आज असार १५, राष्ट्रिय धान दिवस मनाइदै

  • 27
    Shares
0

काठमाण्डौं, १५ असार । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन्।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

Comments
Loading...
You might also like