बजेटका प्राथमिकतामाथि समीक्षा (बहस)

  • 166
    Shares
0

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । कोरोना महामारीको नियन्त्रण रोकथामलाई प्राथमिकतामा राखी ल्याइएको यो बजेटले कृषि क्षेत्रको विकासमा पनि थप महत्व दिएको भनेको छ। तर बजेटका स्रोतहरु जसरी अपेक्षा गरिएका छन्, त्यसमा सरकारका सामु चुनौतीहरु रहेको पनि जानकारहरुले बताएका छन् ।

कोरोना महामारीका कारण विश्व नै अप्ठ्यारो अवस्थामा रहेको र त्यसको चपेटामा मुलुक पनि परिरहेका बेला प्रस्तुत भएको बजेटको अपेक्षा र कार्यक्रमबारे हामीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटासँग सक्षिप्त प्रतिक्रिया लिएका छौँ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ । तपाईंले यो बजेटलाई कसरी हेर्नुभएको छ ?

समग्रमा बजेटले तय गरेका प्राथमिकताहरु सकारात्मक छन्। यो जटिलताको बेलाका बजेट हो । सरकारले कोरोना महामारीको नियन्त्रण र रोकथामलाई पहिलो प्राथमिकतामा राख्दै स्वस्थ्य क्षेत्रको जनशक्ति विकास र समग्र विकासको जुन विषय ल्याएको छ यो एकदमै सकारात्मक छ।

यस्तै कृषि पयर्टन विकासको क्षेत्रमा पुनःस्थापना गर्ने र कनेक्टिभिटी बढाउने जे कुरा गरिएको छ यो पनि ठिक छ । सरकारले नागरिक रोजगारीको कुरा उठाएको छ त्यो विषय पनि सकारात्मक मान्न सकिन्छ । कम्युनिस्ट पार्टीको सरकार भएका कारण सामाजिक सुरक्षाको मुद्दालाई प्राथमिकता राख्नु समाजवादोन्मुख अर्थतन्त्रतर्फको यात्रामा यसलाई सकारात्मक रुपमा नै लिनुपर्‍यो।

विगतमा सुरु गरिएका अधुरा आयोजनाहरुलाई पूरा गर्ने गरी सररकारले आफ्नो प्राथमिकतामा राखेको छ। त्यो विषयलाई पनि हामीले सकारात्मक रुपमा नै लिनुपर्छ । जीवनोपयोगी शिक्षा र भौतिक विकासका क्षेत्रलाई पनि सरकारले आफ्नो प्राथमिकतामा राखको छ। यस्तै संघीयता कार्यान्वयन र सुशासनको एजेन्डा पनि सरकारको प्राथमिकतामा परेका छन्। वास्तवमा यो बेला राज्यले प्राथमिकीकरण गर्नुपर्ने यसरी नै हो। प्राथमिकीकरणका हिसाबले बजेट सकारात्मक रहेको मैले पाएको छु। अब यसको कार्यन्वयन कसरी गर्ने भन्ने चुनौती चाहिँ प्रशस्त छन्।

प्राथमिकताका आधारमा जे जसरी बजेट विनियोजन गरिएको छ यो अहिलेको चुनौतीलाई सामना गर्न सक्ने खाालको छ ?

हो प्राथमिकता सकारात्मक भएको भए पनि जसरी कोरोनाको त्रास हामीले भोगिरहेका छौँ। एकातिर यो निकै ठुलो चुनौती हो भने अर्कातिर हाम्रा लागि मुलुकको स्वास्थ्य क्षेत्रलाई समग्रमा अपग्रेड गर्ने अवसर पनि थियो । तर जसरी यस क्षेत्रमा बजेटको व्यवस्था गरिएको छ । त्यो त्यति उत्साहजनक छैन। विगतमा पनि हामीले स्वास्थ्य क्षेत्रमा ६८ अर्बको बजेट छुट्टयाएका थियौँ। अहिले बढाएर ९० अर्ब पुर्‍याएका छौँ। विगतको तुलनामा बजेट बढाउने कुरा सकारात्मक भए पनि जति अपेक्षा हामीले गरेका थियौँ त्यो अनुसारको यो बजेट अपुग हो भन्ने मेरो धारणा छ।

तर जनशक्ति विकास लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि जे प्राथमिकता छ कार्यान्वयन भए त्यो ठिकै हो। यस्तै कृषि क्षेत्रमा पनि जसरी समग्र जोड दिइएको थियो तर छुटयाइएको बजेट कम हो भन्ने मेरो धारणा छ। मुख्य रुपमा बजेटले पनि महत्व दिएको र मुलुकले नै माग गरिएको यस क्षेत्रको बजेटको आकार बढ्नुपर्छ भन्ने हामी सबैको अपेक्षा थियो ।

जुन आकारको बजेट आएको छ, बजेटमा भनिएका स्रोतहरु आजको दिनमा कत्तिको व्यावहारिक होलान् ?

