तरुण दलको परिपत्र : ‘स्थानीय प्रशासनसँग मिलेर स्वयंसेवा गर्नुस्’

  • 431
    Shares
0

काठमाडौं। नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले स्थानीय प्रशासनसँग मिलेर कोभिड–१९ का बारेमा जनचेतना र लकडाउनका कारण समस्यामा परेका जनताको उद्दारको कार्यमा लाग्न आफू मातहतका कमिटीहरुलाई परिपत्र जारी गरेको छ।

मंगलबार तरुण दलका अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी गरिएको परिपत्रमा भनिएको छ, ‘यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न/गराउनका लागि जिल्ला अध्यक्षज्यूहरुलाई यो परिपत्र गरिन्छ।’ यस्तो छ तरुण दलको परिपत्र।

विषय : परिपत्र

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिंगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नुपरेको छ। हालसम्म यो भाइरसको नियन्त्रण र रोकथामका लागि कुनै पनि औषधी उपचार र थप उपाय पत्ता लाग्न नसकेको कारण व्यक्तिगत रुपमा अपनाइने सर्तकता कायम गर्नुपर्ने सामाजिक दुरी नै यो भाइरस रोकथामको उपाय हो। त्यसैकारण सरकारद्वारा एक साता अघिदेखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गतेसम्मका लागि थप गरिएको छ। यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न/गराउनका लागि जिल्ला अध्यक्षज्यूहरुलाई यो परिपत्र गरिन्छ।

१. बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने।

२. सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्ने।

३. देशका विभिन्न भू–भागबाट तपाईहरुको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने।

४. लकडाउनका कारण आफनो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने।

५. खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजकता र एकअर्काबीच दुरी कायम गर्नुपर्ने हुन्छ। यसका लागि स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने।

६. लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक सहयोग गर्ने।

७. भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरिका विभिन्न सिमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय प्रशासनसँग समन्वय गर्ने।

८. लकडाउनको समयमा आफनो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफू, आफनो परिवार र समाजलाई सुरक्षित राख्ने।

९. अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरी दिनुहुन अनुरोध गरिन्छ।

Comments
Loading...
You might also like