कोभिड–१९ को सन्त्रास : हामी कहाँ चुक्यौं ?

  • 57
    Shares
0

श्रीकृष्ण अधिकारी ‘विवेक’

मुलुक आज कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिमको बीचबाट गुज्रदैछ। कोरना भाइरस संक्रमणको आजसम्मको रफ्तारलाई हेर्दा विश्वमा संक्रमित संख्या ७ लाख २३ हजार नाघेको छ। मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ। ४ लाख ९० हजार मानिसहरू हस्पिटलमा छन्। इटालीमा एकै दिन ४४ स्वास्थ्यकर्मी, चिकित्सकसहित ११००० जनाको मृत्यु भएको छ।

इटाली, स्पेन, अमेरिका, इरान, बेलायत लगायत युरोपको स्थिति दिनानुदिन भयाबह बन्दै गइरहेको छ। नेपालमा आजका मितिसम्म ५ जनामा संक्रमण देखिएको छ। नेपाल ग्रिन जोनबाट रेड जोनमा प्रवेश गरेको छ। विश्वको आजको तुलनामा हाम्रो अवस्था सामान्य नै हो र आत्तिइहाल्नपर्ने अवस्था होइन। तर, हाम्रै वस्तुगत अवस्था भने अझ धेरै सजकता, सचेतता र सर्तकता अपनाएर सम्भावित संक्रमणको महामारी रोक्न युद्ध स्तरमा पहलकदमी लिन तयार रहने बेला हो।

Shririshna Adhikari
श्रीकृष्ण अधिकारी ‘विवेक’

कोरना भाइरस संक्रमण मानिसमा छापामार तरीकावाट प्रवेश गरेर मोर्चावद्ध रूपमा एकअर्कोमा चौतर्फी संक्रमण भएर चारैतिर फैलिँदै आइरहेको छ। हुबेई प्रान्तको बुहानबाट पहिलोपटक देखा परेको यो भाइरस १०० दिन बित्न पाउँदा नपाउँदै १९७ वटा मुलुकहरूमा फैलिसकेको छ। आज विश्वमा छैटौं महामारीका रूपमा उत्पन्न भएर बुलेट ट्रेनको रफ्तारमा विश्वभरि फैलिरहेको कोभिड–१९ को बिनासकारी किटाणु प्रकृतिले मानवप्रति गरेको प्रतिरोधपूर्ण प्राहार हो वा महाशक्तिको अभिलाशामा भुलवश जन्मिएको जैविक घातक किटाणु मानव कमजोरी ? खोज, जाँचपड्ताल र अनुसन्धान हुँदै जाला।

अति महाशक्तिदेखि बिपन्न राष्ट्रका धनी, सम्पन्न, सम्भ्रान्त वर्ग देखि गरिब र बिपन्न वर्गसम्म, बेलायतका युवराज, इङ्गलाण्डका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, चिकित्सकदेखि आम सर्वसाधारणसम्मलाई यो भाइरसको संक्रमण देखिएको छ। यसको निशानामा समान रूपमा ठूला–साना सबै परेका छन्। आज, विश्वभरिका मानव जातिको एउटै साझा चिन्ताको विषय भनेको कोभिड–१९ भाइरसलाई नियन्त्रणमा लिएर निर्मुल कसरी पार्न सकिन्छ भन्ने मुद्दा। आजको विश्वले ‘कोरोना–वार’लाई कुनै पनि ढंगबाट कम आँक्नु हुँदैन भन्ने साझा मान्यतामा पुगेको छ। कमिकमजोरी कहाँ भयो भन्ने विषयमा गहिरो बोध र आत्मसमीक्षा हुन थालेको आभाष हुँदैछ।

