पछिल्लो पाँच महिनामा चार खर्ब व्यापार घाटा

लोकपाटी न्यूज

काठमाडौं। चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ४ खर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको नेपालले ५० अर्ब ५ करोडको मात्र निर्यात गरेको हो ।

व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा भने १०.९१ प्रतिशतले कम हो । नेपालले गत वर्ष पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोडको सामान आयात गरेकोमा ४७ अर्ब ६१ करोडको निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा आयात ९.५९ प्रतिशत घटेको हो भने निर्यात ५।१२ प्रतिशतले बढेको हो ।

नेपालको वैदेशिक व्यापार स्थिति भने निरन्तर घट्दो दरमा छ। आयात घट्दै जाँदा निर्यात बढाउन नसकेकाले नेपालको वैदेशिक व्यापार पाँच महिनाको अवधिमा ८.४८ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा गत वर्ष ६ खर्ब २८ अर्बको व्यापार भएकोमा यो वर्ष ५ खर्ब ७५ अर्बको मात्र वैदेशिक व्यापार भएको छ ।

वैदेशिक व्यापारमा आयात–निर्यात हिस्सा दयनीय छ । चालू आवको पाँच महिनामा कुल व्यापारमा आयात हिस्सा ९१.३ प्रतिशत छ भने निर्यात हिस्सा ८.७ प्रतिशतमात्र हो । आयात निर्यात हिस्सामा गत वर्षको भन्दा केही सुधार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्ष आयात हिस्सा ९२.४३ प्रतिशत र निर्यात हिस्सा ७.५७ प्रतिशत थियो ।

समीक्षा अवधिमा नेपालले भारतसँग सर्वाधिक ३ खर्ब १० अर्बको व्यापार घाटा व्यहोरेको छ । पाँच महिनामा भारतबाट ३ खर्ब ४५ अर्ब ६९ करोडको सामान आयात गरेको नेपालले जम्मा ३५ अर्ब ३६ करोडको निर्यात गरेको छ ।

त्यस्तै नेपालले चीनसँग ७७ अर्ब व्यापार घाटा गरेको छ । नेपालले समीक्षा अवधिमा ७७ अर्ब ४६ करोडको सामान चीनबाट आयात गरेको छ भने ३८ करोडको मात्र निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यो अवधिमा नेपालले १३५ देशसँग १ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्