोगिन पुगेका छन्। यस्तो लाग्छ कि कोरोना भाइरसले प्राकृतिक न्यायको सिद्धान्त बमोजिम हुने खानेहरुलाई राम्रोसँग तर्साएको छ भने हुँदा खानेहरु वर्गलाई सचेत पनि बनाएको छ। बढी जनसंख्या, अव्यवस्थित बसोबास भएका दक्षिण एसिया र अफ्रिकन मुलुकहरुमा कोरोना छिर्न सकेको छैन भने गाँस, बास र कपासको ग्यारेन्टी भएको विकसित पश्चिमा राष्ट्रहरुलाई यसले छानीछानी सजाय दिइरहेको छ। यो क्रम अझै २ महिना लम्बियो भने यसले विश्व अर्थतन्त्रमा हाल स्थापित मूल्य, मान्यतालाई भत्काउने छ र नयाँ मूल्य र मान्यताहरु स्थापित गर्नेछ।

पहिलो विश्वयुद्धको अन्त्यसँगै आजभन्दा सय वर्ष अगाडि फैलिएको तल्कालिन स्पेनिस फ्लूले विश्वका लगभग ४ करोड मानिसहरुलाई सखाप पारेको थियो भने प्रथम विश्वयुद्धमा शक्तिशाली मानिएका राष्ट्रहरुलाई सन् १९३० को आर्थिक मन्दी र दोश्रो विश्वयुद्धपछि अमेरिकालाई महाशक्तिशाली राष्ट्रको रुपमा स्थापित गरेको थियो। कुनै पनि चीजको अन्तिम अवस्था भइसकेपछि स्वतः तल झर्नुपर्ने प्राकृतिक नियम बमोजिम अबको युग अथवा एक्काइसौं शताब्दीको पुनर्जागरण एसियन राष्ट्रहरुबाट सुरु हुने लक्षण विश्व अर्थतन्त्रमा निरन्तर देखिन थालेको छ। मानव सभ्यताको सुरुवातमा प्रशस्तमा मात्रामा विकसित भएको दक्षिणपूर्वी एसियाली सभ्यता पश्चिमी सभ्यताले केही समय छायाँमा परे पनि अब छिटै पुन उदय हुने सम्भावना देखिएको छ। प्राकृतिक स्रोतको हिसाबले सबैभन्दा सुरक्षित र धनी एसिया र अफ्रिकालाई पश्चिमी ज्ञान विज्ञानको भ्रमले सधैं खुम्चाएर राख्न सकिँदैन। सभ्यता र संस्कृतिको धनी पूर्वीय सभ्यातालाई एक्काइसौं सभ्यतामा फेरि नयाँ किसिमबाट पुनर्जागरण ल्याउन सकियो भने यसले पृथ्वीमा भएको बर्तमान असन्तुलनलाई पनि व्यवस्थापन गर्न सकिन्छ।

पूँजीवादको चरम विकासले थिल्थिलिएको वर्तमान संसारले अब यसको विकल्प खोज्न थालिसकेको छ। १९ औं शताब्दीको उतरार्धबाट सुरु भएको समाजवादी चिन्तन २० औं शताब्दीको अन्त्यतिर केही अस्ताउन पुग्यो। पूँजीवादी अर्थव्यवस्थाले लगभग आधा शताब्दी पूरा नगर्दै विश्वले पुनः उही समाजवादी अर्थ व्यवस्थालाई विकासको आधारका रुपमा हेर्नुपर्ने अवस्था देखिन थालेको छ। एसियाबाट चीन र भारतले यसको नेतृत्व लिन सक्छन् भने ल्याटिन अमेरिकाबाट क्युवाले यसको विकास गर्न सक्छ। हालको कोरोना कहर पनि पूँजीवादी अर्थ व्यवस्थाको अन्तको शंखघोष गर्न आएजस्तो देखिएको छ। कोरोना उपचारका लागि आवश्यक सामानहरु ज्स्तै मास्क, पीपीआइ, ड्रेस, परीक्षण किट र अन्य कुराहरुको उत्पादनमा चीनले अन्य मुलुकहरुलाई धेरै पछि पारेको छ। विज्ञान र प्रविधिका क्षेत्रमा पनि एसियाले अब विस्तारै युरोप र पश्चिमी राष्ट्रहरुलाई घुँडा टेकाउन थालेको छ। केही वर्षसम्म छायाँमा परेको नमस्कार गर्ने पूर्वीय परम्परालाई एकैपल्ट पश्चिमीहरुले अनुशरण गर्न पुगेका छन्।

त्यसैले केही समयका लागि कोभिड–१९ संसारमा विपत एवं महामारीको रुपमा देखिए पनि यसले मानिसलाई धेरै कुराहरु सिकाएको छ। खासगरी अनुशासन र नियम मानियो भने जस्तोसुकै महामारीहरु पनि पार लगाउन सकिन्छ भन्ने कुरा चीनले सिकायो भने अनुशासनहिन बनेर व्यक्तिगत स्वतन्त्रतामा बढावा दिदा आजको इटाली, स्पेन, बेलायत र अमेरिका हुन बेर लाग्दैन भन्ने कुरा पनि यसले सिकाएको छ। यससँगै यसले विश्वलाई एउटा नयाँ शिराबाट हेर्नका लागि सबै राष्ट्र र व्यक्तिहरुलाई सन्देश दिएको छ। महामारी र संकट कुनै जात, धर्म, भूगोल र राजनीलिाई छुट्याउँदैन भन्ने कुराको गतिलो पाठ पनि यसले सिकाएको छ।

हिजो मात्रै २ चिनियाँ मुलका युवकहरु बेलायतमा कोरोना भन्दै पिटिए। केही दिन अघि मात्रै केही नेपाली दिदीबहिनीहरु भारतमा मःम र कोरोना भन्दै हेपिए। तर आज ती सबै कुराहरु पुराना भएका छन् र विश्वले नयाँ परिस्थिति र परिवेश खोजिरहेको छ। हिजोसम्म कोरोना सुन्न नसक्ने ट्रम्प आज चिनियाँ राष्ट्रपति सीसँग मिलेर काम गर्ने बाचा गरेका छन्। हिजो स्थापित धार्मिक मान्यताहरु जस्तै चर्च, मस्जिद, मन्दिरहरु बन्द भएका छन् भने मानिसहरु भगवानभन्दा आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने कुरा सप्रमाण जानकारी प्राप्त गरिसकेका छन्। आशा गरौं, कोरोना कहरले अझ २–४ महिना हामीलाई घरभित्र थुनेर राखे पनि अन्त्यमा विजय हाम्रो हुनेछ। संसारले फेरि नवीनतम खोज् र ज्ञानसहित संसारलाई अझै विकसित र सभ्य राख्नेछ।

Comments
Loading...
You might also like