चाइनिज भाइरस हो, हाम्रो चासोको विषय होइन भनेझैंगरि पश्चिमा राष्ट्रहरूका केही शासकहरूले दम्भपूर्वक बेवास्ता गर्दाको परिणाम हो आज। यसको गाम्भिर्यतालाई समयमा नै बोध गरिदिएको भए आज इटाली, अमेरिका, स्पेन, इरान, कोरिया लगायत युरोप र पश्चिमा राष्ट्रहरूमा भाइरस फैलावटमा अनियन्त्रित भयावह आउँदैनथ्यो। अहिले चाइनाले भनिरहेको छ, हामीले बुहानमा भाइरस संक्रमणलाई पूर्ण नियन्त्रणमा लियौं। अब संक्रमणको जोखिम कम हुँदै गएको छ। चीन अरूलाई मलमपट्टी गर्न चिकित्सक र स्वास्थ्य सहायता सामग्री लिएर युरोप पुगेको देखिएको छ।

अनुभवहरूले भन्छ – कोरना भाइरस संक्रमणको रफ्तारभन्दा त्यसको रोकथामको गति अगाडि बनाउन सकियो भने मात्र संक्रमण नियन्त्रण गर्न सकिन्छ। बुहानको अनुभव र इटाली, स्पेन, फ्रान्स, इरान, सिङ्गो युरोप युएई, अमेरिकासम्मको अर्को अनुभव सकार र नकार दुवै अनुभवको जानकारी हामीलाई भइसकेको छ। बुहान शैलीमा युद्धस्तरमा डाटावेशमा काम गर्न, राज्य र निजि क्षेत्रका साधन, श्रोत, क्षमता र मेनपावरलाई एकीकृत नीतिका आधारमा केन्द्रित गरी बिकेन्द्रित परिचालनमा तिब्रता आवश्यक छ। सरकारले जे–जति गरेको छ, त्यो राम्रो छ। तर, कमाण्ड क्रन्ट्रोलमा परिचालन हुन अझ पुगेको छैन। परिमाणमूखी रिजल्टमा जोडदिनु पर्छ। बाघ मार्नलाई स्यालको खजानाले पुग्दैन। अहिले कोरोना हाम्रो नजरमा स्याल होला। तर, हामीले खजाना बाघ मार्न आवश्यक पर्ने जति नै तयार गर्नुपर्छ।

गाउँ र शहर अहिलेको स्थितिमा सुरक्षित छैन। गाउँ असुरक्षित छ। गाउँ गाउँमा रेमिट्यान्सको रूपमा केही मात्रामा कोरोना भाइरस पुगेको छ। तर, बाहिर प्रचारमा आउन सकेको छैन भन्ने अनुमान गर्नु अतिशयोक्ति हुनेछैन। युरोप, युएई र खाडी राष्ट्र र छिमेकी भारतबाट करिव ५ लाख नेपाली गाउँ पुगेका छन्। काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूबाट गाउँमा सुरक्षित होइन्छ भनेर १२ लाखभन्दा बढी नेपाली गाउँ पसेका छन्। सीमा बन्द छ भने पनि भित्रभित्रै गल्लीबाट लुकिछिपी आवतजावत रोकिएको छैन।