हो यो विषय पनि निकै महत्वपूर्ण छ। हामीले बजेटका स्रोतका रुपमा जुन क्षेत्रबाट अपेक्षा गरेका छौँ यो एक हिसाबले निकै चुनौतीपूर्ण छ । हामीले राजस्व संकलनलाई आउने वर्षको बजेटको मुख्य स्रोत मानेका छौँ । तर कोरोना कहर लम्बिए यो लक्ष्य पूरा हुन समस्या आउने देखिन्छ । यस्तै वैदेशिक सहायता र ऋणको जुन अपेक्षा छ त्यो पनि आफैँमा चुनौतीपूर्ण छ। त्यतिमात्रै होइन आन्तरिक ऋण पनि निकै रिस्कको एजेन्डा हो । अब यो महामारी लम्बिए र निर्धारित बजेटका स्रोतहरुले लक्ष्य भेटाउन नसिकए यो बजेट बीचमै संसोधन गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन ।

अनावश्यक खर्च कटौतीको कुरा उठेको थियो तर बजेटको ठुलो हिस्सा यो पटक पनि चालु खर्चमै जाने देखिएको छ ?

संकटको सामना गरिरहेको मुलुकले अनावश्यक र सक्ने जति खर्च कटौतीको माग गरिरहेको थियो। हामी सबैले विभिन्न माध्यमद्वारा आफ्ना सुझावहरु पनि दिएका थियौँ । तर अर्थमन्त्रीज्यूले प्रयत्न त गर्नुभएको छ तर अपेक्षा गरेबमोजिमको खर्च कटौती गर्न सकेको देखिएन । सबै क्षेत्रबाट सासंद विकास कोषको रकम कटौतीको कुरा गरिएको थियो । आकार अलि घटाए पनि यसलाई यथावत राखिएको छ । सक्रिय नभएका विभिन्न आयोगहरु मात्रै होइन विभिन्न अन्य शीषर्कहरुमा पनि खर्च कटौती गर्न सकिने प्रशस्त ठाउँ थिए । तर त्यो सकिएन । थुप्रै छिद्रहरु थिए जसलाई हामी टाल्न सक्थ्यौँ । तर त्यो गर्न हामीले सकेनौँ ।

प्राथमिकताबाहेक अन्य सकारात्मक पक्ष यो बजेटमा के पाउनुभयो ?

बजेटले नागरिक रोजगारी यानेकि सामाजिक सुरक्षाको प्रशस्त कुरा गरेको छ । तर यसमा पनि बजेट अपुग भएको मैले महसुस गरेको छु। तर बजेटले लिएका लक्ष्य भेटाउन सके यसले केही सकारात्मक कुरा पनि गरको छ । जस्तो विदेशीले नेपालभित्र काम गर्दा श्रम स्वीकृति लिनुपर्ने जुन प्रावधान राखिएको छ यसले मुलुकको हितमा उल्लेख्य भूमिका खेल्न सक्ने मैले देखेको छु। अहिले पनि हामी रेमिटयान्स आयातकर्ता मात्रै होइन हाम्रो ठुलो हिस्सा बाहिरिन्छ पनि । अब त्यसमा नियन्त्रण हुने अपेक्षा गर्न सकिन्छ । यस्तै जीवनोपयोगी शिक्षाको जुन कुरा गरिएको छ यसले रोजगारी वृद्धि गर्न उल्लेख्य मद्दत गर्ने देखिन्छ ।

यदि बजेटले तय गरेबमोजिम साँच्चिकै जीवनोपयोगी शिक्षाको बजेट सदुपयोग भए त्यसबाट पनि नेपाली श्रमिकहरुले स्वदेशमै काम गर्न सक्ने वातावरण बन्ने छ। अर्को कुरा बजेट अपुग हुने देखिए पनि स्वाभाविक यो बजेटको कार्यान्वयनपछि स्वास्थ्य क्षेत्रले स्तरोन्नति गरेको हामीले देख्न पाउने छौँ । नागरिक रोजगारी र समाजिक सुरक्षाका क्षेत्रमा पनि बजेटले प्रशस्त सकारात्मक सन्देश दिन खोजेको छ। यसलाई यसरी भनौँ केही महत्वपूर्ण शीर्षकमा बजेट अपुग भएको भए पनि बजेटले निर्देश गर्न खोजेको दिशा ठिक छ र उसले तय गरेका प्राथमिकता पनि ठिक छन् । अब हामीले यो बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ। आजको न्यूजबाट

Comments
Loading...
You might also like