उत्पादनलाई जोड दिँदै कृषकको सम्वृद्धिको निम्ति धान रोपाइँ

  • 36
    Shares
0

थम्मन थापा/ बागलुङ, १६ असार। पहिले पहिले हराभरा हुने हाम्रा खेतबारी आजकल बाँझो जमीनमा परिणत हुँदै गएका छन्। कृषितर्फ मानिसको आकर्षण कम हुँदै जानु र मानिसहरूको वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दै गएकोले कृषि उत्पादनमा निकै कमि आउन थालेको छ।

हाम्रा धान फल्ने सुन्दर फाँटहरुमा पछिल्लो समय धमाधम घरहरु निर्माण भइरहेका छन्। कृषि सम्बन्धी सरकारका धेरै कार्यक्रम त प्रत्येक बजेटमा समेटिन्छन् तर त्यी सबै व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन्। आजकल गाउँघरका खेत बारी बाँझै देखिन्छन्। खेती किसानी गर्न छाडेपछि त्यही जमीनमा घाँस र रूखहरूले भरिएका छन्।

हामी वर्षेनी छिमेकी मुलुक भारतबाट खाद्यान्न भित्राउन बाध्य छौं। चामल, गहुँ, देखि मकै लगायतका थुप्रै खाद्यान्नका सामग्री ट्रकका ट्रक आउने गरेका छन्। कृषि प्रधान देश नेपालमा कृषि केवल सस्तो लोकप्रियता र नाराका लागि सीमित हुँदै जान थालेको छ। कृषकले उत्पादन गरेका सामग्री र खाद्यान्नको न उचित मुल्य छ न उचित बजार जसको कारण कृषिप्रति मानिसको आकर्षण दिनहुँ घट्दो क्रममा छ। कृषिमा लगानीको वातावरण नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ।

गत वर्षको पौष महिनामा विश्वव्यापी माहामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो छ। अहिले शहर बजार भन्दा गाउँमा सुरक्षित महसुस गर्दै मानिसहरू गाउँमा छन्। उनीहरूले वर्षौंदेखि बाझा जमीन र खेतबारीमा अहिले खेतीपाती गर्न थालेका छन्। जसले पहिले पहिले जस्तै हाम्रा खेतबारीमा कृषिले प्राथमिकता पाउन थालेको छ। सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अरबौं बजेट विनियोजन गर्दै आएको छ।

अनुदान पनि उत्तिकै दिन थालेको छ तर कृषि क्षेत्रमा निकै कम संख्यामा मानिसहरू आवद्व छन्। कृषि प्रदान देश नेपालमा धान रोपाइँ विशेष मानिन्छ। वर्षको १ दिन असार १५ गतेलाई प्रत्येक वर्ष हामी राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएका छौं। १७ औं राष्ट्रिय धान दिवस गलकोटमा पनि सामूहिक धान रोपाई गरेर मनाइएको छ। गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासको आयोजनामा धान दिवस तथा असार १५ मनाइएको हो। कृषि उत्पादनलाई प्रोत्साहन गर्दै पर निर्भरतालाई कम गर्न र बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न यो कार्यक्रम आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए।

उनले भने उत्पादनलाई जोड नदिने हो भने भाषण र गफले मात्रै देश समृद्ध हुँदैन। कृषि प्रधान देश नेपालमा कृषिको प्रचुर सम्भावना छ हामीले कृषिमार्फत् आम्दानीको स्रोत बढाउनु पर्छ। काडेबास स्वास्थ्य चौकीको केही वर्षदेखि बाँझो रहेको जमीनमा धान रोपाई गरिएको वडाध्यक्ष कँडेलले बताए। हामीले कृषकलाई कृषिमा आकर्षित गर्दै प्रोत्सान गर्न यो कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष कँडेलको भनाइ छ। गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वयमा उक्त धान रोपाइँ गरिएको हो। कार्यक्रममा कृषकहरुलाई टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो। काँडेबासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ।

सो कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमूख भरत शर्मा गैरे, नगर उपप्रमूख रेणुका काउचा मगर, प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमूख भरत शर्मा गैरेले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न गलकोट नगरपालिका सदैव क्रियाशील रहेको बताए। कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान व्यक्ति कृषक नै भएको उनको भनाइ छ। गलकोट नगरपालिकाका नगर उपप्रमूख रेणुका काउचा मगरले हामीले वर्षको एक दिन मात्र कृषिका कुरा नगरेर किसानलाई यसतर्फ आकर्षित गर्न आवश्यक उपकरण, बीउ बिजन सहयोग सँगसँगै कृषिमा आधुनिकीकरण गर्नु पर्ने धारणा राखे। १७ औं राष्ट्रिय धान दिवसको अवसरमा गलकोट नगरपालिकाले सबैमा शुभकामना समेत व्यक्त गरेको छ। धान रोपाइँमा स्थानीय हल गोरु सहितका हली, बाउसे, खेतालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। गलकोट नगरपालिका विगत केही वर्ष यता राष्ट्रिय धान दिवस मनाईदै आइएको छ। धान रोपाइँमा खेतालीहरु, बाउसेहरुले निकै रोमाञ्चक पूर्वक एक अर्कामा हिलो छ्यापा छ्याप गरेका थिए।

Comments
Loading...
You might also like