रुपेन्देहीका स्थानिय सरकारले विपन्नका लागी धमाधम राहत वितरण शुरु

  • 11
    Shares
0

रुपन्देही, १८ चैत। रुपन्देहीका स्थानीय सरकारले विपन्न परिवारका लागि धमाधम विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट राहत वितरण गर्न लागेका छन्। जिल्लाको कञ्चन गाउँपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट करिब डेढ क्विन्टल चामल खरिद गरी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

कोरोना भाइरसलाई परास्त गर्नका लागि उक्त कोषमा ६ लाख रुपैयाँ नगद राहत सङ्कलन हुनेसमेत अध्यक्ष क्षेत्रीले बताए । गाउँपालिकामा भएको क्वारेन्टाइनमा अहिले ११ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले टाइगर ब्रोअरी इन्डष्ट्रिजले उपलब्ध गराउने १ सय क्विन्टल चामल वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्थानीय सहकारीले २ लाख रुपैयाँ गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने आश्वासन आएको उल्लेख गर्दै अध्यक्ष चौधरीले मजदुरी गरेर खाने, विपन्न परिवारका लागि राहत सङ्कलन भइरहेको उल्लेख गरे ।

भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा ल्याउन खोज्दा झगडा गर्न थालेकोे र उनीहरुलाई क्वारेन्टाइमा ल्याउन स्थानीय प्रशासनले सहयोग नगरेको आरोप लगाए । अहिले सो गाउँपालिकाको क्वारेन्टाइनमा १५ जना रहेका छन् । सैनामैना नगरपालिकामा पनि अहिलेसम्म २ लाख रुपैयाँ विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ ।

सो रकममध्ये खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, सैनामैनाबाट १ लाख, नवदीप बचत तथा ऋण सहकारी संस्थाबाट ७५ हजार र पर्रोहा बचत तथा ऋण सहकारी संस्था सैनामैनाबाट २५ हजार रुपैयाँ नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ । गैडहवा गाउँपालिकाले पनि विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण छिट्टै शुरु गर्ने तयारी भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकामा कति विपन्न समुदायका परिवार छन् भन्ने तथ्याङ्क आएपछि विपद् तथा प्रकोप व्यवस्थापन कोषको बजेटबाट चामल, दाल खरिद गरेर वितरण गरिने जानकारी दिए । गाउँपालिकाको क्वारेन्टाइनमा ८ जना छन् । सियारी गाउँपालिकाले पनि राहत वितरणका लागि विपन्न परिवारको पहिचान भइसकेकाले वितरणको तयारी भएको जनाएको छ ।

वितरणका लागि १०० क्विन्टल चामल, १३ क्विन्टल दाल र १२ क्विन्टल नुन खरिद भएको र त्यसमा पनि छाक टार्न समस्या भएका अति विपन्न परिवारलाई एक साताका लागि राहत वितरण गरिने अध्यक्ष अयोध्या थारुले जानकारी दिए । २५ लाख रुपैयाँको विपद् कोषबाट बजेट खर्च हुने गरी सो राहत वितरण गर्न लागिएको हो

Comments
Loading...
You might also like