ओलीले गल्ती गरे, अदालतले सच्याउनुपर्छः घनश्याम भुसाल

Ghanshyam_Bhusal
  • 353
    Shares
लोकपाटी न्यूज

रुपन्देही। नेकपाका नेता घनश्याम भुसालले संसद पुनस्थापना गरेर मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजाय दिन सकिने बताएका छन्। प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौताविपरीत संसद विघटन गरेकाले सजायका भागिदार रहेको नेता भुसालको तर्क छ।

रुपन्देहीको तिलोत्तमामा आयोजित अन्तरक्रियामा उनले संसद पुनथापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए। ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भूभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन,’ भुसालले भने।

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका आन्दोलनका उपलब्धी रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको पनि बताए। उनले प्रतिनिधि सभा पुनस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताए। ‘संसद पुनस्थापना गर्न नसक्ने हो भने संविधान उल्लंघन बढ्छ, संविधानविरोधी सल्बलाउँछन्,’ भुसालले भने, ‘संसद पुनस्थापना हुंदा मात्रै संविधानको रक्षा हुन्छ र मुलुक सही ट्रयाकमा फर्किन्छ।’

उनले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न समेत गरेका छन्। प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए। ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ,’ भुसालले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ, लोकतन्त्र, वामपन्थ, समाजवादविरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाइ हुँदैछ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्