हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू

  • 64
    Shares
0

काठमाडौं, १८ जेठ। जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ। देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले लुटेरा र अराजकहरूले हिंसा फैलाएको आरोप लगाएका छन्। गत सोमवार मिनीयापलिसमा अफ्रिकी अमेरिकी समुदायका ४६ वर्षीय फ्लोइडलाई प्रहरीले समातेपछि उनले ज्यान गुमाएका थिए।अमेरिकाभरि न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडपहरु भएका छन्। डेरेक शौभिन नामक ४४ वर्षीय पूर्वप्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको छ। उनी घटनापछि पदमुक्त भएका थिए। उनलाई सोमवार अदालतमा पेस गरिनेछ।

इन्टरनेटमा भाइरल बनेको एउटा भिडिओमा शौभिनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देखिन्छ। फ्लोइडले बारम्बार आफूलाई सास फेर्न गाह्रो भएको बताएको पनि सुनिन्छ।
घटनास्थलमा उपस्थित अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन्।

अमेरिकाका कम्तीमा ३० वटा सहरमा ठूला प्रदर्शनहरू भएका छन्। शिकागोमा प्रदर्शनकारीहरूले दङ्गा प्रहरीलाई ढुङ्गा हाने। प्रत्युत्तरमा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। त्यहाँ शनिवार केही मानिसहरूलाई पक्राउ गरिएको छ।
लस एन्जलीसमा प्रहरीले भिड तितरबितर पार्न रबरको गोली प्रहार गर्‍यो। प्रदर्शनकारीहरूले बोतल प्रहार गरे तथा प्रहरीका गाडीमा आगो लगाइदिए। प्रहरीका क्षतिग्रस्त सवारीसाधनमाथि मानिसहरू उभिएका तस्बिरहरू सार्वजनिक भएका छन्। वाशिङ्टन डीसीमा दोस्रो दिन पनि ठूलो भिड राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर भेला भयो। एट्लान्टामा शुक्रवार भवनहरूमा तोडफोड भएपछि केही क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ।

मिनीयापलिस, न्यूयोर्क, माईयामी, एट्लान्टा र फिलडेल्फीयामा हजारौँ मानिसहरूले जुलुस निकाले। मिनीयापलिस, एट्लान्टा र फिलडेल्फीया, लस एन्जलीस, पोर्टल्यान्ड, लूईभिल तथा अन्य सहरमा रातभरि लागु हुनेगरी कर्फ्यू घोषणा गरियो। तर केही सहरमा प्रदर्शनकारीले निषेधाज्ञा उल्लङ्घन गरेका छन्। धेरै ठाउँमा लुटपाट भएको छ। मिनिसोटामा न्याश्नल गार्ड नामक अतिरिक्त सैन्य बललाई शुक्रवार रातिदेखि परिचालित गरिएको छ। शनिवार साँझ ट्रम्पले फ्लोइडको मृत्युबाट अमेरिकीहरूमा त्रास, आक्रोश र शोक भरिदिएको टिप्पणी गरे।

फ्लोरिडामा दुई अन्तरिक्षयात्री चढेको यान प्रक्षेपण गरिएपछि आफ्नो टेलिभिजन सम्बोधनमा उनले आफू शान्ति खोज्ने प्रत्येक अमेरिकीको साथ भएको बताए।तर उनले लुटपाट र अराजक गतिविधि भएको भन्दै त्यसको निन्दा गरे। उनले अहिले घृणाको साटो उपचार र अशान्तिको साटो न्याय आवश्यक भएको बताए। “म आक्रोशित भिडलाई मान्यता दिन्नँ -त्यसो हुँदैन,”उनले भने। ट्रम्पले मिनीयापलिसका नगरप्रमुख प्रदर्शन रोक्न असफल भएको आरोप लगाए। हिंसा नरोकिए न्याश्नल गार्ड परिचालन गरिने ट्रम्पले बताए।

जोर्ज फ्लोइडलाई के भएको थियो?
सोमवार राति प्रहरीलाई एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आयो। नक्कली नोट दिने भनिएका व्यक्ति जोर्ज फ्लोइड थिए। प्रहरीले उनलाई समातेर आफ्नो गाडीमा राख्न खोज्यो। तर आफूलाई बन्द ठाउँमा डर लाग्ने भन्दै उनी चढ्न मानेनन्।उनले प्रतिकार गरेको र हत्कडी लगाइएको प्रहरीको दाबी छ। घटनाको भिडिओमा कसरी विवाद भयो भन्ने देखिँदैन। शौभिनको घुँडा घाँटीमा भएको बेला उनले “मैले सास फर्न सकिनँ,मलाई नमार्नुहोस्” भनेको सुनिन्छ।

शवको प्रारम्भिक परीक्षण गर्दा ती प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा आठ मिनेट ४५ सेकेन्ड टेकेको देखिएको छ। फ्लोइड प्रतिक्रियाविहीन भएको झन्डै तीन मिनेटसम्म शौभिनले उनलाई छोडेनन्। उनले आफ्नो घुँडा हटाउनुभन्दा दुई मिनेटजतिअघि अरू प्रहरीले फ्लोइडको नाडी छाम्छन्। त्यसपछि अस्पताल लगिँदा एक घण्टापछि उनलाई मृत घोषित गरिन्छ।शौभिनलाई हत्याको अभियोग लगाइएको छ।

Comments
Loading...
You might also like