कोभिड–१९ : भ्रम, यथार्थ र हाम्रो जिम्मेवारी

  • 2.7K
    Shares
0

पञ्चा सिंह

कोरोना भाइरस (कोभिड–१९) न्यारोमिटर भएको फुच्चे भाइरस हो। एउटा भुसुनो भाइरसले आज विश्व मानव जातिमाथि धावा बोलिरहेको छ भने नाफाका लागि जस्तोसुकै हर्कत गर्नसक्ने पूँजीवादलाई पनि लकडाउन गरेको छ। आँखाले देख्न नसकिने सानो भुसुनोले दुनियाँका ठूल–ठूला सिंहासन हल्लाइदिएको छ। धेरै चर्चामा आएको कारोना भाइरस सन् १९६० को दशकमा देखा परेको थियो, जसको नाम सार्स भाइरस राखियो। तत्कालीन अवस्थामा आठ हजारभन्दा धेरै मानिसलाई संक्रमित गरेको उक्त भाइरसले ७७४ जनाको ज्यान लिएको थियो।

डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरमा देखिएको यो भाइरस सन् २००३ मा देखिएको सार्स भाइरससँग मिल्दोजुल्दो देखिएको छ भने चमेरामा पाइने कोरोना भाइरससँग पनि मिल्दोजुल्दो छ। तसर्थ केहीले यसलाई चमेराबाट मान्छेमा सरेको हुनसक्ने बताएका छन्। यो भाइरसले चीनमा झण्डै ३३०० मानिसको ज्यान लियो। हजारौं मानिसमा संक्रमण फैलिन थालेपछि चीनले कोरोना भाइरसविरुद्ध युद्धको घोषणा नै गर्नुपर्‍यो भने यसको निवारण पनि सफलतापूर्वक गरेको छ।

पछिल्लो समय विकसित राष्ट्रहरुमा शक्ति आर्जन गर्ने हाडबाजीका कारण एकले अर्कोलाई कमजोर बनाउन विभिन्न अस्त्रहरु प्रयोग गर्ने भएको कारण चीनमा कारोना भाइरसको महामारी फैलिइरहँदा चीनविरुद्ध खिसिट्यूरी मात्रै होइन, यो भाइरस प्राकृतिक हो या मानव निर्मित हो भन्ने विभिन्न अड्कलबाजी चलिरहे। यतिसम्म आंकलन थियो कि यो भाइरस ल्यावमा उत्पादन गरिएको भाइरस हो। यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग हो। तर यो षड्यन्त्रको सिद्धान्तमा मात्रै आधारित थियाे। प्रकृति र विज्ञानको नयाँ अध्ययन अनुसन्धानअनुसार ती आशंका गलत रहेको र सत्यतथ्यमा आधारित नरहेको कुरा देखाएको छ। जैविक हतियारको रुपमा मानिसले प्रयोशालाहरुमा प्रयोग गरेकोे भाइरस नभई प्राकृतिक उत्पत्तिको नियमअन्तर्गत नै कोविड–१९ नाम दिइएको कोरोना भाइरस प्राकृतिक रुपमा नै उत्पत्ति भएको अध्ययनले देखाएको छ।

नावेल कोरोना भाइरस मानिसको रिसेप्टमा गज्जवैसँग टाँसिएर बस्न सक्दछ। यसरी बस्न प्राकृतिक रुपमै सिर्जित भाइरस मात्रै सम्भव छ। त्यस्तो गुण मानिसले प्रयोगशालामा निर्माण गरिएको भनिएको भाइरस वा जेनेटिक इञ्जिनियरिङको माध्यमबाट बनाइएको भाइरसबाट हुन सम्भव छैन भन्ने देखाएको छ। तत्कालीन अवस्थामा अनुसन्धानकर्ताहरुले दुईवटा सिद्धान्त अघि सारेका छन्। पहिलो सिद्धान्तअनुसार यो भाइरस जनावरमा उत्पत्ति भएको हुन सक्छ, जस्तै योभन्दा अगाडि सार्स सभेज बिरालो, मेर्स उँटबाट मानिसमा सरेको थियो भने नयाँ भाइरसको केसमा ती जनावरहरु वा चमेराबाटै कोरोना सरेको हुन सक्छ। यो भाइरस मानिसमा सर्नुभन्दा अगाडि जनावरलाई संक्रमित तुल्याउने खालको रुपमा विकसित भएको हुनुपर्छ भन्ने अनुमान गरिएको छ। यो परीक्षण सही सावित भए अन्य जनावरहरु मूलतः चमेराहरुमा एक आपसमा सरिरहेको हुन सक्छ र फेरि पनि कुनै बेला आजको अवस्थाजस्तै महामारी बिस्फोटक रुपमा फैलिन सक्छ। योभन्दा झनै खतरानाक स्थिति आउन सक्छ।

