एफएनसीसीआई प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित

लोकपाटी न्यूज
0 Shares

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ मा झापा उद्योग संघका पूर्व अध्यक्ष टीका ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

झापाको बिर्तामोडमा भएको तेस्रो साधारण सभाले उद्योगी ढकालका नेतृत्वमा कार्यसमितिको निर्विरोध चयन गरेको हो। कार्यसमितिको अध्यक्ष पदका लागि उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उम्मेदवारी दिने घोषणा गरे पनि निर्वाचन परिणाम अनुकूल नहुने देखेपछि उनले नामाङ्कन पत्र दर्ता गरेनन्।

अन्ततः जिल्ला–नगरतर्फबाट उपाध्यक्ष पदका लागि प्रत्यासी भएका घिमिरेले त्यस पदबाट पनि उम्मेदवारी फिर्ता लिए। त्यस्तै जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार भएका नवीन रिजाल र कुमार पोखरेलले पनि निर्वाचनपूर्व नाम फिर्ता लिएपछि इटहरी उद्योग–वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल सर्वसम्मतिले निर्वाचित भए।

एसोसिएटतर्फको उपाध्यक्षमा महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भए। साधारण सभाले जिल्ला–नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह र प्रीतम खड्गीलाई चयन गरेको छ।

एसोसिएट सदस्यमा सुवास आचार्य र राजन श्रेष्ठ तथा वस्तुगत सदस्यमा रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो। साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो। १४ पुसमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि विर्तामोड उद्योगवाणिज्य सङ्घका अतिथ्यमा सोमबार साधरणसभा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्