हाम्रो संघर्ष प्रतिगमनविरुद्ध होः नारायणकाजी श्रेष्ठ

Narayankaji_Shrestha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभालाई पुनस्थापित नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्। नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमविरुद्धमा जनतालाई सुसूचित बनाउने र जनदबाब सिर्जना गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए।

उनले भने, ‘असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधि सभालाई सुचारु नबनाउँदा सम्म र त्यसले सिर्जना गरेको प्रतिगमनको खतरालाई निस्तेज नपार्दा सम्म जारी रहने छ। त्यसैले यो आम जनतालाई सुसूचित गर्ने र संघर्षमा उतार्ने र व्यापक जनदवाव सृष्टि गर्ने कार्यक्रमको रुपमा आएको छ। घटनाक्रमको विकास सँगसँगै जनतालाई आन्दोलित गर्दै जुन प्रकारका संघर्षका रुपहरु हामीले दिनुपर्छ त्यो पछिल्लो दिनहरुमा दिनेछौं। तर हाम्रो आन्दोलनको कार्यक्रम पूर्ण शान्तिपूर्ण हुनेछ।’

संयोजक श्रेष्ठले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस भनेर खबरदारी गर्न समेत जनदवाव दिन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताए। सरकारको हस्तक्षेप र दबाव नहोस र संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस भनेर वातावरण बनाउन चाहेको पनि बताए।

उनले भने, ‘संविधान अन्तरगत क्रियाशिल संविधानले प्रस्ट आ-आफ्नो कार्यक्षेत्र परिभाषित गरेका संवैधानिक अंगहरुलाई कुनैपनि कोणबाट दवावमा राखेर काम गर्ने स्थिति उत्पन्न हुन दिन चाहन्नौँ। त्यसैले हाम्रो पार्टीले यो संघर्षको कार्यक्रम मार्फत जनदवावको वातावरण निर्माण गर्ने दायित्व पुरा गर्दैछौं। संविधान अन्तर्गत क्रियाशिल संवैधानिक अंगहरुले स्वतन्त्र ढंगले काम गर्ने वातावरण निर्माण होस्।’

उनले अघि भने, ‘हस्तक्षेप र दवाव कहिं कतैबाट नहोस र संवैधानिक अंगका पदाधिकारीहरुलाई संवैधानिक अंगहरुलाई अपमानित गर्ने, अवहेलना गर्ने हाम्रो सेटिङमा काम गर्छ भनेर प्रचार गर्ने जस्ता कामहरु गर्न नपाओस्। उहाँहरुले स्वतन्त्र र स्वच्छ ढंगले आफ्नो काम निर्वाह गर्न सकोस्। त्यस्तो वातावरण जनताले निमार्ण गरिदिनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्