पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

Prachanda-sita dahal
फाइल तस्बीर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। पत्नी सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड पनि उनीसँगै भारत प्रस्थान गरेका छन्।

पत्नी सीता दाहालको मेडिसिटीमा उपचार भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि मुम्बईमा उपचार गर्न प्रचण्ड भारत प्रस्थान गरेका हुन्। उनको साथमा छोरी गंगा दाहाल पनि जानेछिन्। गत पुस १५ गते बिरामी बढेपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

सीता लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छिन्। यो रोगलाई दुर्लभ मानिन्छ। स्वास्थ्यकर्मीहरूका अनुसार रोग लागेपछि मस्तिष्कको कोषिकामा क्षति पुग्ने हुन्छ। जसको परिणाम मानसिक सन्तुलन गुम्नेसँगै हिँडाइ र बोलाइमा समस्या हुने गर्दछ।

प्रचण्ड भारत प्रस्थान गरेपनि स्थायी कमिटी बैठक भने १२ बजे पेरिसडाँडामा बस्दै छ। आइतवार बसेको बैठकले माधव नेपालको संयोजकत्वमा पार्टीको सांगठनिक र नेताहरुको कार्यविभाजनका लागि कार्यदल गठन गरेको थियो। उक्त बैठकले सडक संघर्ष अरु पार्टीसँगको मोर्चाबन्दीमा गर्ने निष्कर्ष पनि निकालेको थियो।

सोमबार बस्ने बैठकले आइतवार प्रस्तुत आठ वटा एजेण्डाबारे छलफल गर्ने छ। यी एजेण्डाकै आधारमा थप निर्णय गर्ने प्रचण्ड-नेपाल समूहको नेकपाको तयारी छ। शनिवार नै यो समूहले एक महिने संघर्षका कार्यक्रम तय गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्