बिपन्न परिवारलाई राहत बाँड्ने महाशिला गाउँपालिकाको निर्णय

  • 23
    Shares
0

निर्मल पौडेल/ पर्वत, १८ चैत। पर्वतको महाशिला गाउँपालिकाले लकडाउनको बेलामा दैनिक मजदुरी गरेर गुजारा चलाउने परिवार तथा मजदुरहरुलाई रु २ हजार बरावरको राहत दिने भएको छ। विश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)  कारण देश लकडाउन भैरहेको अवस्थामा ज्याला मजदुरी गरेर जिवन गुजारा चलाइरहेका बिपन्न गरीब तथा मजदुर परिवारहरुलाई छाक टार्न समस्या नहोस् भन्ने हेतुले रु २ हजार रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको हो।

मंगलबार महाशिलामा सम्पन्न गाउँ कार्यपालिकाको बैठकले गाउँ कार्यपालिका भित्रका ६ वटै वडामा रहेका १ सय ५६ घर परिवारलाई रु २/२ हजारका दरले उनीहरुको घरमानै गएर खाद्ययान्न वितरण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जिवन उच्चै ठकुरीले जानकारी दिए। रु २ हजार बराबरको उक्त राहत बुधवारबाट वडा कार्यालयले वितरण गर्ने भएको हो।

गाउँपालिका भित्रका वडाहरुमा स्थापना गरिएका राहत कोषलाई एकीकृत गरी सबैलाई समान हुने हिसाबले एकद्धार प्रणालीबाट राहत वितरण गरिने भएको हो। यसरी राहतको घोषण गर्ने गाउँपालिका जिल्लामानै पहिलो रहेको छ। विपन्न परिवारमा आवश्यक चामल दाल नुन तेल मसला लगायतका खाद्यान्न वितरण गरिने ठकुरीको भनाइ रहेको छ।

महाशिला गाउँपालिकाका स्थानीय मात्र नभइ विकास निर्माणका कामका लागि अन्यत्रबाट गाउँपालिकामा बसोवास गर्दै आइरहेकाहरुलाई पनि उक्त राहत प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ। जिल्लाको मध्य दक्षिण भेगमा अवस्थित गाउँपालिकामा १ सय ५६ जना गरीब तथा निम्न आय हुने बिपन्नको सूचिमा समावेश गरिएको छ।

उक्त बैठकले कोरोना नियन्त्रणका लागि धुवाँकोट महाशिला क्याक्पसमा निर्माण गरिएको १५ शैयाको अस्थायी क्वारेन्टाईनलाई गाउँपालिकाको साझा क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ। गाउँपालिकाका ६ वटा वडाहरुमा बाहिरबाट आएका तथा गाउँपालिका भित्र कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई उक्त क्वारेन्टाईनमा नै राख्ने र आवश्यक परेमा थप क्षमता वृद्धि गर्दै जाने समेत निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बताए।

यसैगरी गाउँपालिका भित्र रहेका खाद्ययान्न पसलहरुको अनुगमन गर्ने र बजार भाउभन्दा बढि असुली गर्नेलाई कडा कारबाही गर्ने, अभावमा खाद्ययान्नको आपूर्तिका लागि सहज वातावरण सिर्जना गर्ने, गाउँपालिकाका जेष्ठ नागरिक तथा वृद्धवृद्धा दीर्घ रोगीहरुलाई तथा नियमित औषधि सेवन गर्नेहरुलाई घरमानै औषधि उपलव्ध गराउने, निर्णय गरिएको अध्यक्ष पौडेलले बताए। बैठकले गाउँपालिकामा भित्रने तथा बाहिरिने नाकाहरुमा चेक जाँचका लागि संयमसेवक परिचालन गर्ने र आवतजावतमा कडाई गर्ने निर्णय समेत गरेको छ।

Comments
Loading...
You might also like