कोरोना विरुद्धको अभियानमा सशस्त्र प्रहरी सक्रिय

  • 55
    Shares
0

काठमाडौं, १५ चैत। कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सक्रिय रहेको छ। यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भइ स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपत विपदमा परेकाहरुको उद्वारमा सक्रिय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहतका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिइएको छ। यसैबीच लागूभएको ‘लकडाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्क आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानीय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न कार्यहरु गरिरहेको छ।

सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १ सय ६१ स्थानका हेल्थ डेष्कमा खटिएको छ। जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्। स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाइरसबाट जोगिने उपाय लेखिएका जनचेतनामूलक पर्चा पम्पलेट वितरण समेत गरेको छ। सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लकडाउन’को वेवास्था गर्दै लापरवाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन भएका छन्।

यसैबीच शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाइएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाइन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाइएको छ।

विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरीसँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ।

यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ। यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्। देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । विभिन्न ५ सय ३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ।

सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६ सय १७ जना परिचालित गरेको छ। विभिन्न ठाउँमा ३७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३२६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको छ। सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढि जनशक्ति विभिन्न ड्यूटिमा परिचालन गरिरहेको छ। ‘लकडाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ।

सशस्त्र प्रहरी बलले कोरोना भाइरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुका साथै उनीहरुमार्फत् उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना कार्य गरिरहेको छ। हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाइएको छ। कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन तथा सशस्त्र प्रहरी कर्मचारीहरु आफू जोगिदै हरेक ड्यूटिमा उच्च मनोवलका साथ क्रियाशिल रहेका छन्।

Comments
Loading...
You might also like