दोस्रो सिद्धान्तले पनि यो भाइरस जनावरबाटै उत्पत्ति भएको स्वीकार्छ। तर जनावरहरुमा कुनै रोग देखा परेको छैन। मूलतः चमेरामा सुशुुप्त र निस्क्रिय अवस्थामा रहेको छ। चमेरामा सुशुप्त अवस्थामा रहेको भाइरस मानिसको कोषमा छिरेर बाँच्न सिक्यो र रोग लगाउने किसिमले विकसित भएर आयो। अनुसन्धानकर्ताहरुका अनुसार दोश्रो सिद्धान्त सही सावित भए कोरोना भाइरस फेरि अर्को महामारीका रुपमा आउने सम्भावना कम रहेको अनुमान गरिएको छ।

स्वास्थ्य विज्ञानमा कोरोना भाइरससम्बन्धि नयाँ अध्ययन र अनुसन्धान र आजका मितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस भन्दै जिस्क्याउँदै होच्याउँदै खिसिट्यूरी गर्दै बसिरहेको आसन छोडेर नयाँ ट्वीट गरेका छन् र उनले चीनको खुलेर प्रशंसासमेत गरेका छन्। ठूला शक्तिराष्ट्रहरु भिडियो कन्फरेन्स गरेर सबै–सँगै भन्ने सन्देश दिएका छन् र ट्रिलियन डलर घोषणा गरेर सफल युद्ध लड्ने संकल्प गरेका छन्। यी सबै तथ्यहरुले यो प्राकृतिक भाइरस हो, यसले कुनै राष्ट्र, जाति, क्षेत्र, वर्ग, लिंग र उमेर समूह भनिरहेको छैन।

विश्वका १९९ देशमा र क्षत्रमा फैलिएको विश्व एक चौथाई राष्ट्रहरु लकडाउनमा छन्। विश्व स्वास्थ्य संगठनले विश्वभरि स्वास्थ्य संकटकाल घोषणा गरेको छ। कोरोना भाइरस यतिबेला मानव स्वास्थ्यमाथि धावा बोलिरहेको छ। यो बिना पासपोर्ट यत्रतत्र सर्वत्र दौडिरहेको छ, उडिरहेको छ। सबै साँध सीमानाहरु पार गरिरहेको छ। यसले न राजनेता, न जनता, धनी–गरीब, सही गलत भन्ने कुनै सीमाना बनाएको छैन। मानव जातिमाथि युद्ध गरिरहेको छ। यस भाइरसविरुद्ध चीन सरकारले सफलतापूर्वक युद्ध जित्यो र आफ्ना नागरिकलाई कमभन्दा कम क्षतिमा सुरक्षित गरेको छ।

नेतृत्वको परीक्षण संकटमा नै हुन्छ र यो संकटमा चीन सफल भएको छ। अन्य राष्ट्रहरु गाउँ शहर, छरछिमेक, मुलुक विश्व एकसाथ यसको चपेटामा परेको छ। नेपाल पनि यसको अपवाद बन्न सक्ने अवस्था रहेन। संक्रमितको संख्या दैनिक थपिँदैछ। खुसीको कुरा उपचार र सञ्चो हुने क्रम पनि जारी छ। तर सीमाना जोडिएको छिमेकी राष्ट्रमा गत डिसेम्बरमा नै कोरोना संक्रमितको समस्या महामारीको रुप लिएर समस्या समाधान भएको उदाहरण हाम्रा अगाडि छ।

छिमेकी राष्ट्रमा यो समस्यादेखि भोगी–सुनी–जानी हाम्रो मुलुकलाई आवश्यक पूर्वतयारीका लागि सरकार समयमै गम्भीर नहुनु, अन्तर्राष्ट्रिय उडान समयमै बन्द नगर्नु, नेपाल भारत खुल्ला सीमाको समस्यामा सरकार गम्भीर नहुनु, नेपाल सरकार र विभिन्न राजनितिक दलले समेत औपचारिक सभा सम्मेलन बन्द गरेको घोषणा गरिसक्दा पनि नियमित भीडभाडका ठाउँहरु स्कूल, क्याम्पस विश्वविद्यालय लगायतका सार्वजनिक स्थलहरु बन्द गर्न समयमै ध्यान नपुर्‍याउनु जस्ता विषय नेपाल सरकार र नागरिकको अगाडि समीक्षाका सवालहरु छन्। तर यतिबेला पछाडि फर्केर समीक्षा गर्ने र अलमलिने छुट कसैलाई पनि छैन, न नागरिक न त सरकार। यतिबेला सबै सँगै भएर समस्या समाधानका लागि निर्णायक पहलकदमी जरुरी छ र सरकारले समयमै देश लकडाउन गरेको छ। लकडाउनसँगै सरकार र नागरिकको दायित्वसँग जोडिएका केही सवालहरु महत्त्वपूर्ण बनेका छन्।

