लकडाउन बढ्दै गएकोमा वाणिज्य महासंघ चिन्तित, पुनर्विचार गर्न आग्रह

  • 15
    Shares
0

काठमाडौं, १८ जेठ, नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनको अवधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ।महासंघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामका लागि विश्व नै लागिरहेको अहिलेको अवस्थामा विश्वका कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै गएको कुरालाई हामीले पनि मनन गर्नै पर्ने जनाएको छ।

लकडाउनले समस्या स्थगन मात्र गर्न सक्छ, समस्याको निदान गर्ने यो मात्र उपाय होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ, जारी विज्ञप्तिमा भनिएको छ। त्यसैले नेपालको सन्दर्भमा लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजबुद बनाउने, परीक्षणको दायरालाई फराकिलो बनाउँदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको महासंघले जनाएको छ।

लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कुल गार्हस्थ उत्पादनमा करिब ४ प्रतिशतको आर्थिक नोक्सानी भइसकेको, लाखौं मानिसहरू बेरोजगार भएका, उद्योग व्यवसाय थला पर्न थालेका र मानिसहरूको न्यूनतम बाँच्‍ने आधार समेत कमजोर बन्दै गएको महासंघले जनाएको छ। यस्तो विषम अवस्थामा लकडाउनको समयसीमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी पुनः जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ, जारी विज्ञप्तिमा भनिएको छ।

पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसँग पनि प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने महासंघको धारणा रहेको जनाएको छ। जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदुर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनर्विचार गर्न महासंघले माग गरेको छ।

Comments
Loading...
You might also like