बहस

काेभिड-१९ : पूँजीवादी संकटले समाजवादकाे ढाेका खाेल्छ ?

Manahari Timilsina
पहिलो विश्वयुद्ध भौगोलिक पूनर्विभाजनका लागि गरिएको साम्राज्यवादी छिनाझप्टी थियो, दोस्रो विश्वयुद्ध प्राकृतिक साधन स्रोतमाथि साम्राज्यवादी शक्तिहरुको तीव्र प्रतिस्पर्धाको परिणाम थियो। तर, अहिलेको महामारी पूँजीवादको अनियन्त्रित विकास, आणविक भट्टीहरु र त्यसले पैदा गर्ने रासायनिक ग्याँसको प्रभाव एवं विश्वको बढ्दो जनसंख्या र त्यसले पारिस्थितिक प्रणालीमाथि दिएको चुनौतीको परिणाम हो। महामारीले पनि विश्वमा कहिलेकाहीँ अन्तरविरोधको समाधान गर्दछ। तर, अन्तरविरोधलाई ‘ह्याण्डिल’ गर्ने भरपर्दो विचार र शक्ति चाहिन्छ।
  • 722
    Shares

मनहरि तिमिल्सिना

कोभिड–१९ को विश्वव्यापी महामारी र त्यसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको आधारभूत सफलतापछि यतिबेला विश्व अर्थतन्त्र र राजनीतिक प्रणालीमा आउनसक्ने फेरबदलबारे विभिन्न कोणबाट चर्चा हुन थालेको छ। कतिले यसलाई राजनीतिक प्रणालीमा आमूल परिवर्तनको आधारस्तम्भका रुपमा समेत विश्लेषण गर्न थालेका छन्। अर्थराजनीतिक प्रणालीमा आमूल परिवर्तनको निष्कर्षमा पुग्दै गर्दा हामीले निम्न तथ्य बिर्सन मिल्दैन।

(१) ३१ डिसेम्बरमा चीनमा देखिएको काेराेना भाइरस (कोभिड–१९) को महामारीबाट चीनले आधारभूत रुपमा सफलता प्राप्त गरेको छ। तर, पूर्णतः सफलता प्राप्त गरिसकेको छैन। आजको दिनमा पनि चीनमा दैनिक आधा दर्जन मानिसहरुको कोरोना भाइरसका कारण मृत्यु भइरहेको छ। सञ्चार माध्यमले दावी गरेअनुसार बुहानमा निको भएका १०% मानिसहरुमा कोभिड–१९ को संक्रमण दोहोरिएर देखा परेको छ। यस अर्थमा चीनले कोरोनामाथि पूर्ण विजय हासिल गरिसकेको छैन।

(२) २१ औं शताब्दीमा विश्व समाजवादी व्यवस्थाको केन्द्र हो चीन। यद्यपि, उसले लिएका कतिपय आर्थिक नीतिहरुका कारण चीनको समाजवादी ढाँचाबारे कम्युनिष्टहरुभित्रै बहस हुँदै आएको छ। खुल्ला बजार अर्थतन्त्र र नीजि पूँजीको प्रवर्द्धनमा चीनले लिएको अग्रसरताका कारण त्यहाँ पनि वर्गीय खाडल गहिरिँदै जानसक्ने र त्यसले मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण स्थान दिनसक्ने जोखिम टरेको छैन। अर्कोतिर चीन विश्वका कम्युनिष्टहरुले जानेमानेको सर्वहारा अन्तर्राष्ट्रवादका पक्षमा खुल्ला रुपमा उभिएको देखिँदैन। यस्तो अवस्थामा विश्वले पूँजीवादी संकटको बिकल्पका रुपमा आफूलाई प्रस्तुत गरिहाल्ने आत्मगत परिस्थिति निर्माण भएको देखिँदैन।

(३) कोभिड–१९ माथि चीनले आधारभूत रुपले सफलता प्राप्त गरे तापनि अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका छन्। कोरोनाविरुद्धको लडाइँमा बजेटको मूख्य हिस्सा खर्च गर्नुपरेको, महामारीविरुद्ध एक्लै सङ्घर्ष गर्नुपरेको र उर्भर जनशक्ति कोरोनाले शिथिल रहेकाले अमेरिकाको असफलताकै कारण चीन १/२ वर्षमा विश्वको पहिलो अर्थतन्त्र र शक्तिकेन्द्र बन्छ भन्ने अन्तिम निष्कर्ष निकाल्न सकिँदैन। चीन पहिलो शक्ति बन्ने सम्भावना त छ। तर, निर्बिकल्प चाहिँ होइन। महामारीको कम संक्रमणमा परेको अर्को कुनै मुलूकले यसको लाभ उठाउन सक्ने प्रशस्त सम्भावना छ।