जब कुनै राष्ट्र युद्धमा होमिने अवस्था आउँछ, त्यस समयको निर्णायक शक्ति फ्रन्टलाइनमा रहने जनशक्ति नै हुन्छ। युद्धमा पराजित हुने वा विजेता बन्ने भन्ने कुरा फ्रन्टलाइनमा हुने जनशक्ति आवश्यक प्रविधिले कति सुसज्जित छ र उसको मनोबल के छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्दछ। यति बेला देशले स्वास्थ्य संकट ब्यहोरिरहेको छ र मानवीय स्वास्थ्यका लागि युद्ध गर्नु परिरहेको छ। यति बेलाको महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्र हो भने निर्णायक जनशक्ति स्वास्थ्य जनशक्ति नै हो।

राष्ट्रमा स्वास्थ्य संकट पैदा भइरहेको अवस्थामा आफ्नो दायित्वबाट च्युत हुने छुट कसैलाई पनि छैन। झन् स्वास्थ्यकर्मीलाई झन् हुने कुरै भएन। उनीहरुका अगाडि बाध्यकारी अवस्था आइपरेको छ, यो जैविक युद्धमा फ्रन्टलाइनमा काम गर्न पर्याप्त साधन श्रोत बिना स्वास्थ्यकर्मीमा सर्वसाधारण जस्तै डर र सन्त्रास छ। परिवारमा ठूलो मनोवैज्ञानिक आतंक छ। यो बेला सरकारले मनग्ये प्याकेज घोषणा गर्न आवश्यक छ, जस्तैः आकर्षक वीमाको व्यवस्था, तलव भत्तामा विशेष प्याकेज, प्रविधिको भरपुर उपलब्धता, सेवामा तल्लिन रहँदा समस्या आइहाले सहिद घोषणा, परिवारको उचित व्वस्थापनको जिम्मा राज्यले लिने लगायतका उचित र आवश्यक व्यवस्थापन घोषणा जरुरी छ भने सुरक्षाका लागि पिपिई पर्याप्त मात्रामा उपलब्धता हुन जरुरी छ।

अहिलेको अव्यवस्थामै स्वास्थ्य परीक्षणको व्यवस्था रहे राष्ट्रले ठूलो जोखिम उठाउन नपर्ला भन्न सकिन्नँ। त्यसैले स्वास्थ्य परीक्षणका लागि सम्भव भएसम्म सबै स्थानीय तहमा र नभए प्रत्येक प्रदेशमा भाइरस परीक्षण किटको व्यवस्था सरकारले टाउकोले टेकेर भए पनि गर्न जरुरी छ।

लाखौको संख्यामा भारतबाट र अन्य देशबाट समेत ठूलो संख्यामा भित्रिएको जनशक्ति गाउँ–शहर टोलटोल पुगेको छ। कहाँ कसलाई कति बेला कोरोना पोजिटिभ देखिन्छ, टुंगो छैन। पूरै सन्त्रास छ। यसलाई समाधान गर्ने उपाय भनेको व्यापक परीक्षण र स्थानीय तहको सक्रियता र सुरक्षाकर्मीको सहयोगमा सुविधायुक्त क्वारेन्टाइन हो। यसका लागि ढिलो नगरौं।

नेपालमा कोभिड–१९ का कारण सरकारले गरेको लकडाउनसँगै मजदुरीमा जीवन चलाइरहेका लाखौं श्रमिकहरुमा बिहान बेलुका के खाने भन्ने तनाव बढिरहेको छ। संक्रमित हर रोगले मर्ने अवस्था नबन्ला भन्न सकिँदैन। त्यस्तो अवस्था आउन नदिनलाई भारत सरकार लगायत विभिन्न देशले श्रमिक मजदुरहरुको व्यवस्थापनको जिम्मेवारी लिएजस्तै नेपाल सरकारले आवश्यक व्यवस्थापनको जिम्मेवारी लिन जरुरी छ।

