राष्ट्रिय युवा संघको परिपत्र : ‘जहाँ छौं, त्यहीँ बसेर स्वयंसेवा गरौं’

  • 4.7K
    Shares
0

काठमाडौं, १७ चैत्र। सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघ नेपालले आफू रहेकै ठाउँबाट संकटमा परेका नागरिकलाई सहयोग गर्न युवाहरुलाई परिपत्र र निर्देशन गरेको छ। सोमबार संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा जारी परिपत्रमा जनताको सेवामा परिचालित हुन युवाहरुलाई अपील गरिएको छ।

परिपत्रमा भनिएको छ, ‘विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यति बेला मानव जाति नै अस्तित्वको सङ्कटसँग लडिरहेछ। हाम्रो मुलुक र हामी पनि यही लडाइँमा छौँ। यस्तो सङ्कटको गम्भीर अवस्थामा हाम्रो सङ्गठनले लडाइँको अग्रपङ्क्तिमा हुनु जरुरी छ।’

‘यही लडाइँको एक हिस्साको रुपमा सङ्क्रमण रोक्नका लागि मुलुक लकडाउनको अवस्थामा छ’ परिपत्रमा भनिएको छ, ‘सङ्क्रमणको जोखिम, अन्य स्वास्थ्य समस्या तथा ‘दिनभरि काम गरेर छाक टार्ने हाम्रो वर्ग’को समस्या नै आजको मुख्य समस्या हो। अतः यही गाम्भीर्यका साथ जारी गरिएको विशेष परिपत्र मातहतका कमिटीहरूमा लागू गर्न÷गराउन निर्देशन गरिन्छ।’

६ बुँदे सर्कुलरमा भनिएको छ,

१. देशभर रहेको हाम्रो सङ्गठन र यसका नेता, कार्यकर्तादेखि सदस्यसम्म हामी जहाँ छौँ, त्यहीँबाट यो लडाइँमा सहभागी बनौँ। जहाँ छौँ, त्यहीँ सक्रिय होऔँ। त्यहीँको समस्यासँग जुधौँ र हाम्रा स्थानीय सरकार तथा प्रशासनसँगको सहकार्यमा असहजतालाई सहजतामा बदल्न लागि परौँ।

. सक्रङ्मणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न/गराउन चेतनामूलक काम गरौँ। आफ्नो स्थानीय समुदायभन्दा बाहिरबाट घर फर्केकाहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने व्यवस्थाका लागि र अनुशासनका लागि उत्प्रेरित गरौँ। यो कार्यमा पनि स्थानीय सरकार, प्रशासन र स्वास्थ्य संस्थाको सहयोगी बनौँ। सरकारी निकाय र जनसुमदायबीच पुलको काम गरौँ।

३. लकडाउनको अवस्थामा जनसमुदायको स्वास्थ्यको विषय सबैभन्दा ठुलो हो। सङ्क्रमणको सङ्केत देखिएकाहरूमाथि हेरविचार गरौँ र उनीहरूलाई स्वास्थ्य संयन्त्रसम्म पुर्‍याउन भूमिका खेलौँ। उनीहरूको मनोबल उच्च राख्न सहयोग गरौँ। अन्य प्रकारका जटिल स्वास्थ्य समस्याहरूमा पनि यही भूमिका खेलौँ।

४. स्थानीय बसोबासबाहेक अन्य क्षेत्र तथा भूगोल (मुख्यतः विदेशबाट आएका) हरूको लगत सङ्कलन गर्न स्थानीय सरकारलाई सहयोग गरौँ। उनीहरूलाई कम्तीमा १४ दिन छुट्टै राख्न, बस्न सहजीकरण गरौँ।

५. लकडाउनले दिनभरि काम गर्ने श्रमिक वर्ग सबैभन्दा समस्यामा परेको छ। यसर्थ सरकारले घोषणा गरेको राहतको सहजीकरणमा स्थानीय सरकार र श्रमिक समुदायलाई जोडौँ/सहजीकरण गरौँ। उनीहरूको गाँस, वासका लागि सङ्गठनका नेता, कार्यकर्ता तथा सदस्यहरूबाट राहत कार्यको व्यवस्था गरौँ। स्मरण रहोस्, यस्तो राहतका लागि कुनै पनि आर्थिक सहयोग वा राहत सामग्री सहयोग सङ्कलन गर्न पाइने छैन र यो दण्डनीय हुनेछ। तर स्थानीय समुदायको स्वेच्छिक सहयोग अस्वीकार्य हुँदैन। त्यसै गरी राहतको सदुपयोगमा जुटौँ, आवश्यक नछुटोस्, अनावश्यकमा दुरुपयोग नहोस्।

६. सङ्गठनको केन्द्रले तय गरेका कोरोना सङ्क्रमणसम्बन्धी चेतनामूलक प्रचार सामग्रीको व्यापक प्रचार÷प्रसार गरौँ र सङ्कटको अवस्थामा जनसमुदायको साथ नछोडौँ।

Youth sorcular

Comments
Loading...
You might also like