अहिले संक्रमितको संख्या नगन्य छ। दिनमा १ जनामा भाइरस संक्रमण भेटिएको छ। हामीसँग पर्याप्त प्रभावकारी ल्याप उपकरण सबैतिर नभएर पनि होला। ७ वटै प्रदेशमा छिटो ल्याप, उपकरण, स्वास्थ्य सुरक्षा सामग्री पुग्नुपर्छ। चाइनाबाट हिजो नेपाल भित्रिएको स्वास्थ्य सामग्री सम्बन्धित प्रदेशमा सरकारले पठाउँदैछ। स्वागतयोग्य छ। भाइरसको चरित्र र हाम्रो स्प्रिटमा कसले कसलाई उछिन्ने हो भन्ने कुरामा नियन्त्रण भरपर्ने हुँदा छिटो उपकरण सबैतिर पुग्नपर्छ भन्ने जनचाहना अस्वभाविक मान्नु हुँदैन। संक्रमण फैलिएर महामारीको रूप लियो भने अनुमान गर्न गाह्रो भइरहेको छ हाम्रो स्थिति कति डामाडोल होला। शहरको तुलनमा गाउँमा संक्रमणको प्रचार र सर्तकता कमी छ।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको केन्द्रीय सरकार संक्रमण रोक्न सम्पूर्ण जिम्मेवारीका साथ लागिपरेको छ। सरकार समाजको प्रतिनिधि हो। सबैको सहयोग बिना सरकार पूर्ण हुन सक्दैन। सबैले सरकारलाई सहयोग गर्नुपर्छ। प्रदेश र स्थानीय सरकारको समन्वय र क्रियाशीलता बढाउनुपर्छ। केन्द्र, प्रदेश र स्थानीय तहमा सर्वदलीय सहयोय संयन्त्र बनाउनुपर्छ। सर्वदलीय स्वयंसेवक मेनपावर खडा गर्नुपर्छ। स्थानीय सरकारको स्प्रिट र गति पुगेको छैन। तथ्यमा आधारित रिर्पोट र डाटाहरू छैन। हचुवामा डाटा र रिपोर्ट टिपिएका छन्। सूचनाको मिसयुज भएको छ।

स्थानीय सरकारले वडा, टोल र घर घरमा गएर तथ्य रिपोर्टमा आधारित तथ्यांकहरू संकलन गर्नु आवश्यक छ। गाउँ र शहरका टोलटोल र घरघरमा गएर संक्रमितहरूको खोजी गर्नुपर्छ। बाहिर स्वस्थ र तन्द्रुस्त देखिएको मानिसभित्र भाइरस संक्रमण भइसकेको हुन सक्छ। संक्रमणको लक्षण छिटो नदेखिएर ढिलो देखिन पनि सक्छ। त्यो बेलासम्म उसले धेरैमा संक्रमण फैलाई सकेको हुन सक्छ। स्थानीय सरकारले मुवायल फोनबाट पठाउने सूचनामा मात्र भर नपरी वडास्तरसम्म सर्वपक्षीय संयन्त्र बनाएर सर्वपक्षीय स्वयंसेवक स–साना सुरक्षित टिम तयार गरी वडा वडा र घरघरमा हप्तामा कम्तिमा ३ पटक घरघर पुग्ने र प्रत्येक घरपरिवारको स्वास्थ्य अवस्था बुझ्ने, उनीहरूलाई सुरक्षाका बिधिहरू अपनाउन प्रेरित गरिरहनुपर्छ।

लकडाउनका सम्पूर्ण निर्देशनहरू अनुसार १ मिटरको सामाजिक र पारिवारिक दुरी बनाएर बस्ने, पटकपटक मिचीमिची साबुन पानीले हात धुने, सेनिटाइजर र माक्सको प्रयोग गर्ने, सफा र उमालेको पानी मात्र पिउने। घरभित्रै बसेर नेट, मोवाइल, फोनमार्फत् कामहरू सल्ट्याउने लगायतका विषय पालना गर्ने गराउने, निरीक्षण गरी दैनिक अपडेट गराइरहनुपर्छ। विदेशबाट गाउँ फर्किएकाहरूको घर घरको रिर्पोट को कुन देशबाट आयो, कहिले आयो, कहाँ कहाँ गयो र क–कसलाई भेट्यो ? तथ्याङ्क ल्याउनुपर्छ। संक्रमित मुलूकहरूवाट आएकाहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्न बाध्य पार्नुपर्छ। चुरोट, बिडी, जङ्कफुड निषेध गर्नुपर्छ। संक्रमणका कुनै लक्षण देखिनेबित्तिकै उपचारको प्रबन्ध मिलाउनुपर्छ। यी काममा स्थानीय सरकार सक्रिय हुनुपर्छ।

