घुम्ती सेवाबाट ग्याँस बितरण गर्ने आयल निगमको तयारी

  • 95
    Shares
0

काठमाडौं। नेपाल आयल निगमले ग्यास आपूर्ति असहज बन्दै गएपछि आफैँले असहाय, अपांगता भएका, वृद्धाश्रमलगायत काठमाडौंका क्वारेन्टाइन भएका स्थानमा घुम्ती सेवाबाट ग्यास वितरण गर्ने भएको छ।

निगमका प्रबन्ध–निर्देशक सुरेन्द्रकुमार पौडेलले दैनिक दुई गाडी ग्यास घुम्ती सेवामार्फत अस्पताल, वृद्धाश्रम, मानव आश्रम, दीर्घरोगी, बिरामी, असहाय, अनाथालय, अपांग, किरिया बसेका घर, पुनर्उत्थान केन्द्र, सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय वा व्यक्ति, सरकारले तोकेका क्वारेन्टाइन र अत्यावश्यक काममा खटिएका मजदुर तथा कर्मचारीकहाँ वितरण गर्ने निर्णय भएको बताए।

‘ग्यास नै नपाएर कसैको चुलो ननिभोस् भनेर उद्योगीसँग मिलेर यस्तो व्यवस्था गरेका हौँ,’ पौडेलले भने, ‘हाम्रो यो सेवाबाट तोकिएका सबै वर्गका मानिसले धेरैभन्दा धेरै लाभ लिनुहुनेछ भन्ने विश्वास गरेका छौँ।’ मंगलबार रिङरोड क्षेत्रमा ग्यास वितरण गर्ने कार्यतालिका बनाइएको छ। यसका लागि निगमको टेकुस्थित कार्यालयमा विभिन्न सात कम्पनीका तीन सय ६० थान ग्यास तयार पारिएको छ।

निगमको आधिकारिक ट्रेड युनियन कर्मचारी संघका अध्यक्ष गोपाल राईका अनुसार नेपाल, सुगम, एभरेष्ट, एसटिसी, बाबा, श्री र सगर ग्यास वितरण गरिनेछ। राईले भने, ‘हामीले नियमित रूपमा कम्तीमा दुई गाडी ग्यास तोकिएका क्षेत्र र व्यक्तिलाई घरमै पुर्‍याउने गरी वितरण गर्ने योजना बनाएका छौँ।’

पछिल्लो समय ग्यासको आपूर्ति पर्याप्त भए पनि बजारमा अपुग देखिएको निगमले दाबी गर्दै आएको छ। सामान्य अवस्थामा मासिक करिब ३९ हजार मेट्रिक टन ग्यास खपत भइरहे पनि यो महिना (मार्च) मा करिब ५० हजार मेट्रिक पुग्न लागेको निगमले जनाएको छ। बढ्दो माग पूर्ति गर्न थप ग्यास आयातको प्रबन्ध मिलाइएको पनि निगमले जनाएको छ। हाल बजारमा दैनिक एक लाख सिलिन्डर खपत भइरहेको छ।

यसैबीच, नेपाल ग्यासले सिलिन्डरमा रोग निवारक औषधि छर्केर मात्र बजार पठाउन थालेको छ। नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले उपभोक्ता र डिलरको स्वास्थ्यलाई ध्यान दिएर स्यानिटाइज गरेर मात्र सिलिन्डर बजारमा पठाउन थालेको जानकारी दिए।

Comments
Loading...
You might also like