(४) बुहानमा संक्रमण देखिएको तीन महिनापछि कोरोनाको महामारी अमेरिकन र यूरोपियन मुलूकहरुमा पुगेको छ। तर, यो महामारीले यहीँ पुगेर विश्राम लिन्छ भन्न सकिने अवस्थामा छैन। तत्कालका दष्टिले महामारीले यूरोप र अमेरिका संक्रमित देखिए पनि भविष्यमा यो बिस्तार हुँँदै दक्षिणपूर्वी एसियामा आइपुग्न सक्छ। कमजोर स्वास्थ्य प्रणाली र अपर्याप्त सावधानीको कमीका कारण कालान्तरमा महामारीले यूरोप र अमेरिकाभन्दा एसिया र समाजवादी राष्ट्रहरुलाई प्रभावित गर्नसक्ने जोखिम पनि टरिसकेको छैन। कोभिड–१९ को भरपर्दो औषधि र नियन्त्रण पद्धति पत्ता लागिनसकेका कारण महामारीले कतिबेला कहाँ प्रहार गर्छ ? अहिले नै अन्तिम विश्लेषण गर्न सकिने अवस्था छैन।

(५) कोभिड–१९ लगायतका महामारी पूँजीवादी अतिविकास र पर्यावरणमाथिको अनियन्त्रित आक्रमणका प्रतिविम्ब हुन्, यसमा बिमति राख्नुपर्ने कुनै कारण छैन। तर, पूँजीवादी ज्यादतीले गरेको अत्याचारका कारण निम्तिने खतरा र महामारीले पूँजीवादी शक्ति केन्द्रलाई मात्र प्रहार गर्दैन। बरु, त्यसको सबैभन्दा ठूलो मारमा साना र विकासशील राष्ट्र एवं त्यहाँका नागरिकहरु पर्ने गर्दछन्। आजको बिकराल समस्या पनि त्यही नियतिका साथ टुंगिन पनि सक्छ।

(६) पूँजीवाद मरणशील छ। यो आफैले निम्त्याएका संकटहरुका कारण मर्दछ। तर, पूँजीवादी संकटका बेला भरपर्दो बिकल्प प्रस्तुत गर्नसक्ने आजको समाजवादी शक्ति कुन, समाजवादी शक्तिको रणनीतिक योजना के ? जस्तोः पहिलो विश्वयुद्धमा लेनिनको कुटनीतिक चातुर्यताका कारण रुसले समाजवादको पहिलो झण्डा गाड्यो। अन्तरसाम्राज्यवादी अन्तरविरोधको कुशल परिचालन गर्न लेनिन असफल भएको भए रुसमा समाजवादको स्थापना र विकास दुवै सम्भव थिएन। चीन सर्वहारा अन्तर्राष्ट्रवादका पक्षमा खुलेर प्रस्तुत नहुँदासम्म र उसले लिएका कतिपय आर्थिक नीतिहरुमा पुनर्विचारबिना २१ औं शताब्दीमा लेनिनको खाँचो तत्काल परिपूर्ति हुन सक्दैन।

(७) कतिले कोभिड–१९ को संकटलाई पहिलो र दोस्रो विश्वयुद्धसँग तुलना गर्दै तेस्रो विश्वयुद्धका रुपमा समेत टिप्पणी गर्न थालेका छन्। तर, विश्वयुद्ध र महामारी समकक्षी हुँदैनन्, यसको चरित्रमा समेत आधारभूत रुपमा अन्तर रहन्छ। पहिलो विश्वयुद्ध भौगोलिक पूनर्विभाजनका लागि गरिएको साम्राज्यवादी छिनाझप्टी थियो, दोस्रो विश्वयुद्ध प्राकृतिक साधन स्रोतमाथि साम्राज्यवादी शक्तिहरुको तीव्र प्रतिस्पर्धाको परिणाम थियो। तर, अहिलेको महामारी पूँजीवादको अनियन्त्रित विकास, आणविक भट्टीहरु र त्यसले पैदा गर्ने रासायनिक ग्याँसको प्रभाव एवं विश्वको बढ्दो जनसंख्या र त्यसले पारिस्थितिक प्रणालीमाथि दिएको चुनौतीको परिणाम हो। महामारीले पनि विश्वमा कहिलेकाहीँ अन्तरविरोधको समाधान गर्दछ। तर, अन्तरविरोधलाई ‘ह्याण्डिल’ गर्ने भरपर्दो विचार र शक्ति चाहिन्छ।

