प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : सुवास नेम्वाङ (भिडियो)

Subash-nemwang
  • 3.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिएपनि नेम्वाङले ‘त्यो गलत भएको’ सार्वजनिक टिप्पणी गरेका छैनन्।

बरु अदालतमा विचाराधिन विषय भन्दै उनी पन्छने गरेका छन्। नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारहरुलाई प्रशिक्षण दिदाँ समेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले ‘संसद विघटन गर्न सक्तैन’ भनेका थिए।

काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए। हेर्नुहोस् भिडियोः

उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए। नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए।

यसअघि संसद बिघटनका लागि ओलीले नेम्वाङसँग छलफल गरे पनि उनले संसद भंग नगर्न सुझाएका थिए। तर ओलीले उनकाे कुरा सुनेनन्। ओलीले सुरुवाती छलफल कानुनविद्समेत रहेका स्थायी कमिटी सदस्य नेम्वाङसँग गरे। तर सुरुबाटै सरकार बनाउने विकल्प हुँदासम्म प्रतिनिधिसभा विघटन गर्ने प्रावधान कानुनमा छैन भन्दै आएका नेम्वाङले प्रधानमन्त्री ओलीलाई त्यसबाहेक थप अरू भन्न सकेनन्। केही दिनअघि सिंहदरबारमा पत्रकारहरूसँग उनै नेम्वाङले भनेका थिए, ‘अहिले त बालुवाटारमा कोठाभित्र छिर्नेबित्तिकै प्रधानमन्त्रीज्यू मलाई देखेर मुसुमुसु हाँस्नुहुन्छ, प्रतिनिधिसभा विघटन गराउने प्रावधान रहेछ त संविधानमा भन्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले गत असारमा दोस्रो पटक प्रतिनिधिसभा विघटनको कुरा निकालेका थिए। महासचिव विष्णु पौडेलसहित अध्यक्ष दाहालसँग भएको भेटमा उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिए, आफू बसेको कुर्सी नै भाँचिदिने बताएका थिए। ओलीले त्यतिबेलै आफूले प्रतिनिधिसभा विघटनका लागि सम्बोधन तयार पारेको र जुनकुनै बेला उक्त कदम चाल्न सक्ने असार १६ देखि साउन अन्तिम सातासम्मका छलफलमा धेरैपटक भनेको निकट नेताहरू सम्झन्छन्।

साउन ३० मा पार्टी विवाद समाधानका लागि कार्यदल गठन भयो। कार्यदल बन्नुभन्दा केही दिनअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको प्रस्ताव राख्ने तयारी गरेका थिए। ‘साउनमा दोस्रो तहका नेताहरूसहित अध्यक्षद्वयको बैठक भयो, कुरा मिलेन प्रधानमन्त्रीजीले प्रतिनिधिसभा विघटन गर्छु भनेर लाग्नुभयो,’ स्रोतले भन्यो, ‘त्यतिखेर उहाँकै समूहका नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमालहरूले हातै समाएर त्यसो नगर्नुस् भनेको हामीले देखेका हौं, तर उहाँको मन कि आफू शक्तिशाली हुने, आफू शक्तिमा नहुँदा सिस्टम नै भत्काइदिने भन्ने रहेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्