अब पर्वतमा हेल्लाे डाक्टर

  • 39
    Shares
0

निर्मल पौडेल/ पर्वत, १५ चैत। विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण विश्वजगत आक्रान्त बनिरहेको छ। सर्तकताका लागि सरकारले लकडाउन गरेको छ। कोरोना भाइरसबाट बच्न तथा सजक रहनाका लागि पर्वतमा पनि उच्च सजकता अपनाइएको छ।

कोरोना संक्रमणको संभावनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल पर्वत र जिल्ला स्थित सरोकारवाला निकायले सर्तकताका लागि आफ्नो-आफ्नो ठाउँबाट पहलकदमी थालनी गरेका छन्। संक्रमणबाट सजकता अपनाउनका लागि जिल्ला अस्पताल पर्वतले कोरोना ज्वरो क्लिनीक, कोरोना अस्पताल, क्वारेन्टाईन र हेल्लो डाक्टर सेवा सञ्चालनमा ल्याएको अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले जानकारी दिए।

पहाडीका अनुसार पर्वत अस्पतालमा ओपिडि सेवा बन्द गरी ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ। पिपिईको तत्काल व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा पनि पर्वत अस्पतालका चिकित्सकहरुको सृजनशिलतामा सुरक्षा उपाय अवलम्वन गरिएको छ। जो कोही पनि यो क्लिनिकमा आइ सेवा लिन सकिने पहाडीले बताए। पर्वत अस्पतालका अन्य सेवाहरु अपरेशन सेवा, सुरक्षित सुत्केरी गराउने सेवा, ईमरजेन्सी सेवा सुचारु रहेका छन्।

ज्वरो, रुघा खोकी लागेका तथा हालै मात्र कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरुलाई आईसोलेसनमा राख्नका लागि गुप्तेश्वर क्याम्पसमा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको छ। यस अस्पतालमा सबै अत्यावश्यक उपकरण तथा सामानहरु प्रबन्ध गरिएको छ। अबको केहि दिन भित्र भेन्टिलेटरको समेत व्यवस्थापन हुने भएको छ।कोरोना अस्थायी अस्पताल निर्माणमा पर्वतका सवैस्थानीय तहहरुको सहयोग रहेको छ भने विशेष सहयोग कुश्मा नगरपालिकाले गरेको छ। पर्वत अस्पतालका १२ जना चिकित्सक सहितको टोली अस्थायी अस्पतालमा डूयुटिमा खटिरहेको पहाडीले बताए।

पर्वत जिल्लामा हालै मात्र विभिन्न देशबाट गाउँमा आएका व्यक्तिहरुलाई क्वारेण्टाईनमा राख्नुपर्ने सबैको सुझावलाई मध्यनजर गरी चैत्र १५ गतेबाट सेवा सुचारु हुने गरि कुश्मा नगरपालिकाको सहयोगमा शिवालय मावि मा अस्थायी क्वारेन्टाईन स्थापना गरिएको छ।  यसमा राख्नुपर्ने सम्भावित व्यक्तिहरुको पहिचान र प्रबन्धका लागि सवै जनप्रतिनिधी र समाजसेवीहरुमा जिल्ला अस्पताल पर्वतले अनुरोध गरेको छ।

अस्पतालले कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्नका लागि हेल्लो डाक्टर सेवा समेत सञ्चालनमा ल्याएको छ। ४ जना डाक्टरहरुलाई चौबिसै घण्टा विरामीहरुलाई सेवा दिने गरी जिम्वेवारी समेत प्रदान गरेको हो। आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि डाक्टर विष्णु भण्डारी मोवाईल नम्वर ९८४६७०७४००,डाक्टर उदय तिवारी मोवाईल नम्वर ९८६०७१०४२, डाक्टर सागर वराल मोवाईल नम्वर ९८४६१४५८३८, डाक्टर शुसिल शर्मा मोवाइल नम्वर ९८४९०२७२६६ मा सम्पर्क गर्नका लागि चैत्र १२ गते प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको प्रमूख संयोजकत्वमा बैठक बसी जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।

Comments
Loading...
You might also like