भिमसेन नेवा: मयजू पुचद्वारा योमरी-पुन्ही विशेष कार्यक्रम सम्पन्न

1
लोकपाटी न्यूज

अस्मिना पाण्डे/बुटवल, १८ पुस। नेवारी कला संस्कृती जोगाउनु सबैको दायित्व भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। भिमसेन नेवाः मयजू पुच बुटवल ३ को आयोजनामा शुक्रबार आयोजना गरिएको योमरी-पुन्ही कार्यक्रममा बोल्दै नेवारी कला संस्कृतीलाई जोगाउनु पर्ने बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष चीन बहादुर गुरुङले सांस्कृतिक र धार्मिक महत्व बोकेका यस्ता पर्वहरुको जगेर्ना गर्न वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए। कुनै बेला नेवारी कला र संस्कृतीसंग जोडिएका पर्वमा घण्टौं हिडेर हेर्न जाने गरेको स्मरण गर्दै गुरुङले अहिले शहरका वल्लोपल्लो घरमा फरक संस्कृतीको बारेमा जानकारी पाइने बेला आएको बताए।

बुटवल उपमहानगरपालिकाका पूर्वउपमेयर तथा संस्थाका सल्लाहकार बिमल बहादुर शाक्यले योमरी पुन्हीको अवसरमा सुख शान्ति र समृद्धिको शुभकामना दिँदै योमरी पुन्हीको धार्मिक र सांस्कृतिक महत्त्वका बारेमा जानकारी गराएका थिए। योमरी चामलको पिठो, तिल, चाकु लागायतका सामग्रीको मिश्रणबाट तयार हुने परिकार भएकाले यो पोषणका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए। योमरी पुन्हीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै शाक्यले पुन्हीमा गणेश, कुबेर, लक्ष्मी, सरस्वती,अन्नपूर्ण, बसुन्धरा, भगवतीको पूजा अर्चना गर्नाले घर परिवारमा शान्ति र समृद्धि हुने जनविश्वास रहेको बताए।

pic

भिमसेन नेवा समाज अध्यक्ष तथा वडा नम्बर ३ का जनप्रतिनिधि लिला प्रसाद श्रेष्ठले ऐतिहासिक चाडपर्वहरुको सम्मान गर्नुपर्ने बताए। उनले सामूहिक कार्यक्रमको आयोजना गरेर महत्त्वपूर्ण कार्यको सुरुवात गरेको बताए। टोल बिकास संस्थाका अध्यक्ष आनन्द भगत श्रेष्ठले घरभित्र मनाउदै आएका यस्ता पर्वहरु सामूहिक रुपमा मनाउनु उचित भएको बताए। अर्घाखाँची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठले बोल्दै नेवारी कला संस्कृतिको जतिसुकै व्याख्या गरेपनि कमि हुने बताउदै नयाँ पुस्तालाई यस्ता संस्कृतीहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए।

संस्थाका सल्लाहकार लोक श्रेष्ठले भिमसेन नेवाः मयजुले आफ्नो पर्वको मूल्य मान्यतालाई आत्मसात गर्दै पुन्हीको अवसरमा कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गरे। यस्ता संस्थाहरुले संस्कृतीको जगेर्ना गर्दै सामाजिक काम गर्नुपर्नेमा जोड दिए।

भिमसेन नेवाः मयजू पुचका अध्यक्ष धनु श्रेष्ठले कुनै पनि पर्व सामूहिक रुपमा मनाउदा एक आपसमा आत्मीयता सामीप्यता र सद्भाव बढने हुँदा कार्यक्रमको आयोजना गरिएको बताइन्। संस्थाका अध्यक्ष धनु श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष चीन बहादुर गुरुङको प्रमुख आतिथ्यता,इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी प्रतित सिंह राठौरको आतिथ्य्ता, उपाध्यक्ष शारदा श्रेष्ठको स्वागत तथा भिमसेन नेवा समाजका सचिव गोपाल श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्