हरेक नागरिकले लकडाउन सेल्फ क्वारेन्टाइनकै एउटा अंङ्ग हो, तोकिएको समयसम्म निर्देशनहरू पालना गरी स्थिर भएर एकअर्कोमा एक आपसमा टर्च नगरिकन अलग बस्ने आदत बसाल्नुपर्छ। यो नै संक्रमणको प्रथम रोकथामको विधि हो। जनप्रतिनिधिहरूको नेतृत्वमा गाउँ, नगरपालिका, वडा र टोलसम्म सर्वपक्षीय समन्वय संयन्त्र बनाएर, टास्क फोर्स बनाएर मानिसलाई घर भित्रबाट बाहिर ननिस्कने वातावरण तयार पार्न, दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र बितरण सहज बनाउने र कृतिम अभाव रोक्ने काम गरिनुपर्छ।

दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका वास्तविक श्रमिक मजदुरहरूलाई लकडाउन अवधिभरि उसको घरमा बिहान बेलुका चुल्हो जल्ने लगायत अत्यावश्यक वस्तुहरू प्राप्त गर्न सरकारले बजेटको व्यवस्था गरिदिनुपर्छ। चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न उनीहरूको सम्मान र जीवन बिमाको व्यवस्था गर्नुपर्छ।

सर्वदलीय स्वयंसेवक समन्वय गरी नेपाल सरकार, विश्व स्वास्थ्य संगठनका सम्पूर्ण घोषित निर्णय, निदेशन, आह्वान र अपिललाई प्रत्येक घरघर र व्यक्ति, व्यक्तिमा लागू गर्न पठाउनुपर्छ। उनीहरूलाई चाहिने स्वास्थ्य सुरक्षा सामग्रीहरू र आधारभूत भत्ताको व्यवस्था गरिनुपर्छ। नेपाल सरकारले खडा गरेको कोषमा आफ्नो क्षमताअनुसार स्वेच्छिक सहयोगका लागि आम नागरिकसँग अपील गर्नुपर्छ। संक्रमण फैलावटका अन्तर्राष्ट्रिय गतिलाई ख्याल गर्दै, सम्भावित अवस्था हेरी आवश्यक पर्दा १ वडामा १ हजारसम्म बिरामी उपचार गर्न सक्ने गरी आवश्यक स्वास्थ्य उपकरण र औषधी प्रत्येक वडासम्म पुग्ने गरी आयत गर्नुपर्छ।

एक वडामा १००० सम्म उपचार गर्न अट्ने गरी आवश्यक पूर्वाधार संरचना खडा गर्न ध्यान दिनुपर्छ। सिङ्गो राष्ट्र महामारीको संकटमा बेलामा एकढिक्का हुनुपर्छ। सम्पूर्ण नेपालीले आफूसँग भएका स्रोत, साधान र क्षमतालाई राज्यको आवश्यकतामा प्रयोग गर्न प्रेरित गरेर सरकारलाई अगाडि बढ्न सहयोग गर्नुपर्छ। सरकारको कमाण्डमा तीनै तहका सरकार, सरकारी र गैरसरकारी स्वास्थ्य केन्द्र, चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी, आम नागरिकहरूले अहिले निर्वाह गरिरहेको भूमिकालाई सम्मान गर्दै, आ–आफ्नो जिम्मेवारी बहन र अनुशासन पालना गर्ने गराउने गर्नुपर्छ।

यस प्रक्रियामा अझ एकरूपता बनाएर अभुतपूर्वक राष्ट्रिय एकता पैदा गरी कोभिड–१९ लाई नियन्त्रण गर्नुपर्छ। नेपाल सरकार, राजनीतिक दलहरू, निजि क्षेत्र, आम नागरिकहरू उच्च मनोबलका साथ दृढतापूर्वक एकढिक्का होऔं। यसरी मात्र हामीले सम्भावित महामारीको जोखिमलाई टार्न सक्षम हुनेछौं।

Comments
Loading...
You might also like