राष्ट्र लकडाउनमा छ। यो बाध्यकारी अवस्था नागरिकको सुरक्षाको लागि हो भन्ने कुरा समयमै बुझाउन जरुरी छ। कोरोना लागिहाले स्थिति यतिसम्म भयानक छ कि जहाँ श्रीमतीलाई लागिहाले श्रीमान, श्रीमानलाई लागिहाले हेरचाहको त कुरै छोडौं, नजिक जान पनि बन्देज छ। ठूला र सुबिधासम्पन्न राष्ट्र पनि नागरिकको जिम्मेवारी वहन गर्न सकिरहेका छैनन्। इटालीमा सुरुमा सरकार र नागरिकको लापर्वाहीले मृतकलाई दाहसंस्कार गर्ने ठाउँ पनि पाइरहेका छैनन्, मलामीको त कुरै छोडौं। अमेरिकाजस्तो मुलुकमा सुरु सुरुमा तन्नेरी हर्मोनले मातेका अमेरिकन युवायुवतीले टेरपुच्छर नलगाउँदा आज संक्रमित र मृतकको संख्या बढिरहेको छ। त्यसैले हाम्रो मृत्युको कारण हाम्रो लापर्वाही नै बन्दैछ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ।

अर्कोतर्फ रोग लागिहाले रोगले भन्दा पनि मनोवैज्ञानिक आतंकको कारण मान्छे छिटो मर्ने जोखिम पनि उत्तिकै छ। किनकि आज बाहिरबाट नेपाल प्रवेश गर्नेको मनोविज्ञान हेर्दा आवश्यक परीक्षण, केही समय क्वारेन्टाइन बस्ने भन्दा पनि भाग्ने–छल्ने प्रवृत्ति बढी छ। विश्व तथ्यांकअनुसार ९५% रोगका कारण र ५% रोगपछि मनोवैज्ञानिक आतंकले हर्ट फेल भएर मृत्यु भएको छ। त्यसैले यसको औषधि उपचार नभए पनि इम्युनिटि पावर राम्रो हुने, उच्च मनोवल राख्न सक्दा र स्वास्थ्यका लागि अनुकूल वातावरण हुन सक्दा रोग निको हुन सक्छ भन्ने कुरा चिनियाँ तथ्यांकले बताइसकेको छ, जहाँ हरेक १०० जना बिरामीमा मृत्युदर तीन जना मात्र छ।

त्यसैले यी यावत विषयमा जनतामा चेतनामूलक सन्देश दिन जरुरी छ। नेपालमा फ्रान्स हुँदै नेपाल भित्रिएको कोरोना यो आयातित हो र नेपालमा उत्पादित होइन। सामान्य लापर्वाहीले देशमा प्रवेश त पायो, घरमा प्रवेश नगराउन सरकारको निर्देशन अक्षरशः कार्यान्वयन गर्न सडकपेटीमा बरालिनेलाई सुरक्षाकर्मीद्वारा लखेट्न लगाएर मात्रै हुँदैन, गाउँका चोक चौतारामा बरालिनेलाई पनि स्थानीय तहले ढिलो नगरी सचेत गराउन जरुरी छ।

उपभोग्य वस्तुको आपूर्तिको विविधता र पर्याप्तताको कारणले अमेरिकी पूँजीवाद संसारमा प्रसिद्ध थियो। यही उसको श्रेष्ठताको परिचायक थियो। साम्यवादविरुद्धको शीत युद्ध अमेरिकाको यही प्रसिद्धिले गर्दा जितेको थियो। तर अहिले अमेरिकाजस्तो देशमा थोक र फुटकर डिपार्टमेन्टल स्टोरहरुमा सरसफाइ गर्ने अल्कोहल, हात धुने झोल साबुन, चामल, अण्डा, पिउने पानीको बोत्तलसमेत हाहाकार छ।

नेपालमा कोरोनाको हल्ला चल्दा नचल्दै लकडाउन अगाडिदेखि नै कृतिम अभाव खडा गरेर कालोबजारी निकै मौलाउन खोज्यो भने महिनौं दिन लकडाउन लम्बिँदा अत्यावश्यक वस्तु कसरी प्राप्त गर्ने ? यसका बारेमा समयमै सम्बन्धित निकाय र आम नागरिकको ध्यान जान जरुरी छ। सरकारले दिएन भन्ने दोष लगाएर मात्रै हुँदैन, हुनेले अकुत कमाउने नहुने भोकै मर्ने अवस्थाको अन्त्यका लागि नागरिक तहमा पनि हार्दिकतापूर्ण सहकार्य र सद्भाव जरुरी छ।

(लेखक सिंह अनेरास्ववियूकी नेतृ हुन्।)

Comments
Loading...
You might also like