मैले ठीक गरेकाे थिएँ, कुलमानले बेठीक गरे : मन्त्री रायमाझी

Top_Bahadur_Rayamajhi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमगित (अन्डरग्राउन्डिङ) गरेर ठिक गरिँदैछैन।’

आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले यो काम ‘खतरनाक’ भएको दोहोर्‍याए। मन्त्री रायमाझीले भने, ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन्। त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ। अहिले त्यो अध्ययन भइराखेको छ।’

काठमाडौंमा प्रधानमन्त्री केपी ओलीले नै उदघाटन गरेको भूमिगत तार बिछ्याउने योजनामाथि टिप्पणी गर्दै मन्त्री रायमाझीले भने, ‘साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन्। गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ। अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो। अहिले बन्द गराएर माथिबाट ल्याइयो। अहिले तलको बन्द गरियो। झन् खतरा भो। अब यस्तो गर्दिया छ साथीहरुले।’

विदेशमा चाहिँ खानेपानी बिजुली, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै सुरुङमा राख्ने र बिग्रिएको संकेत पाएपछि गाडी गएर मर्मत गर्नेखालको करिडोर बनाउने गरिएको रायमाझीले बताए। गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरुलाई सुन्दर र व्यवस्थित बनाउन सुरु गरिएको उद्घोष गर्दै तार भूमिगत गर्ने परियोजना उद्घाटन गरेका थिए। प्राधिकरणले एसियाली विकास बैंक एडीबीको ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र तार भूमिगत गरिरहेको छ।

ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन मात्रै बाँकी छ। पोखराको लेकसाइड र भरतपुरको नारायणगढ क्षेत्रमा पनि काम थाल्न टेन्डर गर्ने तयारी हुँदैछ। अरु विभिन्न १७ वटा शहरमा यसका लागि अध्ययन चल्दैछ। यही बेला नयाँ ऊर्जामन्त्री रायमाझीले यो परियोजनालाई अघि नबढाउने संकेत दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्