०.६ प्रतिशतमात्रै आर्थिक बृद्धि हुने विश्वबैंकको प्रक्षेपण

World Bank
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विश्व बैंकले गरेको छ । विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनअनुसार कोरोना महामारी र लकडाउनले आर्थिक गतिविधिमा आएको अवरोधका कारण सन् २०२१ मा ०.६ आर्थिक वृद्धि हुने अनुमान गरेको हो।

कोरोनाका कारण पर्यटनमा आश्रित नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर परेको थियो। प्रतिवेदनअनुसार दक्षिण एसिया यो वर्ष हालसम्मकै मन्दीमा डुबेको छ। अनौपचारिक क्षेत्रका कामदारलाई सबैभन्दा बढी मारमा परेको छ भने लाखौं दक्षिण एसियाली चरम गरिबीमा धकेलिँदै छन्। प्रतिवेदनले दक्षिण एसियामा अपेक्षा गरिएभन्दा तीव्र आर्थिक गिरावट हुने जनाएको छ।

विश्व बैंकका अनुसार अघिल्लो आव २०७६/७७ (२०१९/२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको थियाे ।
विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।

यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहने भएको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हाँसिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।

सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धि ४.५ रहने बैंकको अनुमान छ। जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ।

विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ । खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ । सन् २०२० मा भने आर्थिक वृद्धिदर ४.३ प्रतिशतले संकुचित बनेको छ ।

यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।

चीन भने अघिल्लो वर्ष र यो वर्ष दुबैमा सकारात्मक वृद्धिदर कायम गर्न सफल भएको छ । चीनले सन् २०२० मा २ प्रतिशत र सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्