(८) जनसंख्या र भूगोलका बीचमा सन्तुलन चाहिन्छ। यसले मात्र पारिस्थितिक प्रणालीलाई प्राकृतिक रुपमै अगाडि बढ्ने ढोका खुला गर्दछ। प्रकृतिको आफ्नो निश्चित भारमाथि मानिसले थपिदिने जबर्जस्ती भारले नै पृथ्वीमा नयाँ परिस्थिति पैदा हुन्छ र मानिसहरु संकटमा पर्छन्। पृथ्वीको क्षेत्रफल बढ्दैन। तर, जनसंख्या निर्वाध रुपमा बढिरहेको छ। जनसंख्या नियन्त्रणका मानव–सिर्जित प्रणाली अपेक्षित परिणाममूखी हुन सकिरहेका छैनन्। त्यसमाथि रासायनिक कारखानाहरुको बढ्दो प्रतिस्पर्धाले सिंगो वातावरण प्रदूषित मात्र भएको छैन, पारिस्थितिक प्रणालीले समेत आफ्नो भार आफै सन्तुलित गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ, त्यसको बिकल्प महामारी मात्र हो। तर, एसियाका मुलूकहरु अहिले उच्च जनघनत्वमा छन्। जनसंख्या नियन्त्रण र सन्तुलनबिना अबको विकास र सभ्यताको नेतृत्व कम चुनौतीपूर्ण छैन।

(९) सन् १९५९ पछि विश्वमा एउटा पनि समाजवादी क्रान्तिले सशस्त्र क्रान्तिका माध्यमबाट राज्यसत्तामाथि पूर्णतः विजय हासिल गर्न सकेको छैन। बरु, भएका समाजवादी सत्ताहरु पनि प्रतिक्रान्तिमा रुपान्तर हुँदै गएका प्रशस्त दृष्टान्त छन्। यसको मूल कारण वैज्ञानिक कार्यदिशा निर्माणको चुनौती हो। कार्यदिशाका सन्दर्भमा कम्युनिष्टहरुले पूँजीवादको आर्थिक एवं राजनीतिक संकट र त्यसबाट लिन सकिने लाभका सन्दर्भमा मात्र बढी ध्यान दिएको देखिन्छ। तर, मानव जातिले खोजेको बिकल्प, पर्यावरण, प्रकृतिमैत्री विकासका सन्दर्भमा हाम्रो यथेष्ट ध्यान पुग्न सकेको छैन। २१ औं शताब्दीको समाजवादी कार्यदिशाका सन्दर्भमा यी सवालहरु प्रमूख अंगका रुपमा उपस्थित भएका छन्।

(१०) अहिले देखिएको महामारीले विश्वमा समाजवादी क्रान्तिको ढोका खोल्नसक्ने परिस्थिति छ। तर, पूँजीवादले साम्राज्यवादी संकट नवउदारवादको नाराले टारेजस्तै कोभिड–१९ ले निम्त्याएको संकट टार्न पनि विभिन्न बिकल्प खोज्नेछ। त्यसप्रति चनाखो हुँदै कम्युनिष्टहरुले विश्वभरि प्रजातान्त्रिक एवं मानवतावादी विकास र सभ्यताको नयाँ बिकल्प दिन सक्नुपर्छ। अन्यथा सन् १९६०–७० को दशकमा देखिएको फ्लूको महामारीले राजनीतिक प्रणालीमा बिकल्प दिन नसकेजस्तै अहिलेको संकटको पनि बिकल्प नआउन सक्छ। यसतर्फ कम्युनिष्ट एवं समाजवादी शक्तिहरुले सोच्ने बेला भएको छ।

(११) पहिलो र दोस्रो विश्वयुद्धका समय विश्वमा कम्युनिष्टहरुको बलियो केन्द्र थियो। अहिले विश्वका कम्युनिष्टहरु विभाजित छन्। एकातिर, अन्तर्राष्ट्रिय संगठनका दृष्टिले समेत एउटै संगठनमा गोलबन्द हुन सकेका छैनन् भने अर्कोतिर अन्तर्राष्ट्रिय संगठनलाई भाइचाराका रुपमा होइन, कुटनीतिक सम्बन्धका रुपमा बुझ्न थालिएको छ। यसले बलियो बिकल्पका लागि चुनौति दिन्छ। तसर्थ, बलियो अन्तर्राष्ट्रिय संगठन र एकताका बलमा विश्वले खोजेको नयाँ बिकल्प प्रस्तुत गरेर मात्र वर्तमान संकटलाई समाजवादी अवसरमा बदल्न सकिन्छ।

लेखकको बारेमा

सुजिता हमाल