महिला छाउगोठ भत्काउदा खुसी भए

  • 20
    Shares
0

काठमाडौं । महिनावारी हुदाँ छाउगोठमा बस्न नपर्ने भएपछि महिलाहरु खुसी भएका छन् । जनप्रतिनिधिको अगुवाईमा स्थानीय प्रशासनको सहयोगमा छाउगोठ भत्काइएको हो । सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदैछ ।

अझ साँघुरा छाउगोठमा बस्दा सर्पले डस्ने, कठ्याङ्ग्रिने र निसासिएर महिलाको ज्यान नै गइरहेको छ । यस्तो नियतिबाट छुटकारा पाउने आशाले यतिबेला २१ वर्षीय कमला टमटा खुसी छिन । ‘छाउगोठमा सर्प, जनावरको डर हुन्छ । सरकारले भत्काएपछि अब घरभित्रै बस्न पाउने भयौँ,’ खुसी हुँदै उनले भननिन । महिनावारी हुँदा महिलाले सफासुग्घर भई पोषिलो खाना खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ । यस्तो बेला यहाँका महिलाले भने न सुकिला घरमा बस्न पाएका छन्, न त दूध, दहीजस्ता पोषिला वस्तु खान नै पाएका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले पुस्तौँदेखि महिनावारी हुँदा असुरक्षित छाउगोठमा बस्दै आएका महिलाको अपार समर्थन पाएको बताए । गत मङ्सिर १५ गते साँफेबगर–३ की पार्वती रावतको छाउगोठमै ज्यान गएपछि सङ्घ सरकारले समेत चासो दियो । पुस ८ गते गृह मन्त्रालयले छाउगोठ नष्ट गर्न निर्देशनसहित जिल्लामा परिपत्र गरेको थियो । सोहीअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको संयन्त्रले सर्वपक्षीय बैठक बसी छाउगोठ भत्काउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

हालसम्म अछाममा करिब पाँच हजारवटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये सात सय जति छाउगोठ स्वस्फूर्त रूपमा भत्काइएको कार्यालयको तथ्याङ्क छ । महिला, किशोरी तथा जनप्रतिनिधिको साथ रहेकाले छाउगोठ जस्तो निकृष्ट प्रथालाई इतिहासमा थन्क्याउन सरकारी अभियानले सफलता हासिल गर्ने प्रजिअ श्रेष्ठको विश्वास छ । असुरक्षित छाउगोठमा बसेर कति जनाको ज्यान गयो भन्ने तथ्याङ्क नभए पनि पछिल्लो एक दशकमा १४ जना महिलाको मृत्यु भएको रिपोर्टिङ गरिएको स्थानीय पत्रकार बताउँछन् ।

अछाम सदरमुकाम मङ्गलसेनको आडैमा विरालतोली गाउँ छ । टमटा, ढोली, साउदलगायतको बसोबास रहेको यो गाउँका छाउगोठहरू गएको साता नै भत्काइसकिएको छ । वडाध्यक्ष पदमबहादुर भाटसहित गोरखापत्र समाचारदाता विरालतोलीका धामी तुला ढोलीको घर पुग्दा उनी आँगनमा घाम ताप्दै थिए । आँगनछेउमै भर्खरै भत्काइएको छाउगोठको भग्नावशेष देख्न सकिन्थ्यो । भत्काइएको छाउगोठबारे प्रतिक्रिया लिन खोज्दा उनी एकाएक काम्न थाले । काम्दै आफूले छाउगोठको ढुङ्गा छोएका कारण देवता चढेको कुरा फलाके । तुरुन्तै उनका परिवारले केही अक्षता ल्याइदिए ।

‘‘हामी हजुरलाई अपमान गर्दैनौँ । हामी महिलाहरूको स्वास्थ्य र ज्यानको सुरक्षा मात्र गर्न चाहन्छौँ,’’ भनी वडाध्यक्ष भाटले आश्वस्त पारेपछि मन्त्र फलाक्दै वडाध्यक्षलाई सिन्दुरको टीका लगाइदिए। अनि बल्ल ८० वर्षीय ढोली शान्त भए । ढोलीका छोरा हरि नेपालीका अनुसार छाउगोठ भत्काएदेखि दैनिक उनी यसरी काम्छन्  । ‘हामीले सरकारको नियम नमान्ने भन्या हैनौँ तर मेरो परिवारलाई केही भए कसले जिम्मा लिन्छ ?’’ २८ वर्षीय नेपालीले वडाध्यक्ष भाटलाई प्रश्न गरे ‘‘मेरा ८० वर्षका बुबाको ज्यान गए को जिम्मेवार हुन्छ?’’

छाउ भत्काउने सरकारको अभियानमा आफ्नो समर्थन रहेपछि धामी काम्ने बुबालाई दुःख भएको हेर्न नसक्ने हरिको परिवार बत९ाउँछन् । यही डरबीच पनि उनले आफ्नी श्रीमती महिनावारी हुँदा बस्नका लागि भने घरभित्रै एउटा कोठा खाली गरेका छन् ।गोरखापत्रको शान्ति लामाको रिपोर्ट हो ।

Comments
Loading...
You might also like